Comments Add Comment

जंगबहादुर राणाको त्यो बेलायत यात्रा

भीमसेन थापा आफैं बेलायत जान कस्सिएका थिए । त्यतिबेला रणबहादुर शाहकी कान्छी रानी त्रिपुरा सुन्दरीको निकै नजिक थिए, भीमसेन । उनले भनेपछि रानी लालमोहर लगाइहाल्थिन् ।

त्रिपुरा भर्खरकी थिइन्, विवाह भएको एक वर्षमै विधवा भएकी । कसैकसैले उनलाई भीमसेन थापासँगै बसेकी पनि भनेका छन् तर, प्रमाणविनाको शंकाको कुरा हो यो ।

गिर्वाणयुद्ध विक्रम शाहका छोरा राजेन्द्रविक्रमलाई भीमसेन थापाले के–के गरेका छन् भन्ने थाहा थियो । राजा भएपछि भीमसेन थापालाई निकाल्नुपर्छ भन्ने उनलाई लागेको थियो । उनले बिजुली गारत खडा गरेर त्यसको हाकिम माथवरसिंह थापालाई बनाए ।

त्यसपछि दरबारमा खेल शुरु हुन थाल्यो । पाँडेहरू जेठी रानीको पक्षमा र थापाहरू कान्छी रानीतिर लागे । यहीबीचमा जेठी रानीले राजकुमारलाई विष खुवाएको आरोप लगाएपछि भीमसेन काठमाडौंबाट भागेर गोरखाको बोर्लाङस्थित घर गएर बसे । मुद्दा चल्यो, पछि सफाइ पाए ।

भीमसेनको पतनपछि पाँडे खलक बलियो भयो, राजगुरु रंगनाथ पौडेल मुख्तियार भए । दरबारमा शक्ति हत्याउने खेल भने रोकिएन । त्यहीबीचमा जंगबहादुर कुँवरको उदय भयो । उनी माथवरसिंह थापालाई मारेर शक्तिमा आए ।

त्यसबेला नेपाल दरबारमा गगनसिंह खवास शक्तिशाली थिए । उनी पनि रानीसँग बसेका भन्छन् । त्यो कुरा राजालाई थाहा थियो र नै, एक रात खवास मारिए । उनी मारिएपछि रानी आगो भइन् । उनले जंगबहादुरलाई ‘मेरा शत्रु जति सबैलाई कोतमा बोलाएर काट्’ भनिन् ।

कोतमा पनि रानी उफ्रिन थालेपछि राजा राजेन्द्रविक्रम डरले भागे । ‘मुख्य चौतारिया फत्तेजंग आएनछ, त्यसलाई लिएर आउँछु’ भन्दै निस्केका राजा लैन (ब्रिटिस रेजिडेन्सी)तिर लागे । त्यहाँ बस्न नदिएकाले राजा फर्केर आउँदा कोतमा ३० जना भारदार काटिइसकेका थिए ।

कोतपर्वपछि जंगबहादुरले रानीबाट सबै अधिकार पाए । आफ्नो हातमा अधिकार आएपछि उनी आफ्नै तरिकाले चल्न थाले । जंगले भनेको मान्न छाडेपछि रानीले बचेखुचेको भारदार एकत्रित गर्न थालिन्, भण्डारखालमा बोलाएर जंगलाई छ्याप्पै पार्ने योजना बन्यो । विजयराज पाँडेले त्यो पोल खोलिदिएपछि रानीकैविरुद्व भण्डारखाल पर्व हुन पुग्यो, सारा बस्नेत काटिए ।

त्यसअघि दरबारमा संग्रालो भइरहेकै बेला माथवरसिंह थापाको नेतृत्वमा आठजना बेलायत जान भनेर काठमाडौंबाट कलकत्ता हिँडेको थियो । त्यो भ्रमण दलमा जंगबहादुर सबभन्दा कान्छो सदस्य थिए । तर, कलकतामा रहेको इष्ट इण्डिया कम्पनीको मुख्यालयमा ‘तिमी नेपालको राजप्रतिनिधि होइन, पर्यटकको रुपमा मात्र वेलायत जानसक्छौ’ भनिएपछि माथवरसिंह अपमानित भएको ठानेर नेपाल फर्किए ।

त्यसरी फर्किएका जंगबहादुरले आफू शक्तिमा आएपछि बेलायत यात्राको लागि लागि पनि तयारी थाले । त्यसबेला खसहरूले बस्नेत, पाँडेका छोरी विवाह गर्न पाउँदैनथे । त्यसकारण, उनले आफ्नो जात बढाउने काम गरे । पण्डितको टोली भारत पठाएर ‘महाराणा प्रतापको फलना भाइ नेपाल गएको’ भनी शिलापत्र राख्न लगाए । अनि ‘हामी त कुँवर होइन, राणा रहेछौं’ भन्न थाले ।

त्यसपछि राजा रणबहादुर शाहले हरण गरेको बिर्ता फिर्ता गर्ने प्रबन्ध मिलाए । त्यसपछि त सारा जागीरदार–जमिनदार र जग्गा कमाउनेहरू ‘जय जंग, जय जंग’ भन्न थालिहाले । त्यसपछि जंगबहादुरले बेलायत यात्रा गर्ने तयारीमा लागे ।

उनी राजप्रतिनिधि भएर राजकीय भ्रमणमा जाने भए । १९ तोपको सलामी पाउने पक्कापक्की गरेर बेलायत हिँडेका उनी केही माग्न होइन, दिन र देखाउन गएका थिए । शीरदेखि पाउसम्म हिरा, जवाहरत, मणिमाणिक्यले झकिझकाउ भएर गएका उनले महारानी भिक्टोरियालाई दिन भारीका भारी उपहार लगेका थिए ।

जंगबहादुर कलकताबाट महिनौंको पानी जहाज यात्रापछि वेलायत पुगे । ‘जंगबहादुर उडेको चरा खसाल्थे’ भन्ने किस्सा त्यतिबेलाकै हो । जहाजको डेकमा उभिएर बन्दुक चलाउँदा अंग्रेजहरूले उडिरहेका समुन्द्री चरा खसाल्न नसक्ने रे, तर जंगको कुनै निशाना नचुक्ने रे ।

उनी ८०–८१ दिन वेलायत बसे । ४० दिन फ्रान्समा बसेछन् । त्यहाँ रंगरस पनि उत्तिकै गरेछन् । रात्री पार्टीहरु ह्वार–ह्वार असर्फी छर्ने रे । अनेक लीला–प्रभाव र शंकेतहरुबाट श्वेत रमणीहरुलाई हुरुक्कै पारेका रे । उनले उताबाट युवतीहरु ल्याउन चाहिँ ल्याएनन् । यता जंगका विवाहित श्रीमती नै ३५–३६ जना थिए ।

युरोप यात्रामा धनदौलत छरेको देखेर सल्लाहकारहरूले ‘खर्च बढी भयो कि’ भन्दा जंगबहादुर ‘म यहाँ दिन र देखाउन आएको हुँ’ भन्थे रे । अहिले चाहिँ माग्न नै जाने चलन बसाएका छन् नि । राजकीय भ्रमण भने पनि माग्न नै जाने हो ।

जंगबहादुरले महारानी भिक्टोरियालाई कति गैंडाका खाग, हस्तीहाडबाट बनेका सामान, असर्फी, देवदेवीका प्रतिमा, गहना उपहार दिए भन्ने कुरा खुल्दैन । उनको सम्मानमा महारानीले आयोजना गरेको पार्टीमा महारानी नाचिछिन् ।

जंगबहादुर मुन्टो हल्लाउँदै ताली बजाएर बसेको देखेर महारानीले ‘तिमी अंग्रेजी बुझ्दैनौं, र पनि मजा मानिरहेका छौं नि भनेर सोध्दा जंगले फ्याट्टै भनेछन्, ‘चराको भाषा कसले बुझ्छ र ! र पनि, त्यसले सबैलाई मोहित बनाउँछ । त्यस्तै हो संगीत पनि ।’

अर्को प्रसँगमा महारानीले जंगबहादुरलाई भनिछिन्, ‘मैले एउटा छक्क पर्ने कुरा सुनेँ, तिम्रो देशमा त मान्छेले मान्छेलाई बोकेर लैजान्छन अरे । मान्छेका पिठ्युँमा बोकिएर मान्छे हिंड्नु भनेको त ठीक कुरा भएन । मेरो रेलवे कम्पनीहरु छन् । म नेपाल पठाइदिन सक्छु ।’

जंगबहादुरले नेपालमा धेरै पहाड–पखेरा भएकोले रेल उपयुक्त नहुने बताएपछि भिक्टोरियाले आफुले दिएको तराई पनि छ भन्ने सम्झाइन् रे । तर, जंगले कहिल्यै रेलमा रुचि देखाएको देखिँदैन ।

बेलायतपछि फ्रान्स आएका जंगबहादुर रासलीलामा रुचि राख्छन् भन्ने थाहा पाएर दलालहरूले वेश्यालय लगेछन् । वेश्यागमन पछि उनले प्रायश्चितका उपायहरु सोधेर विजयराज पण्डितलाई पत्र लेखेको प्रमाण छ ।

जंगबहादुरले वेलायतमा पनि रवाफ देखाउन त्यो समयको सबभन्दा महंगो ‘कलगर्ल’ लाउरा बेललाई अढाई लाख रुपैयाँ दिएका थिए रे । उनले नगद होइन, त्यति मूल्यका हिरा लगायतका सामग्री दिएको हुनुपर्छ ।

कमलमणि दीक्षितले झकिझकाउ भएर वेलायत गएका जंगबहादुर फुस्रा भएर फर्किएको भनेर लेखेका छन् । हुन पनि, फर्किदा फ्रान्समा बाजुहरू समेत सकिएका थिए रे । खल्ती छामछुम गर्दा केही नभेटिएपछि उनले घाँटीमा बाँकी रहेको माला फुकालेर बाँडेका थिए रे ।

जंगबहादुर वेलायतमा रहँदा पनि अनेक किस्सा छन् । एक दिन उनी महारानीसंग बग्गीमा कतै जाँदै रहेछन् । अचानक फुटपाथको भीडबाट एक व्यक्ति फुत्त उफ्रेर आएर महारानीलाई थप्पड हानेर भागेछ । जंगबहादुर फुत्त तरबार कैँचेर त्यसको पछि लाग्न खोज्दा महारानीले ‘यहाँ त्यसरी मान्छ मार्न हुँदैन, प्रहरी छ, पक्राउ गरिहाल्छ’ भनेर रोकिछन् ।

त्यसपछि कोही बेलायती ठूलो मान्छेसँग भेट भयो कि जंगले महारानीलाई थप्पड हान्नेलाई के कारवाही भयो भनेर सोध्थे रे । पछि त्यस व्यक्तिलाई दुई महिना कैद सजाय भयो भनेको सुन्दा जंगबहादुर छक्क परेछन् । त्यही घटनाबाट जंगबहादुरमा ऐन बनाउनु पर्छ भन्ने सोच आयो भन्नेहरू पनि छन् ।

(वार्तामा आधारित)

तस्वीरहरूः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment