Comments Add Comment

यसरी गरौं दिनको सुरुवात, शरीर हरक्षण फुर्तिलो रहन्छ

विहान उठ्नसाथ के गर्नुहुन्छ ? यो प्रश्न भन्दा पनि अगाडि तपाईंको उठ्ने समय महत्वपूर्ण छ । कुन समयमा उठ्नुहुन्छ ? विहान सबेरै उठ्नुहुन्छ वा ढिलो ? उठ्ने समय नियमित छ वा अनियमित ?

अहिले हामी उठ्ने समयप्रति उति ख्याल गर्दैनौं । बिहानभर न्यानो ओछ्याउन छाड्न नपरे हुन्थ्यो भन्ने सोच्छौं । बिहान घाम झुल्किएपछि आँखा त खोल्छौं तर ओछ्यान छाड्न जाँगर चल्दैन । ओछ्यानमै पल्टिएर मोवाइल खेलाउन थाल्छौं । मोवाइलमा फेसबुक चलाउन थाल्छौं, युट्युबका भिडियो हेर्न थाल्छौं ।

जब हामी सामाजिक सञ्जालमा जोडिन्छौं, त्यहाँ नानाथरीका प्रसंगहरु फेला पर्छन् । भिडियो हेर्न थालेपछि त्यहाँ अनेकथरीका सामाग्रीहरु भेट्छौं । अब हामी ति सामाग्री हेर्दाहेर्दा आफ्नो मुड बदल्न पुग्छौं । कहिले हिंस्रक खबर हेर्छौ, कहिले उत्तेजित बनाउने, कहिले दुःखी तुल्याउने । अक्सर उत्प्रेरणा जगाउने, सकारात्मक भाव पैदा गर्ने सामाग्री हामी हेर्ने गर्दैनौं । धेरैजसो त हत्या, हिंसा वा विकृतीजन्य घटनाले हामीलाई आकषिर्त गर्छ । यसरी दिनको सुरुवात नै खराब मुडबाट हुन्छ ।

त्यसपछि अल्छी मान्दै उठ्छौं । खाना खाइरहँदा, कार्यलयमा काम गरिरहँदा हामीलाई बिहानकै कुराले पच्छ्याइरहन्छ ।

वास्तवमा दिनको सुरुवात सही र सकारात्मक ढंगबाट गर्न सकियो भने हामी दिनभर उर्जाशिल रहन्छौं । बिहानको कर्मले हामीलाई दिनभर ताजा राख्छ । त्यसैले हाम्रो दिन राम्रो र सार्थक ढंगले बित्छ । अतः बिहानको सुरुवात कसरी गर्ने त ? यसमा हामीले केही कुरा ख्याल राख्नुपर्छ ।

सूर्योदयअघि उठ्ने

संभव भएसम्म हामीले सूर्योदयअघि नै उठ्ने बानी गर्नु राम्रो हुन्छ । जब हामी बिहान सबेरै उठ्छौं, ताजापन अनुभूत गर्छौं । सूर्योदयअघि वहने हावा शुद्ध हुन्छ भनिन्छ । त्यसैले हाम्रा पूर्खाहरुले ब्रम्हा मुहूर्तमा उठ्नुपर्छ भन्दै आए । यतिबेला वायुमण्डलमा प्राणवायु वहन्छ । विहानको सूर्यको किरणले जब शरीरमा स्पर्श गर्छ, बेग्लै उर्जा अनुभव हुन्छ । यसले हामीमा सकारात्मक भाव पनि पैदा गर्छ ।

टहल्नुहोस्

बिहान सबेरै उठेपछि शौचक्रिया गरेर बाहिर टहल्नुहोस् । बगैंचा, छत वा बाटोमा यताउता हिँडडुल गर्न सकिन्छ । संभव भएसम्म केही समयका लागि पैदल यात्रा गर्नुहोस् । फटाफट हिँड्नुहोस् । यसरी हिँड्दा तपाईंको मुटु, फोक्सो अरु बढी गतिशिल हुन्छ । शरीरमा शुद्ध अक्सिजन प्रवेश हुन्छ । जब शरीरमा पर्याप्त शुद्ध अक्सिजन मिल्छ, दिनभर तपाईंले ताजा अनुभव गर्न सक्नुहुन्छ ।

ध्यान गरौं

ध्यान गर्ने अभ्यास गरौं । ताजा हावामा ध्यान बस्नुको आफ्नै फाइदा छन् । खुला ठाउँमा बस्नुहोस् र ध्यानको अभ्यास गर्नुहोस् । यसले तपाईंको मनलाई शान्त र स्थिर तुल्याउँछ । बिहान कम्तीमा पाँच मिनेट ध्यान अभ्यास गरियो भने पनि धेरै लाभ मिल्छ । त्यससँगै प्राणायाम गरौं ।

प्रकृतिप्रति कृतज्ञ रहनुहोस्

हामी सधै अरुबाट अपेक्षा गर्छौं, आशा राख्छौं त्यसैले दुःखी हुन्छौं । यद्यपि हामी अरुप्रति कृतज्ञ हुने हो भने हामीलाई सन्तोष मिल्छ, खुसी मिल्छ । सूर्योदयको दृश्य हेर्नुहोस्, वरीपरीको वातावरण हेर्नुहोस्, रुख, फूल नियाल्नुहोस्, डाँडापाखा हेर्नुहोस्, आकास हेर्नुहोस् । यी सबै दृश्यहरुले पनि तपाईंलाई खुसी दिलाउँछ । यी खुसीका स्रोत हुन् । अतः आफुलाई खुसी दिलाउने प्रकृतिसँग कृतज्ञ रहनुहोस् ।

ताजा फलफूल वा खानेकुरा खानुहोस्

बिहानको समय बासी वा धेरै मसलेदार, तारेको, भुटेको खानेकुरा खाने नगरौं । बिहानको खाली पेटमा ताजा, सुपाच्य, पोषिलो खानेकुरा खाऔं । सलाद, फलफूल, सातु, दुध, दही आदि भोजनबाट दिनको सुरुवात गरौं ।

प्रेरणादायी संगीत सुनौं

दिनभरका लागि खुसी र सकारात्मक रहन तपाईंलाई संगीतले पनि साथ दिनेछ । बिहान कुनै राम्रो भजन वा गीत सुन्ने गरौं । मधुर संगीतले तपाईंको मुड ठिक गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment