Comments Add Comment

रवि लामिछानेका १४ समर्थकविरुद्ध मुद्दा दर्ता

५ भदौ, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेको पक्षमा प्रर्दशनमा उत्रिएका प्रर्दशनकारी क्रमशः घट्न थालेका छन् ।

माउन्टेन टीभीका पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका रवि लामिछानेसहित तीनजनालाई जिल्ला अदालत चितवनले मंगलबार थप ५ दिन म्याद थप गरेपछि सडकमा आन्दोलनकारी घटेका हुन् ।

चितवनमा बुधबार घाम पनि निकै चर्को लागेको थियो । युट्युबरहरु पनि निकै कम मात्रै देखिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दीपेन्द्र शाहले अन्य दिनभन्दा प्रर्दशनकारीको संख्या बुधबार निकै कम भएको बताए । प्रदर्शनकारी कम भएसँगै प्रहरी जनशक्ति परिचालन खासै नगरिएको उनको भनाइ छ ।

विभिन्न अन्य जिल्लाबाट समेत व्यक्तिहरु आएर प्रर्दशन गरेको चितवन प्रहरीले जनाउँदै आएको छ । डीएसपी शाहका अनुसार पूर्वको झापादेखि काठमाण्डौं, पोखरा, बाग्लुङबाट समेत मानिसहरु प्रदर्शनमा सहभागी भएका थिए ।

‘आन्दोलनमा आए फोटो खिचाए, युट्युवमा हाले गए’ डीएसपी शाहले भने, ‘मुद्दाको प्रकृया लम्बिएपछि उनीहरु घर फर्किए ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्र गिरीले अन्य दिनभन्दा बुधबार ट्राफिक व्यवस्थापनमा सहजता भएको बताए ।

‘विगत पाँच दिनदेखि ट्राफिक व्यवस्थापन असहज भएको थियो, आज त्यस्तो छैन, आन्दोलनकारी घटेका छन्’ ट्राफिक प्रहरी प्रमुख गिरीले भने, ‘पूर्वपश्चिम राजमार्गमा नै बन्द गराउन खोज्दा हामीले केही व्यक्तिलाई पक्राउ पनि गरेका छौं ।’

पक्राउ परेका १४ जनाविरुद्ध मुद्दा दर्ता

रवि लामिछाने रिहाइको माग गर्दै भरतपुरमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जनाबिरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।

प्रदर्शनलाई भड्काउन खोज्ने, प्रहरीमाथि नै जाइलाग्ने र भिडलाई उत्तेजित पार्ने कार्य गरेको हुनाले उनीहरुलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए ।

प्रदर्शनका क्रममा पक्राउ परेका २३ जनामध्ये १४ जनाविरुद्ध मुद्दा दर्ता भएको उनले जानकारी दिए ।

प्रहरीले साउन ३२ गते ४ जना, भदौ २ गते १० जना र मंगलबार ९ जनालाई पक्राउ गरेको थियो । पहिलो दिन पक्राउ परेका ४ जनाको मुद्दा जिल्ला प्रशासन कार्यालय चितवनमा पेश भएर जनही पाँच/पाँच सय रुपैयाँ धरौटीमा छुटेको प्रवक्ता कोइरालाले बताए ।

शालिकराम पुडासैनीले झुण्डिएर आत्महत्या गरेपछि लामिछानेसहित अन्य दुई जनालाई चितवन प्रहरीले गत साउन ३० गते राति पक्राउ गरेको थियो । पुडासैनी आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछानेलाई फसाउन खोजिएको आशंकामा साउन ३१ गतेदेखि नै भरतपुर क्षेत्रमा प्रदर्शन भएको थियो ।

भरतपुरको चौबीसकोठी र अस्पताल रोडमा प्रर्दशनकारीले प्रर्दशन गरेपछि प्रहरीसँग पटक-पटक झडपसमेत भएको थियो । अस्पताल रोडमा प्रर्दशन नगर्न प्रहरीले निषेधाज्ञा पनि जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment