
१ भदौ, काठमाडौं । प्रजातान्त्रिक विचार समाजले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा निर्दोष व्यक्ति फस्ने अवस्था आउन नदिन सरकारलाई आग्रह गरेको छ । आइतबार विज्ञप्ति जारी गरी समाजले घटनामा विश्वसनीय र भरपर्दो अनुसन्धान गर्न र निर्दोष नफस्ने अवस्था सिर्जना गर्न माग गरेको हो ।
पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्यालाई दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरीले न्युज २४ टेलिभिजनका प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।
‘पत्रकार लामिछानेले अनुसन्धान कार्यलाई पूर्ण सहयोग गर्छु भनिरहेको सन्दर्भमा सरकारले विश्वसनीय र भरपर्दो अनुसन्धान गरोस र निर्दोष नफसुन भन्ने यो समाज अपेक्षा छ । अन्यथा प्रजातान्त्रिक विचार समाज समेतका विभिन्न नागरिक समाज सार्वजनिक विरोधका कार्यक्रम गर्न बाध्य हुने जानकारी समेत गराउँदछ’ अध्यक्ष केदारनरसिंह केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
समाजले लामिछाने कार्यरत सञ्चार गृहमा अनाधिकृत रुपमा प्रहरी प्रवेश गरी पक्राउ गर्नुले सञ्चार गृहको स्वायत्तता र मर्यादामाथि हस्तक्षेप भएको पनि बताएको छ । ‘यो घटनाले कुनै पनि बेला, कुनै पनि व्यक्ति पर्न सक्ने, सञ्चार गृहमाथि प्रहरी हस्तक्षेप गराइने र गर्ने सम्भावना स्पष्ट भएको ठान्दछ’ विज्ञप्तिमा भनिएको छ ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा विरोधाभाषी अनेक प्रकारका चर्चा सार्वजानिक भएको भन्दै समाजले यो विषयमा गम्भीर र निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ । समाजले पत्रकार पुडासैनीको मृत्युअघिको भिडियोलाई विवादास्पद भनेको छ ।
प्रतिक्रिया 4