Comments Add Comment

फेसबुकमा सूर्य थापा र दीपशिखाको भनाभन

२६ साउन, काठमाडौं । ‘आफूले आजसम्म कसैलाई एक झापड नहानेको र कसैको एक झापड नखाएको’ भन्ने नेकपा अध्यक्ष प्रचण्डको अभिव्यक्ति सामाजिक सञ्जालमा निकै चर्चित बन्यो । अहिले यही विषयलाई लिएर नेकपाका दुई युवा नेताबीच फेसबुकमा भिडन्त परेको छ ।

एमाले पृष्ठभूमिका सुर्य थापा र माओवादी पृष्ठभूमिका रामप्रसाद सापकोटा दीपशिखा सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका हुन् । थापा नेकपाका केन्द्रीय सदस्य हुन् भने दीपशिखा युवा संघका अध्यक्ष र नेकपाका केन्द्रीय सदस्य पनि हुन् । एउटा पार्टीमा भए पनि थापा प्रचण्डको र दीपशिखा केपी ओलीको आलोचक मानिन्छन् ।

थापाले शुक्रबार आफ्नै पार्टीका अध्यक्ष प्रचण्डको अभिव्यक्तिमाथि कटाक्ष गर्दै फेसबुकमा स्टाटस लेखेका थिए । प्रचण्डसँग व्यक्तिगत निकटता राख्ने दीपशिखालाई त्यो स्टाटस चित्त बुझेन । उनले थापामाथि फायर खोल्दै उनलाई पार्टीबाट पद त्याग गर्न सुझाव दिए ।

दीपशिखाले आफ्नो व्यक्तिगत विचार भन्दै लेखेका छन्, ‘पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन । पार्टी अनुशासन, आत्मानुशासन नमान्ने र काम नै पार्टी नेतृत्व्को विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ । यस्ता गाली आजकाल फस्टाउँछ भन्ने लागेको भए यसैलाई पेशा बनाए हुन्छ ।’

यो स्टाटसमा उनले थापाको अर्को पुरानो स्टाटसको स्क्रिनसट पनि हालेका छन् । उक्त स्टाटसमा थापाले लेखेका थिए, ‘नेकपामा पूर्व एमाले कसैको जिम्मेवारी खुमलटारको, दया, कृपा र सहमतिमा तोकिने होइन । त्यहाँको दुख सिमा थाहा नपाउने सायदै कोही होला ।’

दिपशिखाको स्टाटसपछि थापाको जवाफ पनि आएको छ । उनले लेखेका छन्, ‘दीपशिखाले अनुशासन र मर्यादा सिकाउने ? कति हाँस्नु ? यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको ? बिचरा ।’

यसमा दीपशिखाको जवाफ आउन बाँकी छ । यी दुई युवाहरुबीच यसरी खुल्ला वादविवाद भइरहँदा नेकपाका कार्यकर्ता चिन्तित बनेका छन् अरुले रमाइलो मानेका छन् । एमाले र माओवादीको एकतापछि पार्टीको नीति–निर्णयविरुद्ध लेख्नमा यी दुवै नेता पहिल्यैदेखि कम छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment