Comments Add Comment

पर्यटन क्षेत्रमा लक्ष्यको पाँच गुणा बढी रोजगारी सिर्जना

अन्य सूचकमा कमजोर

२६ साउन, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ सकिएसँगै १४ औं त्रिवर्षीय योजना समाप्त भएको छ । १४ औं योजनाले समेटेका पर्यटनसम्बन्धी लक्ष्यमध्ये रोजगारी सिर्जनामा उत्साहजनक नतिजा हासिल भएको छ भने अरुमा लक्ष्यबमोजिम उपलब्धी भएको छैन ।

सरकारले आर्थिक वर्ष २०७५/७६ मा पर्यटन क्षेत्रभित्र ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको थियो । सरकारी तथ्यांकअनुसार यस अवधिमा लक्ष्यको दोब्बर भन्दा बढी रोजगारी सिर्जना भएको देखिन्छ । एक वर्षमा एक लाख ९५ हजारले पर्यटन क्षेत्रमा रोजगारी पाएका छन् ।

आव २०७२/७३ अगाडि पर्यटन क्षेत्रमा भएको रोजगारीको यकीन तथ्यांक सरकारसँग थिएन । २०७४ सालमा गरिएको सर्वेक्षणबाट पर्यटनले सिर्जना गरेको रोजगारीको खाका सार्वजनिक भएको थियो ।

पर्यटन क्षेत्रमा जनशक्ति उत्पादनतर्फ पनि निकै राम्रो परिणाम आएको छ । एक वर्षमा दुई हजारको संख्यामा जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएकोमा १० हजार जनशक्ति उत्पादन भएको तथ्यांकले देखाएको छ ।

यसबाहेक सरकारले लिएका पर्यटनसँग सम्बन्धित अधिकांश लक्ष्य पूरा गर्न सकेको छैन । तथ्यांकअनुसार पर्यटक आगमनदेखि औसत बसाई, विदेशी मुद्रा आर्जन, प्रतिपर्यटक प्रतिदिन खर्चजस्ता महत्वपूर्ण क्षेत्रमा लक्ष्यमुताबिक उपलब्धी हासिल हुन सकेन ।

कूल गार्हस्थ उत्पादनमा पर्यटनको योगदानको हिस्सा वृद्धि गर्नेलक्ष्यसमेत १४ औं योजनामा पूरा हुन सकेन । १४ औं त्रिवर्षीय योजनाको आधार वर्ष आव २०७२/७३ थियो ।

भूकम्पपछि पुनरुद्धारको समयमा पनि तोकिएका लक्ष्यहरुको उपलब्धी आशालाग्दो रहेको मन्त्रालयको भनाइ रहेको छ । १२ वैशाख २०७२ को भूकम्पले थलिएको पर्यटन पुनरुद्धार र पुनर्निर्माणको चुनौती यस अवधिमा थियो ।

कुन लक्ष्यमा कति प्रगति ?

सूचक एकाई आव २०७५/७६ सम्म लक्ष्य आव २०७५/७६ सम्म प्रगति
पर्यटक आगमन संख्या १२ लाख ११ लाख ७३ हजार
औसत बसाई दिन १४ १२.४
विदेशी मुद्रा आर्जन अमेरिकी डलर (लाखमा) १०८०० ६७०९
प्रतिपर्यटक प्रतिदिन खर्च अमेरिकी डलर ६० ४४
रोजगारी सिर्जना संख्या ४० हजार १ लाख ९५ हजार
वर्षभर संचालन हुने विमानस्थल संख्या ३० ३३
कूल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान प्रतिशत २.५
नेपाल आउने अन्तर्राष्ट्रिय विमानसेवा संख्या ३१ २९
पर्यटकीयस्तरभन्दा माथिको होटेल संख्या ११४९ १२५४
होमस्टे संख्या २५४
पर्यटन क्षेत्रमा उत्पादित जनशक्ति संख्या २ हजार १० हजार
पदमार्ग निर्माण थप किमि २० ५८

स्रोत : पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

सरकारको समीक्षा के छ ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्याय १४ औं योजनामा तोकिएको लक्ष्य प्राप्तिमा सकारात्मक प्रगति हासिल भएको बताउँछन् ।

‘हामी अधिकांश लक्ष्यको नजिक पुगेका छौं,’ उनी भन्छन्, ‘तर, यसले हामीलाई केही पाठ पनि सिकाएको छ ।’

आगामी लक्ष्य गुणस्तरीय पर्यटक कसरी भित्र्याउनेमा केन्द्रित हुने उनले जानकारी दिए । अर्थतन्त्रमा पर्यटनको योगदान र रोजगारी सिर्जनामा नेतृत्व लिने क्षेत्रका रुपमा कसरी स्थापित गर्ने भन्ने सन्दर्भमा आगामी योजनाहरु लक्षित हुने उपाध्यायको भनाइ छ ।

१४ औं योजनाका लक्ष्यहरु पनि पर्यटन आयका दृष्टिकोणबाट निकै कमजोर देखिन्छन् । यसबीचमा पर्यटक आगमनमा सन्तोषजनक वृद्धि भए पनि नेपालले पर्यटकलाई नेपालमा खर्च गराउने वातावरण निर्माण गर्न भने सकेको छैन ।

बिमानस्थलको प्रगति

पर्यटनका ५ राष्ट्रिय गौरवका आयोजनामध्ये दुई आयोजनाको प्रगति १४ औं योजनाको सकारात्मक पक्ष हो । यसबीचमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले ७३ प्रतिशत प्रगति हासिल गरिसकेको छ भने पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ४२ प्रतिशत भइसकेको छ ।

यी दुई विमानस्थलसहित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी विकास कोष र पशुपति क्षेत्र विकास कोषका कार्यक्रम राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment