+
+
Shares
सफल उद्यमीको कथा :

ऊर्जाशील समय विदेश बिताएकोमा पछुतो

नवीन ढुंगाना नवीन ढुंगाना
२०७६ साउन २६ गते २१:२२

२६ साउन, काठमाडौं । बैदेशिक रोजगारीबाट फर्किएर अनुकरणीय काम गरेको भन्दै दुई साताअघि सरकारले केही उद्यमीलाई सम्मान गर्‍यो। नगद ५० हजारसहित श्रम मन्त्रालयबाट सम्मानित हुने ६ जनामध्ये एक्लो महिला थिइन्, कीर्तिपुर सेरा टोलकी शर्मिला अधिकारी ।

३७ वर्षीया शर्मिलालाई आज धेरैले वैदेशिक रोजगारीबाट फर्किएर उदाहरणीय काम गर्ने उद्यमी भनेर चिन्छन् । यो देशमा केही हुन्न भन्ने सोचले ब्युटीपार्लरमा काम गर्न खाडी पसेकी उनी आज आफ्नै माटोमा ‘सुन’ फलाइरहेको बताउँछिन् । तीन सन्तानकी आमा शर्मिला काठमाडौं र भोजपुरमा गरी कुल २८४ रोपनी जमिनमा तरकारी, फलफूल र जडिबुटी खेतीदेखि कुखुरा पालनसम्म गरिरहेकी छन् । मनग्य आम्दानी गरिरहेको उनको उद्यमले ६० जनालाई रोजगारी पनि दिएको छ ।

दुधे बालक छाडेर खाडी

गोरखाको आरुपोखरीमा जन्मिएकी शर्मिला दुःखको अनुभव नगरी हुर्किइन् । विवाहपछिचाहिँ उनलाई कमाउन विदेश नगए परिवारको जग बस्दैन भन्ने लाग्यो ।

श्रीमान् पनि वैदेशिक रोजगारीका लागि दुबईमा थिए । ‘केही वर्ष दुवैले कमाए छिटो जग बस्छ भन्ने भयो’, शर्मिला भन्छिन्, ‘अनि साढे तीन वर्षको छोरा बाबु–आमाको जिम्मा लगाएर म पनि २००८ जनवरीमा दुबई गएँ ।’

भिजिट भिसामा दुबई पुगेकी उनले एक वर्ष घरेलु सहयोगीको काम गरिन् । त्यो अवधिमा श्रीमान नरबहादुर राउतसँगै भए पनि दुधे छोराको याद र हातमा सीप नहुँदाको पीडाले कयौंपटक रोएको उनी बताउँछिन् । अनि नेपाल फर्किएर ब्युटिसियन तालिम लिएर उनी फेरि दुबई गइन् ।

तालिम लिएर गएपनि काम हेल्परकै रुपमा गर्नुपर्थ्यो । पारिश्रमिक पनि ठीकठिकै मात्र । त्यसै गर्दै शर्मिलाले दुबईमा सात वर्ष बिताइन् । एकपटकको बिदामा घर भोजपुर फर्किएपछि शर्मिलालाई विदेश बस्न मन लागेन ।

‘त्यहाँ जमिन नभएकाहरु पनि भाडाको खेतबारीमा अलैँची, किवी र अनेकथरी तरकारीको खेती गरेर राम्रै आम्दानी गरिरहेका थिए’, उनी भन्छिन्, ‘अनि मैले पनि श्रीमानको पुर्ख्यौली सम्पत्तिमा कृषि कर्म गर्ने योजना बनाएँ ।’

अनि जन्मियो राम–लक्ष्मण कृषि फर्म
आफ्नै भूमिमा उद्यम् गर्ने सल्लाह भएपछि सन् २०१५ दुवै जना नेपाल फर्केर कीर्तिपुरमा जोडेको केही आना जग्गा बैंकमा धितो राखेर नजिकै ६ रोपनी भाडामा लिए । शर्मिला भन्छिन्, ‘कृषिसम्बन्धी ज्ञान थिएन, स्वदेशमै पसिना बगाउने भन्ने एकोहोरो सोचले काम थालियो ।’

उनीहरुले जुम्ल्याहा छोराबाट फार्मको नाम ‘राम–लक्ष्मण’ जुराएर कृषि विकास बैंकको छ लाख ऋणमा नौ थरी तरकारी खेतीमा लगाए । मुख्य उत्पादनचाहिँ टमाटर हुन पुग्यो । शर्मिला भन्छिन्, ‘अर्को वर्ष आम्दानी हिसाब गर्दा १२ लाखभन्दा उकालो चढेपछि हौसला बढ्यो ।’

व्यवसाय विस्तार

उत्पादन र नाफा ग्यारेन्टी जस्तै भएपछि थप ऋण लिएर काम गर्न आँट पनि आएको उनी बताउँछिन् । उत्पादन र मूल्य पाएपछि ऋणको भार घटाउन गाह्रो भएन । ‘इमान्दार ऋणी’लाई बैंकले पत्याउने भइहाल्यो । शर्मिला भन्छिन्, ‘अनि सितापाईलामा १२८ रोपनी जग्गा भाडामा लिएर साझेदारीमा ‘मैत्री मंगलम कृषि फार्म’ सुरु गर्यौं ।’
एकबहादुर स्याङतानसँग मिलेर चलाएको कृषी फार्मले अहिले ‘एकको १० बराबर’ फाइदा दिइरहेको छ । त्यहाँ ४० जनाले काम गर्छन् । एक दिन बिराएर टिप्दा ८० क्रेट गोलभेंडा निस्कन्छ । एक पटकमा ३४ सय बोइलर कुखुरा र ३५ सय अण्डा पार्ने लेस कुखुराबाट पनि नियमित आम्दानी हुन्छ ।

‘भोजपुरमा पनि १५० रोपनीमा अलैंची, किवी, टिम्मुर आदिको खेती र नर्सरी गरेका छौं’, शर्मिला भन्छिन्, ‘त्यहाँको फार्ममा २० वटा राँगा र २२–२५ वटा बाख्रा पनि छन् ।’

छ लाखबाट सुरु गरेको कृषि उद्यम अहिले बेच्नका लागि हिसाब गर्ने हो भने तीन करोडभन्दा बढीको भएको शर्मिला बताउँछिन् । सुरुको साढे तीन वर्षमा राम–लक्ष्मणमा ६ लाख, मैत्री मंगलमा ५० लाख र भोजपुरमा ३० लाख हाराहारी लगानी भएको उनले बताइन् । उनी भन्छिन्, ‘सबै खर्च कटाएर मासिक केही लाख बचाउन सक्ने भएका छौं ।’

विदेश बसेकोमा पछुतोश्रीमान्–श्रीमती दुवैले विदेशमा बिताएको समय र गरेको दुःखसँग स्वदेशको छ रोपनी जमिनमा सुरु गरेको कामले दिएको प्रतिफल तुलना गर्दा अहिले पछुतो लाग्ने शर्मिला बताउँछिन् । ‘सुरुमै जे सक्छु, दिमागले जे भ्याउँछ, त्यही गरेको भए यो क्षेत्रमा अहिले पुरानो भइसक्थें, ६० जना होइन योभन्दा दोब्बरलाई रोजगारी दिएको हुने थिएँ होला’, उनी भन्छिन्, ‘घरको करेसोमा सुन फलेको नदेखेर किन विदेश गयौं, अझ किन जाँदैछौं भन्ने प्रश्न मेरो मनमा उठ्छ ।’

उनलाई यो पनि लाग्छ– लामो समय विदेश नबसेको भए इष्टमित्र र आफन्त पनि आजको भन्दा धेरै हुने थिए होलान् । त्यसैले शर्मिलाको सुझाव छ– रहरले कोही विदेश नजाऔं । उनी भन्छिन्, ‘सुरुवाती पुँजी बनाउन, केही सिक्न विदेश जान सकिन्छ, तर धेरथोर पुँजी भएकाहरुले यो देशमा केही हुन्न, सबै बर्बाद भयो भनेर देश छाड्नुचाहिँ पछि पछुताउने सिवाय केही हुन्न ।’

हेर्नुहोस् भिडियो :

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?