+
+
Shares

बिक्री हुन छाड्यो सुन, बैंकमा थुप्रियो ७ सय किलो

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २५ गते १७:२७

२५ साउन, काठमाडौं । पछिल्लो एक महिनामा प्रतितोला ५ हजार ३ सय रुपैयाँ बढेर सुनको मूल्य ७० हजार रुपैयाँ पुगेको छ । मूल्य आकासिँदा विक्री भने निकै घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अहिले दिनमा एक किलो पनि सुन विक्री हुँदैन । महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सुनको कारोबार ठप्प जस्तै रहेको बताउँछन् ।

यसअघि सुन चाँदी व्यवसायीहले बैंकबाट दैनिक २० केजीसम्म सुन उठाउँथे । तर सुन किन्ने ग्राहक घट्दा बैंकमा हाल करिब ७ सय किलो सुन थुपि्रएको छ ।

सरकारले काँचो सुन आयात र कारोबारको जिम्मा वाणिज्य बैंकहरुलाई मात्र दिएको छ ।

बैंकरहरुले सुन खरिदका लागि व्यवसायीसँग छलफल पनि गरेका छन् । तर बजारमा कारोबार नै नभएपछि समस्या भएको बरिष्ठ उपाध्यक्ष शाक्यले बताए ।

व्यवसायीहरुकाअनुसार बढ्दो मूल्यले सुन धेरै कारोबार हुने पर्व तीजलाई समेत प्रभावित पार्ने सम्भावना छ ।

‘सुन धितो राखेर ऋण नदिनू’

व्यवसायीहरुकाअनुसार मुल्य बढ्दा पुराना सुनका गहना बेच्न आउनेहरुको संख्या बढ्दो छ ।  साथै सुन धितो वा जमानीमा राखेर ऋण लिनेहरु पनि आउने गरेका छन् ।

सुन चाँदी व्यवसायी महासंघले सुन धितो राखेर ऋण नदिन आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।

मूल्य अस्थीर रहेकाले व्यक्तिगत कारोबारमा जोखिम उच्च भएको महासंघको भनाइ छ । ‘हामीले २ वर्षअघि बाटै सुन धितो राखेर व्यक्तिगत रुपमा दिइने कर्जा बन्द गर्न सदस्यहरुलाई भनिरहेका थियौं,’ महासंघका बरिष्ठ उपाध्यक्ष शाक्य भन्छन्, ‘मूल्य ह्वात्तै बढिरहँदा यस्ता कर्जामा जोखिम हुन्छ ।’

व्यवसायीहरुले ग्राहकसँग लिएको सुन धितोमा राखेर बैंकबाट ऋण पनि लिने गरेका थिए । तर सुन धितोमा दिने ऋणमा हुने जोखिमलाई ध्यान दिँदै राष्ट्र बैंकले कडाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?