
काठमाडौं । श्रीलंकामा बौद्ध धर्मावलम्बी दर्जनौं तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा २१ जनाको मृत्यु हुनुका साथै १४ जना गम्भीर घाइते भएका छन् ।
दशकौंयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले हुँदै जाँदै गर्दा बिहान सबेरै भीरबाट खसेको प्रहरीले जनाएको छ ।
उक्त बसमा क्षमताभन्दा २० बढी अर्थात् करिब ७० जना यात्रु सवार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बस दुर्घटनाका कारणबारे अध्ययन भइरहेको स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै एएफपीले लेखेको छ ।
ती अधिकारीका अनुसार घटनास्थलमै १५ र उपचारका क्रममा अस्पतालमा ६ जनाको मृत्यु भएको हो । अन्य १४ जना गम्भीर छन् ।
उक्त बस श्रीलंकाको दक्षिणमा रहेको तीर्थस्थल कातारागामाबाट करिब २५० किलोमिटर (१५५ माइल) को दुरीमा रहेको केन्द्रीय शहर कुरुनेगालातर्फ जाँदै थियो।
श्रीलंकामा वर्षेनि औसत तीन हजार सडक दुर्घटना हुने गरेका छन् । अत्यधिक दुर्घटना हुने गरेका कारण श्रीलंकाका सडकहरू संसारकै सबैभन्दा खतरनाक सडकमध्ये पर्ने गरेका छन् ।
प्रतिक्रिया 4