Comments Add Comment

कस्तो छ जोन अब्राहमको बाटला हाउस ?

अभिनेता जोन अब्राहम जहिलेदेखि निर्माता बनेका छन्, आफ्नो निर्माणमा बन्ने फिल्महरुको विषयहरुलाई लिएर सधैं आश्चर्यजनक कार्य गर्दै आइरहेका छन् । वीर्यदानको विषयमा बनेको विकी डोनर होस् अथवा राजीव गान्धी हत्याकाण्डमा आधारित मद्रास क्याफे होस्, निर्माताको रुपमा जोन अब्राहमलाई बहुआयामीक विषयले लोभ्याउँदै आएका छन् । यसैबीच, उनी पुनः एकपटक त्यस्तै प्रकारको फिल्म लिएर दर्शकमाझ आएका छन्, फिल्मको नाम हो बाटला हाउस ।

दिल्लीमा भएको बम ब्लास्टपछि दिल्ली पुलिसले आरोपीहरुलाई खोजिरहेको थियो । त्यसैक्रममा दिल्ली पुलिसले के कुराको जानकारी पाउँछ भने आरोपीहरु जामिया नगर इलाकाको बाटला हाउसमा लुकेर बसेका छन् ।

उनीहरुलाई गिरफ्तार गर्न सम्भव नभएपछि प्रहरीले त्यहाँ इन्काउन्टर गर्नुपर्छ । उक्त इन्काउन्टरलाई लिएर समुदायका प्रभावशाली व्यक्तिहरुमा आक्रोश फैलिन्छ । उक्त घटनालाई राजनीतिकरण समेत गरिन्छ । प्रहरीको स्पेशल सेलमाथि परेको दबावका कारण मुद्दासमेत चल्छ ।

सञ्चार माध्यमको दबाव, जनताको दवाव, राजनीतिक उतार-चढावका बीच उक्त इन्काउन्टरलाई निर्दोषहरुको हत्या गरिएको पनि भनिन्छ । आफ्नो बहादुरीका लागि देशभरबाट सबैभन्दा बढी मेडल पाउने प्रहरी अधिकृत सन्जीवकुमार यादवलाई अचानक हत्याराको संज्ञा प्रदान गरिन्छ । त्यस्तो परिस्थितीमा दिल्ली पुलिसको स्पेशल सेलले आफूलाई निर्दोषमात्र सावित गर्दैन, विद्यार्थीहरुको भेषमा लुकेका इन्डियन मुजाहिदका ती आउटफिटहरुलाई समेत पर्दाफाश गर्न सफल हुन्छ ।

फिल्मका निर्देशक निखिल आडवाणीले जसरी उक्त जटिल कथालाई फिल्मको रुप प्रदान गरेका छन्, उनी वास्तवमै प्रशंसाको हकदार बनेका छन् । सशक्त तथा बुद्धिमत्ताले भरिएको पटकथा, दह्रो कथा तथा लगातार दर्शकलाई व्यस्त राख्ने टि्रटमेन्टले फिल्मलाई एउटा छुट्टै उचाइ प्रदान गरेको छ ।

अभिनयको दृष्टिकोणले हेर्ने हो भने सन्जीवको चरित्रमा अभिनय गरेका अभिनेता जोन अब्राहमको यो अहिलेसम्मको सबैभन्दा उत्कृष्ट फिल्म मान्न सकिन्छ । नन्दिता यादव -मृणाल ठाकुर), जसले लभ सोनिया जस्तो उत्कृष्ट फिल्ममा काम गरिसकेकी छिन्, उनले पनि यो फिल्ममा उत्कृष्ट प्रस्तुति दिएकी छिन् । यसबाहेक राजेश शर्मा, मनीष चौधरीको अनुभवी उपस्थितीले फिल्मलाई अझ सशक्त बनाएको छ ।

थुप्रै सुपरहिट आइटम नम्बरमा डान्स गरिसकेकी नोरा फतेहीलाई बलिउडमा अभिनेत्रीको रुपमा पनि हेर्न थालिएको छ ।

समग्रमा बाटला हाउस एउटा उत्कृष्ट फिल्म बन्न सफल भएको छ । एउटा जटिल विषयमा बनेको यो फिल्मले दर्शकको मन जित्न सक्ने कुरामा दुईमत छैन । विषयवस्तुको जटिलताका बीच पनि के कुरालाई ध्यानमा राखिएको छ भने फिल्म हेर्ने दर्शकको ध्यान एक क्षणको लागि पनि यता-उता नजाओस् । यो कुरामा पनि बाटला हाउस सफल देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment