+
+
Shares

सुन तस्करीमा जोडिएका चलाउनेको ३२ ठाउँमा जग्गा, २ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा

अहिले फेरि १७ जनालाई प्रतिवादी बनाउँदै सम्पत्ति शुद्धीकरण कसुरको अर्को मुद्दा दर्ता भएको छ । त्यसमा प्रत्येक व्यक्तिको हकमा छुट्टा छुट्टै बिगो कायम गर्दै मुद्दा दायर भएको छ । तर प्रतिवादी भने सबैजसो फरार छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १२:४०

१८ कात्तिक, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएर फरार रहेका जीवन चलाउनेसहित १५ व्यक्ति र २ कम्पनी गरी १७ जनाविरुद्ध सम्पत्ति शुद्धीरणको मुद्दा दायर भएको छ ।

बर्दियाको गेरुवा गाउँपालिका–४ स्थायी ठेगाना भएका चलाउनेसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै सम्पत्ति शुद्धीकरण विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

अनुसन्धान प्रतिवेदनका अनुसार फरार रहेका चलाउनेको काठमाडौंदेखि झापासम्म ३२ ठाउँहरुमा जग्गा भेटिएको छ । सुन प्रकरणमा जोडिएर फरार रहेपछि उनको सम्पत्ति विवरण खोजी गर्दा ३२ ठाउँमा जग्गा भेटिएको हो । ३२ ठाउँका जग्गाको मूल्य १५ करोड ३० लाख ५१ हजार बराबर रहेको उल्लेख छ ।

काठमाडौंमा मात्रै चलाउनेको पाँच ठाउँमा जग्गा भेटिएको छ । काठमाडौंका बलम्बु, मुलपानी र गोठाटारमा जग्गा भेटिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

बलम्बुको एक ठाउँमा कित्ता नम्बर १४५१ को ०–२–०–२ क्षेत्रफलको जग्गा भेटिएको छ । बलम्बुमै कित्ता नम्बर १४६१ को ५९.६२ जग्गा भेटिएको छ ।

त्यसैगरी काभ्रेका ९ ठाउँमा चलाउनेको नाममा जग्गा भेटिएको अभियोगपत्रमा उल्लेख छ । यी जग्गाहरु काभ्रेको खनालथोकमा रहेका छन् ।

रौतहटका विभिन्न पाँच ठाउँहरुमा पनि चलाउनको जग्गा भेटिएको छ । यस बाहेक झापाको चन्द्रगढीमा मात्रै १३ ठाउँमा चलाउनेका नाममा जग्गाहरु भेटिएका छन् । यी जग्गाहरु जफतका लागि मागदाबी गरिएको छ ।

चलाउनेले विभिन्न बैंकहरुमा जग्गा धितो राखेर १ अर्बभन्दा बढी कर्जा लिएका थिए । कर्जा नियमित नभएपछि बैंकहरुले जग्गा लिलामी प्रक्रिया अघि बढाएका थिए ।

हिमालयन बैंकको चार महिनाको विवरणमा मात्रै उनले साढे तीन करोड बढीको कारोबार गरेको भेटिएको छ । २२ सेप्टेम्बरदेखि १६ डिसेम्बर २०२२ सम्म मात्रै हिमालयन बैंकमा चलाउने ३ करोड ५२ लाखको कारोबार गरेको देखिने अभियोग पत्रमा उल्लेख छ ।

ठमेलको भियना होटलकी सञ्चालक तथा दावाकी श्रीमती अमला रोका, अछामका जीवन चलाउने र बाराका भोला साह सोनारलाई फरार प्रतिवादी बनाइएको थियो । पक्राउ परेका २६ जनामध्ये रुक्मणी सुब्बा मात्रै ५ लाख धरौटीमा छटेकी थिइन्

चलाउने सञ्चालक रहेको मस्टा गु्रप प्रालिको चुक्ता पुँजी १५ करोड देखिन्छ । सामान मौजदातको रकम ६ करोड ६४ लाख ४६ हजार ४१, मस्टाको नाममा रहेको जग्गा ३० करोड ९८ लाख ७५ हजार र भोगचलन गरेको सम्पत्तिमा २ करोड बराबरको सम्पत्ति विवरण चलाउनको नाममा रहेको उल्लेख छ ।

यो सम्पत्तिका साथै ६० किलो सुन समेत गरी २ अर्ब ७ करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

फरार छन् चलाउने

२ अर्ब बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएका चलाउनेविरुद्ध इन्टरपोलमा नोटिस जारी भए पनि उनी अझै फरार छन् ।

चलाउनेलाई समातेर पनि सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्यले छाडेको डिल्लीराज आचार्य नेतृत्वको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

सुन प्रकरणमा जोडिएका चलाउनेको बेल्जियन नागरिक दावा छिरिङसँग कनेक्सन भेटिएको थियो ।

छिरिङले चलाउनेलाई म्यासेज गर्दै ‘आफूसँग चिनियाँ सुन समूहसँग बिजनेस गर्ने आइडिया’ भएको भनेको पाइएको थियो । त्यसपछि चलाउनेले ‘मैले मिलाएको छु सबै काम, दाइ’ भनेको भेटिएको थियो ।

उनले ‘जिरा’ भन्दै सुनको विषयमा कुुरा गरेको समेत भेटिएको थियो ।

एक बाहेक सबै प्रतिवादी फरार

सम्पत्ति शुद्धीकरणको कसुरमा प्रतिवादी बनाइएका १७ मध्ये एक प्रतिवादी मात्रै अहिले थुनामा छन् । यसअघि नै सुन तस्करी प्रकरणमा पक्राउ परेका दीलिप भुजेल केन्द्रीय कारागार जग्गनाथदेवलमा छन् । बाँकी सबै प्रतिवादी प्रहरीको फरार सूचीमा छन् ।

अहिले प्रतिवादी बनाइएकाहरुमा चलाउनेसँगै चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचेङ, चिनियाँ नागरिक अलि भनिने लि वेन सिंङ, रोगर र स्टेप्स भनिने लि नेनकाई, सुटेन भनिने डिङ सेङ फा, लिन चछ्याङ, टासी भनिने थुप्तिन छिरिङ, भोजपुरका हर्कराज राई, बेल्जियन नागरिक दावा छिरिङ, गुल्मीका सुमन खरेल, बाराका भोला साह सोनार, श्याम थापा, जगतबहादुर धामी फरार छन् ।

यी अधिकांश २४ भदौको जेनजी आन्दोलनमा कारागारबाट फरार भएका हुन् ।

उनीहरुका साथै मस्टा गु्रप र रेडी ट्रेड कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ ।

के हो ६० किलो सुन तस्करी प्रकरण ?

बरामद भएको अवैध सुनको मूल्य ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४० रुपैयाँ कायम गरी सोही अनुसारको बिगो मागदाबी गर्दै १७ असार २०८१ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । अहिले यो मुद्दा विचाराधीन अवस्थामै छ

चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरूपमा काठमाडौं भित्राएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा बरामद गरेको थियो । ब्रेक सुसहित सुनको तौल ६० किलोभन्दा बढी थियो ।

अनुसन्धानका क्रममा टोखामा सुन पगाल्ने कारखानासमेत फेला परेको थियो । त्यहाँबाट चार वटा सुन गाल्ने मेसिन बरामद भएको थियो । १३ साउनमा चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ समातिएका थिए, जो तस्करीको सुन व्यवस्थापक थिए ।

दावाको सम्बन्ध माओवादी केन्द्रका नेताहरूसँग रहेको भन्दै तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेले सुन तस्करीको अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्नुपर्ने माग उठाएको थियो ।

एमालेले आयोग गठनको माग गरिरहेका बेला राजस्व अनुसन्धान विभागले संगठित कसुरमा अनसन्धान गर्नुपर्ने देखिएको भन्दै २० साउनमा सीआईबीलाई अनुसन्धानको जिम्मा दिएको थियो ।

अनुसन्धानपछि सीआईबीले २७ भदौमा जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । जसमा ६० किलो ७७८ ग्राम सुन तस्करी भएको निष्कर्षका साथ ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गर्दै २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

जसमध्ये ठमेलको भियना होटलकी सञ्चालक तथा दावाकी श्रीमती अमला रोका, अछामका जीवन चलाउने र बाराका भोला साह सोनारलाई फरार प्रतिवादी बनाइएको थियो । पक्राउ परेका २६ जनामध्ये रुक्मणी सुब्बा मात्रै ५ लाख धरौटीमा छटेकी थिइन् ।

लि वेन टिसुङ, रोगर भनिने लि नेन्काई, सुटेन भनिने डिङ सेङ्फा, लिन चछ्याङ, टासी भनिने थुप्तेन छिरिङ, दावा छिरिङ, याङ वेन, मी टीएन गरी ९ चिनियाँसहित १६ नेपाली पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

यही सुन प्रकरणको अनुसन्धानमा प्रश्न उठेपछि दलीय सहमतिका आधारमा सरकारले १४ असोजमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी ४ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।

आयोगले १ चैत २०८० मा ४८५ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनको सिफारिसका आाधारमा प्रहरीले सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान अघि बढाएको थियो ।

यो चरणमा सुन कारोबारको रकम सजिलो पे र पेवेल मोबाइल भुक्तानीमार्फत भएको खुलेको थियो । त्यसमा संलग्न ८ जना र सुन तस्करीकै प्रत्यक्ष जोडिएको आरोपमा १२ जना गरी २० जना पक्राउ परेका थिए ।

उनीहरूमाथि पनि अनुसन्धानपछि सीआईबीले तस्करी भएको सुनको परिणाम ३ हजार १९४ किलो ६६८ ग्राम अर्थात् करिब ३१ क्विन्टल भएको निष्कर्ष निकालेको थियो ।

यसरी बरामद भएको अवैध सुनको मूल्य ३० अर्ब ८४ करोड १२ लाख २६ हजार ४४० रुपैयाँ कायम गरी सोही अनुसारको बिगो मागदाबी गर्दै १७ असार २०८१ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । अहिले यो मुद्दा विचाराधीन अवस्थामै छ ।

अहिले फेरि १७ जनालाई प्रतिवादी बनाउँदै सम्पत्ति शुद्धीकरण कसुरको अर्को मुद्दा दर्ता भएको छ । त्यसमा प्रत्येक व्यक्तिको हकमा छुट्टा छुट्टै बिगो कायम गर्दै मुद्दा दायर भएको छ । तर प्रतिवादी भने सबैजसो फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?