Comments Add Comment

मन भाँच्चियो मुख्यमन्त्रीज्यू !

केही समयअघि एउटा राष्ट्रिय पत्रिकामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको लामो अन्तर्वार्ता पढेको थिएँ । उसो त अन्र्तवार्तामा पढ्नुभन्दा अघि पनि धेरै पटक धेरै ठाउँमा यस्तो भाव सुन्दै आएको हुँ- सत्य बोल्नै कम्युनिस्ट बनेको हुँ ।

मुख्यमन्त्री गुरुङ सत्तामै भएर पनि सधैं संघ सरकारको विरोध गरिरहन्छन् । संघ सरकारको केन्द्रीकृत मानसिकतालाई जहिल्यै हिर्काइरहन्छन् । त्यो गज्जब पक्ष हो । नेतामा हुनुपर्ने गुण देखेरै म उनको ‘फ्यान’ भएको थिएँ ।

कहिलेकाहीँ रिपोर्टिङका लागि समय जुथ्र्यो मुख्यमन्त्री आतिथि भएको कार्यक्रममा जान । एक घण्टा लामो कार्यक्रममा उनी ४५ मिनेट लामो भाषण गर्छन् । त्यसमध्ये आधाभन्दा बढी समय केन्द्र सरकारकै आलोचना गरेको भेटिन्छ । विविध विषयमा केन्द्र सरकारलाई प्रश्न सोधिरहेको भेटेपछि लाग्थ्यो, ‘गण्डकीका मुख्यमन्त्री जनताका आवाज बोल्छन् । जनताका गुनासा बोक्छन् ।’
भन्नेहरु भन्थे, ‘सत्ताले जहिल्यै दमन गर्छ । शक्तिको आँडमा निमुखाको घाँटी निमोठ्छ । सत्तासँग शक्ति हुन्छ । त्यसैले सत्ता जहिल्यै दमनकारी हुन्छ ।’

अर्काथरि पनि छन्, जो सधैं कम्युनिस्टको विरोध गर्छन् । उनीहरु पनि भनिरहन्छन्, ‘कम्युनिस्ट सरकारसँग दम्भ हुन्छ । उनीहरुको शासनमा अधिनायकवाद लागू हुन्छ । न कोही प्रश्न उठाउन पाउँछन् । न कोही बोल्न पाउँछन् ।’

यी कुराभन्दा पर छन् जस्तो लाग्थ्यो मुख्यमन्त्री गुरुङ ।

****

विकास रोकामगर

गण्डकी प्रदेश विभिन्न समयमा फरक-फरक विषयमा चर्चामा आइरहन्छ । प्रसंगमा कहिले फेवाताल, रुपाताल लगायतका तालतलैया आउँछन् । कहिले कालीगण्डकी आउँछ । कहिले रेडलाइट एरिया आउँछ । कहिले ‘इन्जोय जोन’ आउँछ ।

केही दिनअघि एउटा समाचार आयो, प्रदेशका मुख्यमन्त्रीले कति मूल्यको गाडी चढ्छन् ? समाचार अनुसार समग्र प्रदेशको हिसाबमा गण्डकी प्रदेशको तथ्यांकको सबैभन्दा पुछारमा थियो । आहा ! कस्तो गज्जब कुरा । विकासका कुरामा पछि परे पो विरोध गर्नु । समाचार पढ्दै जाँदा खुसी दिएको थियो ।

तर, जब आँखा ‘मुख्यमन्त्रीको ल्यान्डक्रुजर मोह’ मा गएर २ करोड ५० लाखमा टक्कै रोक्कियो, त्यसपछि एकछिन आफैंलाई चिमोट्नुपर्ने आभास भयो । मुख्यमन्त्रीप्रतिको विश्वास झ्याम्म फुटयो ।

विश्वास मन परेको काँचको गिलासजस्तै हुँदो रहेछ । न फाल्नै सकिने, न त उठाएर अंगाल्न नै !

देश संघीयतामा गएसँगै स्थानीय तहदेखि केन्द्रसम्म तीन तिहाइकै बोलवाला छ । अर्थात कयुनिस्ट सरकारको । कम्युनिस्ट सरकारले केही त गर्ला भन्ने लागेको पनि थियो । तर, जब प्रदेश सरकारका मुख्यमन्त्रीले चढ्ने गाडीमा सबैभन्दा माथिल्लो ग्राफमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अनुहार देखियो, त्यसले उनीप्रति सच्चा मनले विश्वास गर्नेहरुलाई धोका भएको छ ।

हामी चाहन्थ्यौं कि पृथ्वीसुब्बाको मन सफा छ । असल चरित्र छ । जनताको मन जितेर गएका छन्, धोकाचाहिँ कम्तिमा दिने छैनन् । तर, अनुहार हेरेर अर्काको मनसम्म कहाँ छिर्न सकिँदो रहेछ र ?

कम्युनिस्ट नेता भएरै पहिले मुख्यमन्त्री गुरुङ तत्कालीन पर्यटन मन्त्रीसमेत भए । कम्युनिस्ट धारा नछोडेरै अहिले गण्डकी प्रदेशको अभिभाकत्व ग्रहण गरिरहेका छन् । केन्द्रबाट प्रदेश सरकारमा आउँदा तीन तिहाइ समर्थन प्राप्त भयो । त्यही तीन तिहाइको भीडमा कतै पो छुटयो कि कम्युनिस्ट दर्शन ? कतै हरायो पो कि त आदर्श ? या सत्ताको दम्भले आँखामा पट्टी बाँधेको पो हो कि ?

के सत्ताको कुर्सी त्यति डरलाग्दो हुन्छ ? एउटा आदर्श नेताको चरित्र या सिद्धान्त क्षणभरमै बदल्न सक्ने ल्याकत राख्छ ? विवशवश मुख्यमन्त्रीकै भनाइ सापटी लिँदै भन्न मन छ, ‘मुख्यमन्त्रीज्यू ! तपाईंलाई पनि झूठो कम्युनिस्ट देखें । कम्युनिस्टको पहिरनमा सुविधाको अतृप्त प्यासी देखें ।’

मुख्यमन्त्री गुरुङप्रति एउटा विश्वास थियो, ‘मुख्यमन्त्री अरु नेताजस्तो छलकपट जान्दैनन् । सधैं सत्य नै बोल्छन् । उनी सेवा गर्न राजनीति गरेका हुन् । आफू सुविधाभोगी बन्न होइन ।’ तर, त्यो विश्वास फगत एउटा भ्रम रहेछ । हामी भ्रमलाई नै विश्वासको नाम दिएर बाँचिरहेका रहेछौं ।

मुख्यमन्त्रीमध्ये सबैभन्दा महंगो गाडी चढ्ने नाममा मुख्यमन्त्री गुरुङकै नाम आयो । किन आवश्यक छ त मुख्यमन्त्रीलाई त्यति महंगो गाडी ? लागेथ्यो कुनै तर्क प्रस्तुत गर्लान् । राम्रो उत्तर देलान् । प्रतिक्रिया देलान् । हामी जस्ता ‘अबुझ’ले नबुझेका प्रश्नका सरल उत्तर देलान् । तर, त्यसमा पनि होइन रहेछ । फेरि पनि धोका पायौं । तर, फ्याट्ट भनिदिए, ‘संघको थोत्रो गाडीको ईखले ल्यान्डक्रुजर चढेको हुँ । मुख्यमन्त्री गाडी चढ्दा आकाश खस्यो ?’

मुख्यमन्त्री सार्वजनिक पदमा छन् । यसअर्थमा पनि उनका हरेक क्रियाकलाप सीधैं जनतासँग जोडिएका हुन्छन् । उनले बोलेका कुरा फगत कुरामात्रै हुँदैनन् । समाचार बन्छन् । उनका योजना घरभित्रको योजनामात्रै हुँदैनन् । समग्र प्रदेशको भविश्यसँग जोडिएका हुन्छन् । र, प्रदेश देशसँग जोडिएको हुन्छ ।

मुख्यमन्त्री गाडी चढ्दा न आकाश खस्छ । न धर्ती भास्सिन्छ । न घामले पोल्न छोड्छ । न पृथ्वी नै उल्टो दिशामा घुम्छ । उनी जहाज चढे पनि साइकल चढे पनि यी कुरा कहिल्यै फेरिँदैनन् । तत् तत् स्थानमा तत् तत् धर्म निभाइरहन्छन् ।

मुख्यमन्त्रीले गाडी चढ्नै हुन्न भन्ने होइन । तर, उनले २ करोड ५० लाखको महंगो गाडी चढ्दै गर्दा जनताको अवस्था पनि हेर्नुपर्छ । तत्कालका लागि आफ्नो ईख र आवश्यकता ठूलो हो कि उनीमाथि आशा बिछयाएर पर्खिरहेका ती जनता आँखा हुन् ? उनले बुझ्न जरुरी छ ।

मुख्यमन्त्रीले संघ सरकारसँग ईख साँध्न आफूले ल्यान्डक्रुजर गाडी चढेको जुन उत्तर दिएका छन् । वास्तवमै त्यो उत्तर हास्यास्पद छ । मुख्यमन्त्रीको उत्तरले उनको खास मनोविज्ञान के हो भन्ने संकेत गरिरहेको छ । ‘संघ चढेको नदेख्ने, प्रदेशले चढेकोमात्रै विरोध गर्ने ?’ भन्ने उनको जुन जवाफ छ, त्यो जवाफले ‘म पनि सुविधालोभी’ भन्ने मनोविज्ञान झल्काइरहेको छ ।

सामान्य अर्थमा बुझ्दा संघीयताको मूल मर्म हरेक जनताले आँगनमा सरकार अनुभूत गर्न पाउनु हो । प्रदेश सरकार त झन् स्थानीय तहपछिको नजिकको सरकार हो । ‘केन्द्रले के गर्दैछ ? कसो गर्दैछ ?’ त्यसको सोधखोज गर्ने जिम्मा प्रदेशको हो । जनताले भेट्ने र चिन्ने त्यही स्थानीय सरकार त हो । यसअर्थमा पनि हामीले प्रश्न उठाउने र गुनासो गर्ने भनेकै प्रदेश सरकारलाई हो । सन्तानले प्रश्न उठाउने र झगडा गर्ने भनेकै आफ्नो अभिभावकसँग त हो ।

मुख्यमन्त्रीले संघलाई चिढ्याउन वा देखाउन आफू ल्यान्डक्रुजर गाडी चढ्ने होइन । अन्य विकास निर्माणका काम धमाधम सकेर पनि त देखाउन सकिन्थ्यो नि ? यो सुविधासँग जोडिएको गाडीमै गएर उनी रोकिनुको खास कारण के रहेछ ? व्यक्तिगत ईख साँध्न अर्काको पसिना चुस्दैन कम्युनिस्टले । नहुनेहरुको खोसेर आफ्नो लाज ढाक्दैन । कम्युनिस्टको सिद्धान्त बढी थाहा भएरै त होला, कम्युनिस्ट पार्टीको नेता भएको ।

समग्र देशको कुरा छोडौं । गण्डकी प्रदेशमै पनि धेरै ठाउँ छन्, जहाँ अहिले सामान्य बाटो पुगेका छैनन् । उज्याला नपुगेका थुप्रै गाउँ छन् । पानीको सुविधा छैन । खहरे खोलासमेत सामान्य पुल छैन । खुल्ला आकासमा घामपानी खाँदै विद्या पढिरहेका विद्यार्थी छन् । स्कुल छन् ।

मुख्यमन्त्रीले ‘संघ सरकारलाई देखाउन’ खोजेर चढेको महंगो गाडीबाट केही रकममा मात्रै कटौती गरेको भए ती ठाउँमा थोरै भए पनि मल्हम हुन्थ्यो । आँगनमै सरकार आएको उनीहरुले पनि अनुभूत गर्न पाउँथे । उज्यालो नपाएका बस्ती उज्यालिन्थे । बर्खे भेलमा आयु सकाउनु पर्ने थिएन ।

साना केटाकेटीहरु एउटा साथीले चक्लेट खाएको देखे अर्काले मागेर खान खोज्छन् । जिद्दी गर्छन्, रुन्छन् । मागेर पनि नपाए मनमा ईख लिएरै भन्छन्, ‘पख्लास् साँझ मेरो आमा/बा आउनुहुन्छ, तेरोभन्दा राम्रो चक्लेट खान्छु, तलाईं दिन्नँ ।’

अहिले महंगो ल्यान्डक्रुजर गाडी चढ्ने मुख्यमन्त्री गुरुङको भनाइमा पनि त्यही छनक देखिएको छ । मुख्यमन्त्रीको त्यस्तै प्रकारको ‘ईखालु उत्तर’ले उनीभित्र परिपक्वता देखिएन । हुबहु केटाकेटी व्यवहार देखाइदिएको छ ।

मुख्यमन्त्री गाडी चढेको भनेर जनताले विरोध गरेका अवश्य होइनन् । कस्तो गाडी, कुन समयमा र कुन आवश्यकताले चढेको ? यही प्रश्नको उत्तर खोजेका हुन् । आफूले तिरेको करको सही सदुपयोग भइरहेको छ कि छैन ? जान्न खोजेका हुन् ।

जनताले आफैंले चुनेर पठाएका जनप्रतिनिधिबाट गलत काम नहोस्, गलत प्रवत्ति नेदेखियोस् भन्ने चाहन्छन् । यो उनीहरुको अधिकार पनि हो । मुख्यमन्त्रीबाट पनि त्यस्तै प्रकारको उत्तर चाहन्थे । तर, कसैगरी पनि जनताले आशा गरेको उत्तर ‘मुख्यमन्त्री गाडी चढ्दा के आकास खस्यो त ?’ भन्ने कहिल्यै थिएन र हुने छैन पनि ।

दोहोरो सुविधा, प्रत्येक सांसदलाई पिए, गाडी, महंगो सुनजडित लोगो यी सबै सुविधाभोगी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ छन् भन्दा पनि पत्याउनै गाह्रो । मनै भाँच्चिएर यसपालि त भन्न मन लागेको छ-

पोहोर साल खुसी फाटयो जतन गरी मनले टाँलें
यसपालि त मनै फाट्यो केले सिउने, के ले टाल्ने हो….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment