Comments Add Comment

नारायणहिटीका दरिद्र महाराज

एकः लुम्बिनी भ्रमण वर्ष २०१२ को चीनस्थित शाखा कार्यालय उद्घाटनमा हामी बेइजिङ पुग्यौं । चीनका दर्जनौं स्थान अवलोकन गराउने त्यहाँको कार्यक्रम थियो । हामीले भने युन्जु विहार र फोर्विडेन सिटी भनिने चिनियाँ सम्राटको दरबारमात्र अवलोकन गर्‍यौँ । इसाको बाह्रौँं शताब्दीमा निर्मित चीनिया दरवारको भव्यताप्रति स्वभाविकरुपमा गहिरो आकर्षण बढ्यो । आँखामा झलझली नेपालको नारायणहिटी दरबार घुम्न थाल्यो । दिमागमा तर्कना खेल्न पुग्यो कि नेपालका राजाले पनि यस्तो दरबार किन बनाएनन् ?

शाखा कार्यालयले प्रष्ट अङ्ग्रेजी बोल्ने निकै सुन्दर महिला हाम्रा लागि पथप्रदर्शक खटाएको थियो । दरबारको मूलद्वारमा प्रवेश गर्‍यौँ । करिब २० हात अग्लो घेराबन्दीको पर्खालभित्र हामी छिर्‍यौँ । दरबारको क्षेत्रफल विशाल फराकिलो र काठैकाठले बनेका दर्जनौँ भवनहरू साक्षात भए । दशौँ हजार पर्यटक तथा ठूल्ठूला समूहका लागि अङ्ग्रेजी वा चिनियाँ भाषामा माइकबाट वृत्तान्त कहँदै हिँडेका पथप्रदर्शकहरू, नेपाली मन्त्रीका निमित्त आकर्षक थिए ।

केही भवनहरू अत्यन्त ठूल्ठूला थिए । भवनभन्दा पनि भवनका लागि जडिएका अत्यन्त ठूलठूला काठका खम्बाहरू आश्चर्यजनक थिए । पथप्रदर्शकलाई सोधियो- ‘यति ठूल्ठूला काठका खम्बाहरू बेइजिङमै थिए ?’ उनले जवाफ दिइन्- ‘खासगरी काठका यी ठूला खम्बाहरू युनानबाट ल्याइएका हुन् ।’ अर्को आश्चर्य थपियो, त्यति टाढा युनानबाट यति ठूल्ठूला खम्बाहरू कसरी ल्याइयो ? जवाफ थियो- ‘एउटा खम्बा ल्याइपुर्‍याउन बीसौँ वर्ष लाग्यो । जब हिउँदमा हिउँ पर्‍यो, तब हिउँमा दराल्दै जनताले यहाँ ल्याइपुर्‍याए ।’

गणतन्त्र नेपालको प्रथम संस्कृतिमन्त्रीको जिम्मा हामीलाई आयो । सपथग्रहणको भोलिपल्ट बिहानै नारायणहिटी पुगियो । खुबै प्रचार गरिएको श्री ५ बडामहाराजधिराज र उनका महारानीहरूको दरबार कस्तो रहेछ ? उत्सुकता थियो ।

पथप्रदर्शकले वृत्तान्त बताउँदै लगिन्- बाह्रौं शताब्दीमा सम्राटले चीन एकीकरणको विचार अघि सारे । त्यसमध्ये एउटा यही दरबारको योजना थियो । सम्राटको दरबार निर्माण गर्न युनान प्रदेशको काठ, कुनै अर्को प्रदेशको ईंटा, कुनै अर्को प्रदेशको ढुङ्गा, अर्को प्रदेशको फलाम तथा अर्को प्रदेशको शिशा इत्यादि प्रयोग गरियो । यसरी सम्राटको योजना र जनताको परिश्रमबाट एकीकृत चीनको यो भव्यतम् दरवार खडा भयो ।

निवासमा पुगेर बेलुका सहयात्री, लुम्बिनी विकास कोषका उपाध्यक्ष कर्मासाङवो शेर्पासँग विमर्श गर्‍यौँ- कस्तो गजब, दरवारमा पनि राष्ट्रिय एकीकरण ? त्यो पनि बाह्रौँ शताब्दी अर्थात् आठ सय वर्ष अगाडि ! नेपालका राजाहरूले किन यस्तो दरवार खडा गरेनन् ? महाराजधिराजहरू किन नारायणहिटी जस्तो ओडारमा बसिरहे ? के भव्यतम् दरवार निर्माण कार्यका लागि शाहवंशका राजाहरूलाई शक्ति र स्रोतको खाँचो थियो ? खाँचो अवश्य थियो, तर शक्ति र स्रोतको नभएर निर्माण संस्कृतिको, वास्तविक राष्ट्रिय एकीकरणको ।

हामी नकारात्मक निष्कर्षमा पुग्यौँ, नारायणहिटी दरवार हेर्दा र त्यससँत चीनियाँ दरवारको तुलना गर्दा ठहर हुन्छ, शाहवंशका राजा महाराजहरू दरिद्र संस्कृतिका सडकछाप रहेछन् । बाबुराम भट्टराईले एउटा आलेखमा ठिकै लेखेका छन्- वास्तवमा नेपाल एकीकरणको नेतृत्व उद्योग संस्कृतिका नेवारले गर्नु पर्दथ्यो । केही नफल्ने गोर्खाको पाखा संस्कृतिका पृथ्वीनाराणले नेतृत्व गर्दा पटक्कै देश विकास भएन ।

दुई: गणतन्त्र नेपालको प्रथम संस्कृतिमन्त्रीको जिम्मा हामीलाई आयो । नारायणहिटी दरबार हाम्रै मन्त्रालय अन्तर्गत तोकियो । पुरातात्विक सम्पदाहरू संस्कृति मन्त्रालयको संरचनामा राखिएको छ । त्यसमध्ये थपिएको नारायणहिटीलाई संग्रहालयमा बदल्ने कार्यभार हाम्रो थियो । सपथग्रहणको भोलिपल्ट बिहानै नारायणहिटी पुगियो । खुबै प्रचार गरिएको श्री ५ बडामहाराजधिराज र उनका महारानीहरूको दरबार कस्तो रहेछ ? उत्सुकता थियो ।

त्यहाँस्थित कर्मचारीले उत्साहपूर्वक अवलोकन गराउँदै लगे । भित्र प्रवेश गरेर हेर्दै जाँदा निराशाको भारी मात्र अनुभुति भयो । किनकि, नारायणहिटी दरबारभित्रका अधिकांश कोठाहरू यति अँध्यारा रहेछन् कि दिउँसै बिजुली बाल्नुपर्ने, वास्तवमा चोर भालुको ओडारजस्तो ! स्वतः निश्कर्ष रहृयो, शाहवंशीय राजाहरू खत्तम रहेछन् । ‘पञ्चै हो, यो देश बनाइदेउ’ भनेर रेडियोमा गीत घन्काएका राजा तथा तिनका मण्डले पञ्चहरूले ३० वर्ष देश कसरी बनाएछन् ? नारायणहिटी दरबारको दरिद्र दृश्यले प्रमाणित गर्छ ।

सामन्तवाद जनविरोधी हुन्छ । तर, सामन्ती राज्यका सञ्चालक राजाहरू आˆनो देश र दरबारको शान बढाउँछन् । जहाँनियाँ राणाशासन राष्ट्रियताको प्रश्नमा अङ्ग्रेजी कुकुर तथा जनताको प्रश्नमा हत्यारा थियो । तर, त्यसले भव्यतम् महलहरू ठड्यायो । १०४ वर्षपछि राणाशासन अन्त्य भएयता ती महलहरू सरकारका लागि उपयोगी बने । शाहवंशमा भन्दा राणाहरूमा केही निर्माण संस्कृति रहेको इतिहासले झल्काउँछ ।

शाहवंशका नरनारायण, बडामहाराजधिराजहरू अमेरिका वा जस्तोसुकै आधुनिक शिक्षालयमा उच्च शिक्षा हासिल गर्ने अवसर पाएका किन नहुन्, तर उनीहरूको निर्माण संस्कृतिमा दरिद्रता मात्र भरिएको रहेछ । अढाइ शताब्दी नेपाल राज्यमा तिनकै प्रभुत्व थोपरिएको थियो । निर्दलीय राजतन्त्रमा त नेपाल सरकारको नाम नै श्री ५ को अर्थात राजाको सरकारको हालिमुहाली थियो ।

अतः छिमेकीसँग तुलनात्मक अध्ययन गर्दा नेपाल देश कङ्गाल बन्न पुग्नुमा अढाइ सय वर्ष प्रभुत्व जमाएका, तर दरिद्र निर्माण संस्कृतिका महाराजाहरू स्वतः जिम्मेवार छन् ।

तीन: पहिलोचोटि ०३९ सालमा काठमाडौँ प्रवेश गरेपछि हामी दिदी-भिनाजुको संरक्षणमा रहृयौँ । ०४१ तिर लाजिम्पाटस्थित डेरामा दिदीका केही साथीहरू भेला भए । दिदीहरूले प्रश्न गरे- रानी राम्री कि हिरोइनी ? हामीले रानी राम्री भनेर जोड गर्‍यौँ । किनकि, कक्षा १ देखि नै विद्यार्थीलाई महेन्द्रमाला घोकाइएको थियो । त्यसमा ‘हाम्री रानी राम्री छन्, हाम्रै देश विशाल’ आदि कण्ठ गराइएको थियो । अर्को, सिनेमा नहेरेको हामीलाई हिरोइन थाहै थिएन । थाहै नभएको हिरोइनको पक्षमा बोल्ने कुरै भएन ।

चर्को विवाद निरुपण गर्दै दिदीले कथा सुनाइन् – वास्तवमा रानी खराब छ । दरबारमा थुप्रै नोकर- चाकर हुन्छन् । त्यसमध्ये जवान छोरीहरू पनि हुन्छन् । ती नोकर छोरीहरू राजपरिवारका पुरुषले दुरुपयोगको साधन बनाउँछन् । कुनै साल एक नोकर्नीले नानी जन्माइन् । त्यो नानी राजपरिवारको रहेछ । नोकर्नी सुत्केरी हुनासाथ रानीले त्यो कुरा चाल पाइन् ।

सुत्केरी बनेको तीन दिनमा नानीसहित ती नोकर्नीलाई रानीले गोदाममा बोलाइन् । शाहीसेनाले नोकर्नी लिएर आयो । रानी ढोकामा उभिएकी थिइन् । ढोकाभित्र ठूल्ठूलो स्वरमा भोटे कुकुरहरू भुक्दै थिए । रानी नजिक नोकर्नी पुग्नासाथ नोकर्नीको काखबाट रानीले झट्टै बच्चा खोसिन र कुकुरतिर फालिन् । बडेमान कुकुरहरूले तीनदिनको शिशुलाई एकै गाँस बनाए । विचरा ती नोकर्नी महिला मूर्छा परेर ढलिन् अनि त्यहीँ प्राण त्यागिन् ।

वास्तवमा साइँली दिदीले यस्तो कथा बताएपछि नै राजा-रानीप्रति हाम्रो चेतनामा घृणा सुरु भयो र यो जीवन गणतन्त्रवादी बन्यो । अन्यथा ०४० देखि मार्क्र्सवादी बनेको भए पनि गाउँको प्रधानपञ्च मात्र शोषक हो, राजा-रानी राम्रा हुन्, भन्ने हामीमा थियो ।

दिदीले त्यो घटना जानकारी पाउनुको सम्बन्ध हाम्रा भिनाजु तत्कालीन निर्मल लामा समूहमा आवद्ध तथा राजदरवार प्रशासन सेवाका कर्मचारी थिए ।

जब हामी ०६५ मा नारायणहिटी दरबारसमेतको मन्त्री बन्यौँ, दरबारका पुराना कर्मचारीसँग सोध्यौँ- के दरबारभित्र त्यस्तो घटना हुने गथ्र्यो ? कर्मचारीको जवाफ थियो – ‘अनेकपटक त्यस्ता घटना हुन्थे र कहिलेकाहीँ त जागिर छाडेर जोगी बनौँ, जस्तो लाग्थ्यो ।’

दासयुगदेखि मानिस तीन सङ्घर्षमा अल्झेको छ । साम्यवादी समाज स्थापनापछि मात्र त्यसमध्ये एउटा वर्गसङ्घर्ष अन्त्य हुन्छ र मानिसले प्रकृतिसँगको सङ्घर्ष तथा उत्पादन सङ्घर्षमा केन्दि्रत हुन पाउँछ । तब मानिसविरुद्ध मानिसको शोषण, दमन, उत्पीडन अन्त्य हुन्छ । यसरी मानव समाजले आदिम साम्यवाद उप्रान्त गुमाएको प्राकृतिक स्वतन्त्रता आधुनिक साम्यवादमा हासिल गर्छ । सामाजिक क्रान्तिबारे द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादले हामीलाई यही बताउँछ ।

वर्ग अन्तर्विरोधको प्रथम चरण दासयुग थियो । रोम शहरका विद्रोही नायक स्पार्टाकसको नेतृत्वमा २००० वर्षअघि दासयुग विरुद्ध महान् क्रान्ति उठाइएको इतिहास छ । गंगा मैदानमा विकसित वर्णव्यवस्था दासप्रथाको प्रारम्भ थियो, जुन नेपाली समाजमा अद्यापि राज गरिरहेछ । एउटै समुदायभित्र ब्राहृमण, क्षेत्री, वैश्य र शुद्रको प्रणाली खडा गर्नु तथा हजारौँ वर्ष शुद्रलाई समुदायगत दास तुल्याउनु सभ्य समाजमा सहन सकिने कुरा हुँदैन ।

वर्ग अन्तर्विरोधको दोस्रो चरण सामन्तवादी राज्यमा कोतपर्व र भण्डारखाल पर्व अनिवार्य थिए । ०५८ को दरबार हत्याकाण्डमा साम्राज्यवाद तथा विस्तारवाद हावी रहेको बताइन्छ । परन्तु त्यो सामन्तवादकै अभिव्यक्ति थियो ।

खड्ग ओली सरकारका ज्यादतीको भर्‍याङ चढेर सामन्ती राजतन्त्र फर्काउन खोज्नेहरूसँग प्रश्न छ- के राजतन्त्रले नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, महिलाको संयुक्त राज्यसत्ता निर्माण तथा समाजवादी राष्ट्रिय एकीकरण गर्नेछ ?

यादव भट्टराई निर्देशित ‘झोला’ चलचित्र हेरियो भने मात्र पनि ‘सतीप्रथा’ नामको महिलाविरोधी सामन्तवाद कति भयानक थियो, बुझ्न सकिन्छ । अतः सामन्तवादको चरित्रमा दरबारका नोकर छोरीहरूप्रतिको राजा-रानीको व्यवहार स्वतः प्रमाणित हुन्छ ।

मार्क्सवादीहरू त्यसर्थमा सामन्तवादलाई प्रगतिशील ठान्दछन्, जसले छरिएको जमीन केन्द्रीकरण गर्छ । अतः पृथ्वीनारायणको अगुवाइमा छरिएको जमिन केन्द्रीत गरेर सङ्गठित राज्य खडा गर्ने काम नेपालमा शाहवंशको प्रगतिशील भूमिका थियो ।

त्यस उप्रान्त वर्णव्यवस्था आधारित आन्तरिक राज्य प्रणाली र निर्माण तथा उत्पादन क्षेत्रमा दरिद्र संस्कृति बोकेका महाराजाहरू देश र समाज विकासका बाधक थिए । ०६५ मा राजतन्त्रको अन्त्य र पुँजीवादी गणतन्त्र घोषणा यसर्थ ऐतिहासिक ठहर्छ ।

राष्ट्रियताको सवालमा श्री ५ त्रिभुवन नम्बर १ राष्ट्रघाती हुन् । नेपाली क्रान्तिकारीहरूलाई सहयोग गर्नुपर्नेमा भारतको शरण लिएर दिल्ली सम्झौता गर्ने त्रिभुवनका परिवारले हैदरावाद हाउसमा बसेर चार महिना खाएको मूल्य तत्कालीन नेपाली रुपैयाँ ९ लाख मोहनसमशेरले भुक्तान गरेको घटनाबाट त्रिभुवनको राष्ट्रवाद प्रष्ट हुन्छ । जनवादको प्रश्नमा संवत् १९९७ मा चार जना अमर शहिदहरूलाई मृत्युदण्ड दिने राणाहरूको प्रस्तावमा त्रिभुवनले लालमोहर ठोकेबाट उनलाई गुथाइएको प्रजातन्त्रका पिता स्पष्ट हुन्छ ।

अतः खड्ग ओली सरकारका ज्यादतीको भर्‍याङ चढेर सामन्ती राजतन्त्र फर्काउन खोज्नेहरूसँग प्रश्न छ, के राजतन्त्रले नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, महिलाको संयुक्त राज्यसत्ता निर्माण तथा समाजवादी राष्ट्रिय एकीकरण गर्नेछ ? जुन आजको वस्तुगत आवश्यकता हो । के टिष्टा- काँगडा फिर्ता ल्याउने छन् ? जुन नेपाली राष्ट्रिय स्वाधीनता सुदृढीकरणको मुद्दा हो । अन्यथा दरिद्र महाराज फर्काउने प्रतिगामी दुश्प्रचारले विद्रोह निम्त्याउने निश्चित छ र त्यो महान जनविद्रोह हुने अझ निश्चित छ ।

(पूर्वमन्त्री किराती माओवादी नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment