Comments Add Comment

‘मेयरको गाडी किन्ने बजेटले जस्तापाता किनें’

२६ साउन, मोरङ । उत्तरी मोरङका केराबारी लेटाङजस्ता स्थानीय तहमा प्रमुख पद नेपाली कांग्रेसले जितेको अवस्था छ भने उपप्रमुख र अधिकांश सदस्यचाहिँ तत्कालीन एमाले अर्थात नेकपाका हातमा छ । कांग्रेसको नेतृत्व तर नेकपाको  उपस्थिति रहेका ती स्थानीय तहमा दुई पार्टीवीच बेलाबखत किचलो हुने गरेको छ । लेटाङ नगरपालिका पनि त्यस्तै किचलो भइरहने नगरपालिका हो ।

पूर्वपश्चिम राजमार्गबाट ८ किलोमिटर उत्तरमा अवस्थित लेटाङ नगरपालिकामा नेपाली कांग्रेसका युवा नेता शंकर राईले मेयरको जिम्मेवारी सम्हालेको दुई वर्ष नाघिसकेको छ । यस अवधिमा लेटाङका कतिपय स्थानीयवासीहरु अहिलेसम्म स्थानीय सरकारको अनुभूति गर्न नसकेको बताउँछन् । तर, मेयर राई आफूले राम्रो काम गरिरहेको तर सत्तारुढ नेकपाको पेलाइमा परेको बताउँछन् ।

यसै साता लेटाङ पुगेका बेला अनलाइनखबरकर्मी सरोज तामाङले कांग्रेसका युवा नेता एवं मेयर शंकर राईसँग त्यहाँका स्थानीय समस्यामाथि केन्द्रित रहेर गरेको कुराकानी–

मेयरमा निर्वाचित भएपछि अहिलेसम्म तपाईले के–के गर्नुभयो ? कुराकानीको सुरुवात यहीँबाट गरौं ।

दुई वर्ष पूरा भएर कार्यकाल अघि बढिरहेको छ । हामीले जितेर आएपछि सबै वडामा विज्ञ साथीहरुसँग बसेर छलफल गर्‍यौं। छलफलको मुख्य उद्देश्य नै प्रभावकारी तरिकाले के गर्ने भन्ने थियो । प्रभावकारी तरिकाले हामी अगाडि बढ्यौं । नगरपालिकामा के समस्या छ, त्यसको पहिचान गरी अघि बढ्नुपर्छ भनेर हामी प्रत्येक वार्ड, टोलमा गयौं । धेरैजसो साथीहरुले नागरिकता नपाएको देखियो । यहाँसम्म कि ९० वर्ष पूरा भएका आमाहरुले पनि नागरिकता पाएका थिएनन् ।

एउटा क्रसरबाट मैले कति पैसा लिएको छु ? त्यसको प्रमाण पुर्‍याए म मेयर पदबाट तत्काल राजीनामा दिन्छु र राजनीतिबाटै सन्यास लिन्छु । एक सेकेन्ड बस्दिनँ

हामी आउनेवित्तिकै सुरुमा नागरिकता घुम्ती शिविर सिडियो साहेबसँग बसेर सुरु गर्‍यौं । दुई पटकसम्म गरेर हामीले ८०० नागरिकता वितरण गर्‍यौं । नागरिकता वितरणकै क्रममा यस्तो पनि देखियो कि जहाँ सानै उमेरमा विवाह भयो, बालबच्चा हुर्किए । बाबु एकातिर गए, आमा अर्कोतिर । छोराछोरी टुहुरा भए । नागरिकता कसरी पाउने त ? यस्ता समस्या पनि देखिए । उनीहरुलाई पनि हामीले नागरिकता दियौं ।

दोस्रो, हामीले के गर्‍यौं भने वारंगी, ज्यामिरे र जाँतेको माथिल्लो भाग लालझोडा भन्ने स्थानमा हाम्रा दाजुभाइ दिदीबहिनी कस्तो अवस्थामा बसेका रहेछन् भने एउटा खरको छाना अथवा प्लाष्टिकले बारेको घर । पानी परेपछि सबै लथालिंगै हुने । पढ्न नपाउने, खाना पकाएरसम्म खान नपाउने अवस्था रहेछ ।

म मेयर भइसकेपछि नयाँ गाडी किन्नुपर्छ भनेर नगरसभाबाट ६२ लाखको गाडी किन्न बजेट छुट्टिएको थियो । लालझोडामा त्यो समस्या देखेपछि मैले तुरुन्तै बैठक राखेर जस्तापाता किन्ने निर्णयमा पुगें । मेरो सेवासुविधा कटौती गरेर जस्तापाता किनियो र सबैलाई वितरण गरियो । यो लेटाङ नगरपालिकाले जस्तापाता बाँडेको नेपालमै पहिलोपटक हो । त्यहाँ ४२५ घरधुरी जति हो यस्तो समस्या भएको । अहिले हामीले लगभग दुई ६०/७० घरधुरीमा जस्तापाता बाँडिसकेका छौं । अब यो बर्खाको समय पनि हो । योपटक पनि हामीले ५०/६० लाख छुट्याएका छौं । यस वर्ष म यो समस्याबाट लेटाङ नगरपालिकाबासीलाई मुक्त गराउँछु ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यहरुमा हामीले तालिम तथा गोष्ठीहरु आयोजना गरेका छौं ।

निर्वाचित हुनुभएको दुई वर्ष कटिसकेको छ । यो अवधिमा ठूला कामचाहिँ के गर्नुभयो ?

मोरङ जिल्लाको सबैभन्दा राम्रो, पर्यटकीय र धार्मिक क्षेत्र भनेकै लेटाङ नगरपालिका हो । हाम्रो वडा नम्बर एक भोगटेनी राजारानी धार्मिकस्थलले ऐतिहासिक छ । राजारानी पर्यटकीय क्षेत्र मात्रै नभएर धार्मिक क्षेत्र पनि हो । धिमाल जातिको बसोबासस्थल त्यहाँ भएको मानिन्छ । राजा पोखरी, रानी पोखरी, छोराछोरी पोखरी छ । हेर्दा आनन्द लाग्ने रमाइलो स्थल छ । राजारानीमा ४६ किसिमका विश्वको दुर्लभ सुनाखरी पाइन्छ । यो सुनाखरीको संरक्षण गर्न हामीले काम गरिरहेका छौं । यो संरक्षणका लागि ३० करोड भन्दा माथिको योजना यहाँ हालिएको छ ।

त्यस्तै, ‘कालेबुदुली’ योजनाअन्तर्गत लेटाङदेखि धनकुटाको ६ नम्बर बुधबारेसम्म कालोपत्रे गर्नका लागि सर्बे गरेर पठाएका छौं । यसै आर्थिक वर्षदेखि काम गर्ने लक्ष्य छ । त्यस्तै, खानेपानी स्वास्थ्य शिक्षामा पनि हामीले ठूलो लगानी गरेका छौं । बर्खा लागेपछि खानेपानीले लेटाङबासीलाई सताउँछ, त्यसको व्यवस्था गरिएको छ ।

खानेपानीकै कुरा निकालिहाल्नुभयो, जब वर्षा सुरु हुन्छ, लेटाङबासीले धमिलो पानी खानुपर्ने बाध्यता छ । वर्षौंदेखिको यो समस्या खै त समाधान भएको ?

धमिलो पानी किन आइरहेको छ ? म छोटकरीमा भन्छु । विपत व्यवस्थापन हामीले गरिरहेका छौं । जानीजानी धमिलो पानी दिएको पनि होइन । सकिन्छ, सफा पानी दिऊँ भनेर कार्य गरेको ४/५ वर्ष हुन लाग्यो ।

हामीले थप पम्पहरु पनि राखेका थियौं । एउटा मात्रै हैन, दुई–दुई वटा । म लेटाङमा जन्मिएर यत्रो भएँ, अहिलेसम्म यस्तो ठूलो चट्याङ परेको देखेको थिइनँ । एकपटक चट्याङ पर्दा तीनवटा मोटर झर्‍यामझुरुम गए । जतिपटक फेरियो, त्यो सबै चट्याङले नै लग्यो । काठमाडौंबाट पनि मैले सामानको अर्डर गरेँ । तर, एक महिनाभन्दा छिटो नआउने भएपछि समस्या देखियो । यस्तो कुरालाई नै मुख्य विषय बनाएर चुनाब हार्ने साथीहरुले फेरि शंकर राईले अर्कोपटक पनि जित्ने भो भनेर अधर्मी कुरा त भन्नुभएन नि ।

चुनावका बेला खानेपानीको शुल्क घटाउँछु भन्दै भोट माग्नुभयो भएको थियो रे । तर, महशुल घटेन भन्ने जनताको गुनासो छ । तपाई त खानेपानीको अध्यक्ष पनि हुनुहुन्छ हैन ?

तपाईले एकदमै महत्वपूर्ण कुरा उठाइदिनुभयो । स्वच्छ खानेपानी खुवाउने जिम्मेवारी मेरो हो । तर, शुल्क घटाउने कुरा मेरो दस्तावेजमा छैन । मैले चुनावमा बोलेको पनि छैन । सबैले महशुल घटाइदिन्छु भन्यो भन्ने छ । तर, मैले कहाँ भनें ? मेरो घोषणापत्र लिएर आउनुहोला । भनेको हो भने म राजीनामा दिन्छु भनेको छु ।

१२ हजार लिटर पानीको शुल्क ३ सय रुपैयाँ पर्‍याे भने प्रतिलिटर कति पर्‍याे ? यति सस्तो पानी कहीँ छैन । ३० करोडको खानेपानीको योजना मैले ल्याएको हुँ । यो ल्याउँदा कति दुःख पाएँ, त्यो मलाई राम्रोसँग थाहा छ ।
यो वर्ष लेटाङ नगरपालिकामा बाढीले कति क्षति गर्‍याे ? सबै विवरण आइसक्यो ?

योपटक निकै ठूलो क्षति भयो । अहिले नै सबै तथ्याङ्क मसँग आइपुगेको छैन । पहिलेको तुलनामा यो पटक निकै क्षति पुगेको छ । सिडियो साहेबदेखि सबै आउनुभयो । पहिलो कुरा, नदी नियन्त्रण गर्नुपर्छ भनेर सुरुमा जाली लगाएर मान्छे बचाउनुपर्छ भनेर कार्य गरियो । ५/१० लाख खर्च त भयो, त्यसमा फरक परेन । तर, यहाँ खोला पसेको भए ज्यान जान सक्थ्यो । त्योभन्दा ठूलो क्षति भएको भए के हुन्थ्यो ? यहाँ खोला पसेको भए लेटाङ मात्रै हैन, लक्ष्मीमार्ग र भाउन्ने सबै डुबान हुने थियो । त्यो हामीले जोगाउन सफल भयौं । सबैको साथ र हातेमालोमा नदी नियन्त्रण गर्न सफल भयौं ।

बाढीले क्षति गर्नुको मुख्य कारण क्रसर उद्योग हैन ?

क्रसरको बारेमा लेटाङबासी सचेत छन् । एकपटक नगरपालिका घेर्न आए क्रसर उठाउनुपर्छ, भुक्षय बन्द गर्नुपर्छ, तल कीर्तिमान वस्ती बगाउँछ भन्दै घेर्न आउनुभयो । नगरपालिकामा ताला लगाउने काम पनि भयो ।

सिडियो साहेब र सुरक्षाका साथीहरुले मलाई चिठी लेखेर दिनुहोस्, ताल्चा लगाउनेलाई तह लगाउँछौं भन्नुभयो । मैले भन्नेवित्तिकै उहाँहरु आएर कसैको ज्यान गएको भए अप्ठ्यारो हुने थियो । मैले सहँदा अरुलाई क्षति भएन भने म सहन्छु । कुनै आपत्ति छैन । म जनताको प्रतिनिधि हुँ । तर, उहाँहरुको के चाहना रहेछ भने क्रसरको भागबन्डामा कुरा नमिलेको रहेछ । त्यसपछि यहाँ आएर तालाबन्दी गर्नुभएको रहेछ ।

आज त्यही ताला लगाउने साथीहरु क्रसर खोलेर राम्रोसँग बसिरहेका छन् । उनीहरु भन्छन् फेरि कीर्तिमान डुबाउँछ । उता कीर्तिमानका मान्छेहरु आएर उत्खनन रोक्दा खोलो उक्सिएर गाउँमा पस्यो भने मेयरले जिम्मा लिनुपर्छ भन्छन् ।

म आउनुभन्दा १० वर्षअघिदेखि क्रसर सञ्चालन भइरहेको छ । स्थानीय सरकारलाई अहिले अधिकार त दिएको छ । तर, क्रसरले मान्यता लिएको त केन्द्र सरकारबाट छ । उनीहरुले कर तिरिरहेका छन् ।

चिसाङ खोलामा पुग्ने हो भने सबै क्रसरले मापदन्ड विपरीत उत्खनन गरेको प्रष्टै देखिन्छ । तर, तपाईको आशयचाहिँ नियमअनुसार नै काम भइरहेको छ भन्ने हो ?

हामीले ०७५/०७६ का लागि मात्रै ठेक्का लगाएका छौं । त्यो पनि नियमसंगत गरेका छौं । तर, योपटक केही ठेकदार साथीहरुले बदमासी गरेकै हो । नियमअनुसार २० हजार घनमिटर उत्खनन गर्नुपर्ने हो, तर लोभीपापी ठेकेदार साथीहरुले २५ हजार घनमिटरसम्म गिटी बालुवा झिके । ५ हजार घनमिटरसम्म बढी झिकेकै हो । म नाई भन्दिनँ ।

ठेकेदारले मात्रै झिकेको होइन त्यो । विकास निर्माणमा पनि त्यहीँबाट लगिएको छ । केही साथीहरु कुरै नबुझी ठेकेदार र मेयरले सेटिङमा नियम विपरीत गरेको छ भन्छन् । मैले ठेक्का लगाउने बित्तिकै के निर्णय गरेको छु भने अनुगमन गर्ने साथीहरु बस्नोस् । यहाँ नियमविपरीत खनेमा कारबाही गर्नोस् भनेर सबै अधिकार दिएको छु । ३ नम्बर वडाका अध्यक्ष अनुगमनको संयोजक हुनुहुन्छ । यसमा इन्जिनियरहरु पनि हुनुहुन्छ । जुनजुन खोलामा उत्खनन हुन्छ, त्यहीँका वडाअध्यक्षलाई अनुगमनको संयोजक बनाएर अधिकार दिएको छु ।

तर, बदमासी गर्नेलाई कारवाही चाहिँ किन गर्नुभएन ?

केही ठेकदारले राति अलि बेसी खनिदियो भन्ने सूचना मैले पनि पाएँ । मैले पुलिसलाई भनें । पक्राउ पनि पर्‍याे । तर, कस्तो सेटिङ रहेछ भने एक लाखको काम ५० हजारमा गर्नुपर्ने । राति फर्किंदा एक/दुई टिप्पर गिटी बालुवा उसको घरमा पनि हाल्दिनुपर्ने रहेछ । त्यो बदमासी गर्ने क्रसर अहिले बन्द भएको छ ।

तपाई क्रसरकै कारण विवादमा तानिनु भयो । अहिलेचाहिँ कतिवटा क्रसर उद्योगलाई मान्यता दिनुभएको छ त ?

लेटाङमा क्रसर अहिले तीनवटा सञ्चालनमा छो । त्योभन्दा बढी छैनन् । अनुगमन गर्ने स्थानीय सरकारसँगै समन्वयन समिति पनि छ । मेयरले आज यति खन्ने भनेर हुँदैन । नियम छ, त्यहीअनुसारले गर्नुपर्छ । एउटा प्रक्रिया छ ।

मेरो पनि बाबु लाहुरे हो । म घरको कान्छो छोरा । भ्रष्टाचार गर्नु आवश्यक छैन

तर, भागबन्डा नमिलेपछि यहाँ उग्ररुप हुँदोरहेछ । अरुले भन्ने गरेका छन् रे मेयर पनि सेटिङमा छ । एउटा क्रसरबाट मैले कति पैसा लिएको छु ? त्यसको प्रमाण पुर्‍याए म मेयर पदबाट तत्काल राजीनामा दिन्छु र राजनीतिबाटै सन्यास लिन्छु । एक सेकेन्ड बस्दिनँ ।

मेरो पनि बाबु लाहुरे हो । म घरको कान्छो छोरा । भ्रष्टाचार गर्नु आवश्यक छैन । लेटाङमा मैले चुनाव जित्नुको पनि एउटा कारण हो, मैले अहिलेसम्म कसैको एक पैसा खाएको छैन ।

यसवर्षको नगरसभामा पनि विवादमा तानिनुभयो, उपमेयरसँग विवाद हुनुको कारण के हो ?

हाम्रो उपमेयर एमालेबाट आउनुभयो म कांग्रेसबाट । योपटकको नगरसभामा चाहिँ मैले १० मिनेटको समय नदिँदा असहमत भएर उहाँहरु निस्किनुभयो । बडो हाँसउठ्दो कुरा छ । उहाँले जे–जे भन्नुभएको छ, त्यो मैले मानेको पनि छु । सही गर्दिएको पनि छु । तर, उहाँ नगरसभामा आउनुभएन । मैले किन नआउने भन्दा उहाँले मेरो असहमति भयो भन्नुभयो । केमा चित्त बुझेन भनेर सोध्दा मैले समय दिइनँ भन्नुभयो ।

उपमेयरलाई किन बोल्ने समय नदिएको त ?

उहाँको घर जाँते हो । लोटाङमा कार्यपालिकाको बैठक ८ बजे थियो । त्यसबेला उहाँलाई फोन गरेर पनि पटक–पटक भनिरहेको थिएँ । पहिले कार्यपालिकाको मिटिङ सकौं अनि एक घण्टा भए पनि बसाैंला भने । तर, उहाँ मान्नुभएन । उहाँ सहभागी नभए पनि बजेट प्रस्तुत भयो । तर, पछि नेकपाका वडा अध्यक्षहरुले पनि असहमति जनाउनुभयो । कारण, उपमेयर नआएर भन्ने रहेछ ।
माथि केन्द्र सरकारले असार ३१ गतेभित्र नगरसभा नगर्नेलाई अनुदान नदिने भनेर उर्दी जारी गरेको थियो । त्यो उहाँकै पार्टीका जनप्रतिनिधिले मान्नुहुन्न भने त पक्कै पनि केही गर्ने खेल हो, यो मैले बुझ्नुपर्‍याे ।

भनेपछि लेटाङ नगरपालिका एकतावद्ध भएर अघि बढ्न सकेको छैन ?

उपप्रमुखलाई मबाट सूचनाहरु नदिनु भन्ने मैले आदेश दिएको शंका लागेको छ भने माथि तपाईकै सरकार छ, प्रमुख प्रशासकीय अधिकृतलाई एक सेकेन्ड पनि नराख्नुहोस्, पठाइदिनुहोस भनेको छु । मन्त्री लालबाबु पण्डितलाई पनि भनेको छु । काम नगर्ने कर्मचारी परिवर्तन गरिदिनुहोस् भनेर ।

यो पनि पढ्नुहोस ‘त्यो प्रेम विवाहलाई नगरपालिकाले मान्यता दिन सकेन’

अहिले मलाई काम गर्न अप्ठ्यारो परेकै हो । कर्मचारीको कारणले । म सबैलाई मिलाएर लान्छु । तर, मसँग हारेका साथीहरुले उमेयरलाई उचालेर ठूलो इस्यु बनाएकै हो ।

अहिले लेटाङ नगरपालिकामा ४० प्रतिशत पनि कर्मचारी छैनन् । बजेटको हालत उस्तै छ । मोरङ जिल्लाकै सबैभन्दा ठूलो नगरपालिका, तर खै त बजेट छुट्टिएको ?

काम भएन, भ्रष्टाचार मात्रै भयो भन्ने जनताको आरोप पनि त छ नि जनप्रतिनिधिमाथि ?

जति जनप्रतिनिधि आएका छौं। सबैले पार्टीगत संकीर्णता छाडेर समृद्ध नेपाल बनाउनेतर्फ लाग्नुपर्छ । यहाँ सबैको खाँचो छ । कसैको चरित्रमाथि खेलबाड गर्नुहुँदैन । सबै मिल्नुपर्छ । सबैको कुरा मैले सुन्नुपर्छ । मैले भन्ने गरेको छु पद दुरुपयोग र भ्रष्टबाट चाहिँ लेटाङलाई मुक्त गराउँछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment