२७ जेठ, काठमाडौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका सुटरलाई दुई वर्ष सात महिना लामो निगरानी र खोजीपछि प्रहरीले पक्राउ गर्यो ।
पक्राउ परेका सुटर सानुबाबु भनिने बाबु थापालाई सार्वजनिक गर्ने पत्रकार सम्मलेनमा आईजीपी (प्रहरी महानिरीक्षक) आफैं उपस्थित भएका थिए । हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्दा प्रहरी प्रमुख आफैं उपस्थित हुनुले यो घटना प्रहरीका लागि चुनौतीको विषय थियो भन्ने पनि संकेत गर्छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समातेका बाबु थापालाई सार्वजनिक गरिएको पत्रकार सम्मलेनमा तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्यालले प्रहरीको घाँटीमा अड्किएको काँडा निकाले जस्तै भएको बताएका थिए ।
प्रहरीले ठूलो मिहिनेत गरेर समातेका न्यायाधीश बम हत्याका सुटर उनै बाबु थापा ९ महिनादेखि कारागारबाट फरार छन् । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको मौकामा उनी केन्द्रीय कारागार जग्गनाथदेवल, सुन्धाराबाट फरार भएका थिए ।
उनको खोजीमा विशेषगरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली निरन्तर लागिरहेको छ । तर ९ महिना बित्दा पनि थापा फेला परेका छैनन् । ‘हामी निरन्तर लागिरहेका छौं । केही मुभमेन्ट देखिए पनि फेला पार्न सकिएको छैन,’ अपराध अनुसन्धान कार्यालयका एक अधिकारी भन्छन् ।
अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतका अनुसार उनी भागेर अहिलेसम्म विदेश गएका छैनन् । नेपालकै विभिन्न ठाउँमा भेष बदल्दै, ठाउँ परिवर्तन गर्दै बसेको भन्नेसम्मको सूचना प्रहरीसँग भए पनि उनी पत्ता लाग्न सकेका छैनन् ।
आफू मोबाइल नबोक्ने, आवश्यक पर्दा अन्य व्यक्तिको मोबाइल मागेर फोन सम्पर्क गर्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरी टोली निरन्तर लागे पनि सुटर थापा प्रहरीलाई छल्दै लुक्न सफल भएका छन् ।
थापाले न्यायाधीश बमलाई १८ जेठ २०६९ मा यूएन पार्कमा गोली हानी हत्या गरेका थिए । बमको हत्या हुनुको पछाडि उनले गरेको फैसला मुख्य कारण रहेको सीआईबीका तत्कालीन डीआईजी (हाल अवकाशप्राप्त) हेमन्त मल्ल ठकुरीले बताएका थिए ।
चुरेभावर राष्ट्रिय पार्टीको विवाद नै न्यायाधीश बमको हत्याको कारक बन्न पुगेको थियो । चुरेभावर पार्टीमा सुरुमा सहमति गरेर केशव मैनालीलाई अध्यक्ष बनाएपछि छुट्टाछुट्टै महाधिवेशन गरेपछि यो विवाद निर्वाचन आयोगमा पुगेको थियो ।
आयोगले मैनालीको साटो बाबु थापाको समूहलाई वैधानिकता दिएको थियो । त्यसविरुद्ध मैनाली सर्वोच अदालत गएका थिए । सर्वोच्चमा न्यायाधीश बमको एकल इजलासले थापा समूहलाई वैधानिकता दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो ।
तर, त्यतिबेला थापा भने गृह राज्यमन्त्री हुन लागेको र अदालतको आदेशले आफ्नो राजनीति सकियो भन्ने लागेपछि हत्याको योजना बनाएर हत्या गरेको अनुसन्धानमा देखिएको थियो ।
पछि बाबुले आफ्नो नाम ‘अमर नेपाल’ राखेर नेपाल जनता स्वतन्त्र स्वाभिमान पार्टी बनाए । २०६७ असोजमा अपहरण तथा शरीर बन्धक मुद्दामा जलेश्वर जेलमा बस्दा बाबुको करण भनिने शिव चौधरीसँग चिनजान भएको थियो । करण छुटेपछि उनले काठमाडौं ल्याएर राखे ।
बाबुले करणसँगै दीपककुमार कर्ण, सञ्जय स्माइली मगर र प्रेमराज खड्कासँग मिलेर न्यायाधीश बमको हत्या गरेका थिए ।
योजनाअनुसार बाबुको समूहले चार थान पेस्तोल र मोटरसाइकल जम्मा पारेको थियो । ललितपुरस्थित बंगलामुखी मन्दिर दर्शन गरेर फर्कने क्रममा बम चढेको गाडी रोक्दै गोली हानेर हत्या गरिएको थियो । यो घटनामा थापासहित चार जनालाई जन्मकैद र प्रेमराम खड्कालाई ५ कैदको फैसला भएको थियो ।
लाल मोहमद हत्याका सुटर पनि फरार
न्यायाधीश बम हत्याका बाबु थापा मात्रै होइन, अन्य घटनाका सुटरहरू पनि फरार छन् । नेपाली नागरिक लाल मोहम्मदको हत्याका सुटर पनि जेनजी आन्दोलनको मौकामा कारागारबाट फरार भएका थिए ।
बिहार मोतिहारी–५, रक्सौल, भारतका गुड्डु पटेल मोहम्मद हत्याका ‘सार्पसुटर’ हुन् । मोहम्मद नक्कली भारु नोट कारोबारी थिए । ३ असोज २०७९ मा गोठाटारमा गोली प्रहारबाट मोहम्मदको हत्या भएको थियो । त्यो हत्या पेसेवर सार्पसुटर गुड्डुले गरेका थिए ।
मोहम्मद हत्याका सार्पसुटर गुड्डुको ‘नेक्सस’ भारतीय ‘अन्डरवर्ल्ड डन’ बब्लु श्रीवास्तवसँग थियो । भारतीय जाली नोट कारोबारको आरोपमा नेपालमा शृंखलाबद्ध हत्या भएका छन् । यस्तो हत्यामा प्रयोग भएकाहरूको नेक्सस अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तवदेखि छोटा राजनसम्म देखिने गरेको अनुसन्धान अधिकृत बताउँछन् ।
सार्पसुटर गुड्डुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १८ फागुन २०८१ मा टोखामा गोली हानेर पक्राउ गरेको थियो । गुड्डु सुन्धारास्थित केन्द्रीय कारागारबाट जेनजी आन्दोलनका क्रममा फरार भए । उनी अहिलेसम्म पनि फरार छन् ।
गुड्डु भागेर भारत पुगिसकेको प्रहरी अधिकारीहरू बताउँछन् । भारतीय नक्कली नोट कारोबारसँग जोडिएका मोहम्मदको हत्यामा भारतीय गुप्तचरी निकायको समेत भूमिका रहेको विश्लेषण गर्ने प्रहरी अधिकारीहरू अब गुड्डु पक्राउ पर्न असम्भव जस्तै रहेको बताउँछन् ।
न्यायाधीश बम हत्याका सुटरदेखि लाल मोहम्मद हत्याका सार्पसुटर अहिलेसम्म बेपत्ता छन् । ९ महिनासम्म सार्पसुटरहरू पक्राउ नपर्दा कोभर्टमा काम गर्ने प्रहरी अधिकारीहरू भने अझै असुरक्षित महसुस गर्ने अवस्था छ ।
गोली हानेर समातिएका व्यक्तिदेखि सार्पसुटरहरू फरार हुँदा त्यसको सुरक्षा थ्रेट स्वाभाविक रूपमा अनुसन्धान अधिकृतसम्म हुने सुरक्षाका जानकारहरू बताउँछन् ।
४ हजार १६ कैदी अझै फरार
जेनजी आन्दोलनमा फरार भएकामध्ये ४ हजार १६ कैदीबन्दी अझै पक्राउ पर्न बाँकी छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार फरार हुनेमध्ये ३ हजार ३९० स्वदेशी कैदीबन्दी हुन् ।
६१८ भने विदेशी कैदीबन्दी हुन् । स्वेदशी/विदेशी नखुलेका गरी अन्य ८ जना फरार रहेको पाइएको छ । उनीहरू शरणार्थीको रूपमा नेपाल प्रवेश गरेर कुनै अपराधमा संलग्न भई कारागार रहेका व्यक्तिहरू हुने विभागले बताएको छ ।
फरार भएका विदेशी कैदीहरूमा अधिकांशजसो भारत र चीनका छन् । यी बाहेक अन्य मुलुकको न्यून रहेको विभागले जनाएको छ । स्वदेशी कैदीबन्दीहरू पक्राउ परेर कारागार आउने क्रम जारी रहे पनि विदेशी कैदीबन्दीको हकमा भने पुन: पक्राउ पर्ने सम्भावना न्यून देखिन्छ ।
अहिलेसम्म फरार हुनेहरू, हत्या, बलात्कार, मानव बेचबिखन, लागुऔषध जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरू छन् ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा कारागारबाट साढे १५ हजार कैदीबन्दी फरार भएका थिए । देशभरका विभिन्न २८ वटा कारागार र ९ वटा बाल सुधार गृहबाट गरी १४ हजार ५५५ कैदीबन्दी भागेका थिए । जसमा कारागारबाट १३ हजार ५९१ र बाल सुधार गृहबाट ९६४ जना भागेका थिए ।
प्रतिक्रिया 4