News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को २३औं संस्करण आज राति मेक्सिको र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलसँगै उत्तर अमेरिकामा शुरू हुँदैछ ।
- इतिहासमै पहिलो पटक तीन राष्ट्रमा आयोजना हुन लागेको यस विश्वकपमा कीर्तिमानी ४८ टोलीले १०४ खेल खेल्नेछन् ।
- यस पटक फिफा विश्वकपको कुल पुरस्कार राशि ६५ करोड ५० लाख अमेरिकी डलर पुर्याइएको छ, जसमा विजेताले ५ करोड डलर प्राप्त गर्नेछ ।
२८ जेठ, काठमाडौं । फुटबल विश्वकै सबैभन्दा चर्चित खेल अर्थात् युनिभर्सल गेम (विश्वव्यापी खेल) । विश्वका दुई सय भन्दा बढी देशले फुटबल खेल्ने तथ्यले पनि यो खेलको पपुलारिटी कति छ भन्ने पुष्टि गर्छ ।
फुटबलको लोकप्रियता विश्वभर नै फैलिएको छ । त्यस्तो खेलको विश्वकप हुँदा झन् चर्चा नहुने कुरै भएन । अहिले सबैतिर चर्चा फिफा विश्वकप २०२६ कै छ । त्यही खेलको सबैभन्दा ठूलो विश्वकप आज रातिदेखि उत्तर अमेरिकामा शुरु हुँदैछ ।
मेक्सिको सिटीस्थित ऐतिहासिक एस्टाडियो एज्टेकामा घरेलु समर्थकहरुको अगाडि मेक्सिकोले दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्नेछ । यो खेल नेपाली समय अनुसार मध्यराति १२:४५ बजे शुरु हुनेछ ।
विश्व फुटबलकै सबैभन्दा ठूलो मेला, अझ भनौं विश्व खेलकुदकै ठूलो प्रतियोगिता र धेरैले फलो गर्ने हेर्ने फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता र विश्वभरका अर्बौँ समर्थहरुको भावनासँग जोडिएको फिफा विश्वकपको २३औं संस्करण हो । सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा आतिथ्यता गरेपछि फिफा विश्वकप २०२६ को औपचारिक सुरुआत हुनेछ ।
विश्वभरका हजारौं खेलाडी अहिले विश्वकपका लागि अमेरिका, मेक्सिको र क्यानडामा जम्मा भइरहेका छन् । त्यसका लागि लाखौं दर्शक प्रत्यक्ष रुपमा खेल हेर्न तयार छन् भने करोडौं दर्शक विभिन्न माध्यमबाट प्रत्यक्ष फुटबलको मज्जा लिनका लागि तयार छन् ।
र ४८ टिम फिफा विश्वकपको ट्रफी जित्ने एउटै सपना बोकेर यो फुटबल महाकुम्भका लागि तयार भएका छन् ।
फिफा विश्वकप २०२६ विश्वकपको अर्को संस्करण मात्र होइन । यो फुटबल इतिहासमै सबैभन्दा ठूलो र भव्य विश्वकप समेत बन्दैछ ।
ठूलो र ऐतिहासिक विश्वकप
फिफा विश्वकपको करिब एक सय वर्ष लामो इतिहासमा २३औं संस्करण अहिलेसम्मकै ठूलो र ऐतिहासिक छ । विश्वकप शुरु हुनुअघि नै यस संस्करणमा धेरै कीर्तिमानहरु बनिसकेका छन् । अब विश्वकप सुरु भएपछि मैदान भित्र फुटबल खेलाडीहरुले पनि अझ अरु कीर्तिमान थप्न सक्छन् ।
यस पटक विश्वकप धेरै कारणले गर्दा विशेष बनेको छ । जसमा टिम संख्या देखि खेल संख्याको वृद्धि भएको छ भने विश्वकपमा प्रविधिको समेत धेरै प्रयोग भएको छ ।
यस अर्थमा यो विश्वकप ठूलो छ कि यस पटक अहिलेसम्मकै धेरै टिम सहभागी हुँदैछ ।
यस पटकको मुख्य विशेषता भनेको विश्वकपमा अहिलेसम्मकै धेरै ४८ राष्ट्र सहभागी हुँदैछन् । ३९ दिन चल्ने फिफा विश्वकप २०२६ उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ ।
सन् १९३० मा उरुग्वेबाट शुरु भएको फिफा विश्वकपको ९६ वर्षे इतिहासमा पहिलो पटक तीन राष्ट्र संयुक्त रुपमा आयोजक बनेका हुन् ।
यस्तै टिम संख्या ३२ बाट बढेर ४८ पुगेको छ भने एकै विश्वकपमा कीर्तिमानी १०४ खेल हुँदैछ । जुन कतार विश्वकपमा भएको भन्दा ४० खेल बढी हो ।
फिफा विश्वकप २०२६ मा युरोपबाट सबैभन्दा धेरै १६ राष्ट्रले खेल्दैछन् भने अफ्रिकाबाट १० र एसियाबाट ९ राष्ट्रको सहभागिता हुनेछ । उत्तर र दक्षिण अमेरिकाबाट ६-६ तथा ओसिया क्षेत्रबाट एक टिमले विश्वकप खेल्दैछन् ।
टिम संख्या बढेपछि यस पटक खेलाडी संख्या पनि बढेर १ हजार २४८ पुगेको छ ।
यस्तो छ फिफा विश्वकप २०२६ खेल्ने ४८ राष्ट्रको अन्तिम स्क्वाड
जसमा यसअघि विश्वकप खेलेर उपाधि जितिसकेका २२ खेलाडी समेत छन् भने कम्तीमा एक पटक विश्वकप खेलेका ३५७ खेलाडी छन् । यस्तै ९८१ खेलाडी पहिलो पटक फिफा विश्वकपको अनुभव लिनका लागि तयार छन् ।
अमेरिका, क्यानडा र मेक्सिकोका १६ शहरमा खेलहरू आयोजना गरिनेछन् । विश्व फुटबलको इतिहासमा यो आयोजनालाई नयाँ युगको सुरुआतका रूपमा हेरिएको छ ।
तीन दशकपछि उत्तर अमेरिका फर्किएको विश्वकप
फिफा विश्वकप तीन दशकपछि उत्तर अमेरिका फर्किएको छ । यस पटक एक होइन दुई होइन तीन राष्ट्र संयुक्त रुपमा विश्वकपको आयोजक बनेका छन् । पछिल्लो पटक सन् १९९४ मा उत्तर अमेरिकामा (अमेरिका) विश्वकप आयोजना भएको थियो । त्यस भन्दा अघि मेक्सिकोले सन् १९८६ मा विश्वकप आयोजना गरेको थियो । यस पटक यी दुई राष्ट्रसँगै क्यानडा पनि आयोजक बनेको छ र क्यानडाले पहिलो पटक पुरुष विश्वकप आयोजना गर्दैछ ।
समग्रमा मेक्सिकोले तेस्रो, अमेरिकाले दोस्रो र क्यानडाले पहिलो पटक विश्वकप आयोजना गर्दैछ । अनि उत्तर अमेरिकी भूमिका दक्षिण अमेरिकी टिमका लागि निकै फापेको पनि छ ।
सहभागी टिम र फर्म्याट
यस पटक विश्वकपमा सहभागी ४८ टिमलाई विभिन्न १२ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४-४ टिम छन् । सुरुमा समूह चरणको खेल हुनेछ । हरेक समूहमा ६ खेल हुनेछ र समूह चरणमा कुल ७२ खेल हुनेछन् । त्यसपछि १२ वटै समूहको शीर्ष दुई टोली सिधै नकआउट चरण अर्थात राउण्ड अफ ३२ मा प्रवेश गर्नेछन् भने तेस्रो हुने मध्ये उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउनेछन् ।
यस पटक टिम संख्या बढेको समूह पनि ८ बाट बढेर १२ पुगेको छ भने नकआउट चरण पनि थपिएको छ । यस पटक थपिएको नयाँ राउण्ड हो राउण्ड अफ ३२ ।
नकआउट चरण थपिएपछि अब फाइनल पुग्ने टिमले यसअघि भन्दा एक खेल बढी खेल्नुपर्नेछ अर्थात फाइनलिस्ट टिमले ८ खेल खेल्नेछन् ।
राउण्ड अफ ३२ पछि विगतमा जस्तै प्रिक्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल हुँदै फाइनल खेल हुनेछ । नकआउट चरणमा फाइनलसहित कुल ३२ खेल हुनेछ ।
चार राष्ट्रको डेब्यु
फिफा विश्वकप २०२६ मा चार नयाँ राष्ट्रले पनि डेब्यु गर्दैछन् । यसअघि विश्वकप खेल्न प्रयास गरेपनि सफल नभएमा चार राष्ट्र विश्वकपको दायारा अझ फराकिलो हुँदा भने यस पटक केही भाग्यमानी बने । तीन चार राष्ट्र हुन् उज्वेकिस्तान, जोर्डन, केप भर्डे र कुराकाओ । उज्वेकिस्तान र जोर्डन एसियाबाट छनोट भएका हुन् भने केप भर्डे अप्रिका र क्यारेवियन राष्ट्र कुराकाओ उत्तर तथा मध्य अमेरिकाबाट छनोट भएको हो । करिब डेढ लाख मात्र जनसंख्या भएको कुराकाओ विश्वकपमा छनोट हुने सबैभन्दा सानो राष्ट्र समेत हो ।
अहिलेसम्मकै ठूलो विश्वकपमा खेल्ने अवसर पाएका चारै टोली डेब्यु विश्वकपमा नकआउट चरण पुग्दै विश्वकपलाई सुखद बनाउने अभियानमा छन् ।
सबैभन्दा पाका र युवा खेलाडी
यस विश्वकपमा सबैभन्दा बुढा खेलाडी स्कटल्याण्डका क्रेग गोर्डन हुन् । उनी विश्वकप शुरु हुने दिनमा ४३ वर्ष १६२ दिनका हुनेछन् । यस्तै सबैभन्दा कान्छा खेलाडी मेक्सिकोका गिल्बर्टो मोरा हुन् । उनको उमेर उद्घाटन खेलको दिन १७ वर्ष २४० दिन हुनेछ । दुवै खेलाडी विश्वकपमा डेब्यु गर्ने तयारीमा छन् र यी दुई खेलाडी बीचको उमेर अन्तर नै २५ वर्ष भन्दा बढी छ ।
प्रतियोगिताको शुरुमा २० वर्षभन्दा कम उमेरका कुल २२ खेलाडी र ४० वर्ष वा सोभन्दा बढी उमेरका ७ खेलाडीहरूले मैदानमा उत्रन सक्नेछन् ।
गोर्डनसँगै उमेरले चार दशक कटेका अन्य खेलाडीहरु पनि यस विश्वकपमा मैदान उत्रँदैछन् ।
पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो ४१ वर्षको उमेर विश्वकप खेल्दैछन् र पहिलो विश्वकप उपाधिको खोजीमा छन् । चार वर्षअघि कतारमा आफ्नै कप्ताद्दीमा अर्जेन्टिनालाई विश्वकप जिताएर करिअर पूर्ण बनाएका लियोनल मेसी र रोनाल्डो कीर्तिमानी छैटौं पटक विश्वकप खेल्दैछन् । यस्तै क्रोएसियाका कप्तान लुका मोडरिच र मेक्सिन गोलकिपर गुइलेमो ओचाओ पनि उमेरले चार दशक कटिसक्दा यस पटक विश्वकप खेल्दैछन् ।
यी बाहेक ब्राजिलका नेमार, बेल्जियमका केभिन डे ब्रुएना, इजिप्ट मोहमद सालाह जस्ता खेलाडीका लागि यो विश्वकप अन्तिम विश्वकप बन्न सक्छ ।
अर्कोतर्फ विश्वकप जितिसकेका केलिएन एमबाप्पे अनि क्लब फुटबलमा स्टार भएर विश्वकपमा डेब्यु गर्ने तयारीमा रहेका एर्लिङ हालान्ड, लामिन यमाल जस्ता स्टारहरु अब नयाँ पुस्ताको नेतृत्व लिन तयार छन् ।
अहिलेसम्मको विश्वकप विजेता टिम
सन् १९३० मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकप अहिलेसम्म २२ संस्करण सम्पन्न भइसक्दा अहिलेसम्म १३ राष्ट्रले फाइनल खेल्दा ८ राष्ट्र विजेता बनेका छन् ५ राष्ट्रले उपाधि जित्न सकेनन् ।
युरोपबाट ५ राष्ट्रले विश्वकप जित्दा दक्षिण अमेरिकाबाट ३ राष्ट्रले उपाधि जितेका छन् । यी दुई महादेश बाहेक अन्य महादेशका टिमले विश्वकप जित्न सकेको छैन ।
जसमा ब्राजिलले सर्वाधिक ५ पटक (सन् १९५८, १९६२, १९७०, १९९४ २००२) विश्वकप जित्दा युरोपियन राष्ट्र इटलीले ४ (१९३४, १९३८, १९८२ र २००६) र जर्मनीले ४ (१९५४, १९७४, १९९० र २०१४) पटक उपाधि जितेको छ ।
यस्तै अर्जेन्टिनाले ३ (१९७८, १९८६ र २०२२), उरुग्वेले २ (१९३०, १९५०) र फ्रान्सले २ (१९९८, २०१८) तथा इंग्ल्याण्डले १९६६ र स्पेनले २०१० मा उपाधि जितेका छन् ।
तीन देशमा छुट्टा–छुट्टै उद्घाटन
यस पटक विश्वकपको अर्को रोचक पक्ष के छ भने तीनवटै आयोजक राष्ट्रमा उद्घाटन समारोह हुनेछ ।
विश्वकपको उद्घाटन खेल ११ जुनमा मेक्सिकोमा हुने भएपनि अमेरिका र क्यानडामा पनि विश्वकपको पहिलो खेलअघि उद्घाटन समारोह हुनेछ ।
फिफाले अमेरिका, क्यानडा र मेक्सिकोमा छुट्टा-छुट्टै उद्घाटन समारोह घोषणा गर्दै त्यसका प्रस्तुति दिने कलाकारहरुको नाम पनि यसअघि नै सार्वजनिक गरिसकेको छ ।
हरेक राष्ट्रमा खेलअघि ९० मिनेटको उद्घाटन समारोह हुनेछ । विश्व चर्चित शाकिरा लगायत कलाकारले मेक्सिकोमा हुने खेलअघि प्रस्तुति दिनेछन् भने अमेरिकामा क्याटी पेरी लगायतले प्रस्तुति दिनेछन् ।
अमेरिकाको लस एन्जलस र क्यानडाको टोरन्टोमा जून १२ मा उद्घाटन समारोह हुनेछ ।
यसैगरी यस पटक विश्वकपको फाइनल खेलमा सुपर बोल शैलीको हाफटाइम शो समेत हुने भएको छ । जसमा शाकिरासँगै म्याडोना र दक्षिण कवरियाको बीटीएस ब्यान्डले प्रस्तुति दिनेछन् ।
मुख्य प्रश्न विश्वकप कसले जित्ला ?
हरेक विश्वकप शुरु हुनुअघि र विश्वकल चल्दै गर्दा आउने मुख्य प्रश्न भनेकै विश्वकप कसले जित्छ? भन्ने नै हो । यस पटक झन् टिम संख्या पनि बढेको र फरक फर्म्याटमा विश्वकप हुने भएकोले कसले विश्वकप जित्छ भन्ने चासो र कौतूहल झन् बढेको छ ।
यो प्रश्न १९ जुलाईमा न्युयोर्क-न्युजर्सीमा हुने फाइनल खेलको नतिजा नआउँदासम्म जारी रहनेछ । यस पटक साविक उपविजेता फ्रान्स, पूर्व विजेता स्पेन जस्ता टिम सबैभन्दा बलियो दाबेदारको रुपमा देखिएका छन् भने साविक विजेता अर्जेन्टिना, इंग्ल्यान्ड, ब्राजिल पनि विश्वकप उपाधि जित्ने दाबेदार टोलीको रुपमा छन् । यस्तै अहिलेसम्म विश्वकप जित्न नसकेको क्रिस्टियानो रोनाल्डोको पोर्चुगल र तीन पटक फाइनल पुगेर पनि अभागी बन्दै उपाधि जित्न नसकेको नेदरल्यान्ड्सलाई पनि उपाधि दाबेदारको रुपमा हेरिएको छ ।
टिम संख्या वृद्धि, फरक फर्म्याट, गर्मी समयमा हुने खेल र प्रविधिको विकासले गर्दा यो टिमले विश्वकप जित्छ भनेर ठोकुवा गर्न कठिन छ । समूह चरणको खेल सकिएपछि कम्तीमा विश्वकपको सम्भावित विजेताको अनुमान गर्न सहज हुन्छ ।
साविक विजेता मेसीको अर्जेन्टिना उपाधि रक्षा गर्ने दाउमा छ भने फ्रान्स लगातार तेस्रो पटक फाइनल पुग्ने पहिलो राष्ट्र बन्द तेस्रो पटक विश्वकप ट्रफी उचाल्ने लक्ष्यमा छ ।
सर्वाधिक पाँच पटकको विजेता ब्राजिल अमेरिकी भूमिमा फेरि विश्वकप जित्न चाहन्छ । यसअघि सन् १९९४ मा अमेरिकामै भएको विश्वकप ब्राजिलले जितेको थियो । यस्नै सन् १९८६ मा मेक्सिकोमा पछिल्लो पटक विश्वकप हुँदा अडिएगो म्याराडोनाको एकल प्रयासमा अर्जेन्टिना च्याम्पियन बनेको थियो ।
त्यसअघि सन् १९७० मा मेक्सिकोले विश्वकप आयोजना गर्दा पेले समावेश ब्राजिलको उत्कृष्ट टोलीले उपाधि जितेको थियो र पेले तीन पटक विश्वकप जित्ने पहिलो खेलाडी बनेका थिए ।
विश्व विजेताले के पाउनेछन् ?
फिफा विश्वकप २०२६ को विजेताले विश्वकप ट्रफीसँगै नगद पुरस्कार पनि पाउनेछन् । फिफा विश्वकप को ओरिजिनल ट्रफी विजेता टिमले उपाधि जितेपछि प्रदान गरिनेछ र सेलेब्रेसन गर्न र पोटोसेसन मात्र गर्न पाउनेछ । त्यसपछि फिफाले ओरिजिनल ट्रफी फिर्ता लिएर फिफा विश्वकप विनर्स ट्रफी अर्थात रेप्लिका प्रदान गर्नेछ ।
यस पटक फिफा विश्वकपले विजेताले पाउने पुरस्कार रमक पनि बढेको छ भने समग्र पुरस्कार राशि पनि वृद्धि गरिएको छ ।
फिफा काउन्सिलले फिफा पुरुष विश्वकप २०२६ मा आयोजना हुने लागि कीर्तिमानी ६५५ मिलियन (६५ करोड ५० लाख) अमेरिकी डलर पुरस्कार रकम स्वीकृत गरिसकेको छ । यो रकम २०२२ को कतार विश्वकपको तुलनामा करिब ५० प्रतिशत बढी हो ।
फिफा विश्वकप २०२६ को उपाधि जित्ने टोलीले ५० मिलियन अमेरिकी डलर अर्थात् ५ करोड अमेरिकी डलर (रु.७ अर्बभन्दा बढी) प्राप्त गर्नेछ, अघिल्लो विश्वकप विजेताले ४ करोड २० लाख अमेरिकी डलर पाएको थियो ।
यसेतै उपविजेताले ३ करोड ३० लाख डलर, तेस्रो स्थानले २ करोड ९० लाख डलर र चौथो स्थानले २ करोड ७० लाख डलर पाउनेछन् ।
क्वार्टरफाइनलबाट बाहिरिने टोलीले १ करोड ९० लाख डलर, अन्तिम १६ बाट बाहिरिने टोलीले १ करोड ५० लाख डलर र राउन्ड अफ ३२ बाट बाहिरिने टोलीले १ करोड १० लाख डलर डलर पाउनेछन् ।
समूह चरणमै बाहिरिने टोलीले पनि ९० लाख डलर पाउनेछ भने विश्वकपमा छनोट भएका प्रत्येक राष्ट्रलाई तयारी खर्चका लागि थप १५ लाख डलर दिइनेछ । विश्वकप खेल्ने प्रत्येक टोलीले कम्तीमा १ करोड ५ लाख डलर पाउने निश्चित छ ।
(नेपाली समय अनुसार विश्वकपको खेलतालिका)
प्रतिक्रिया 4