News Summary
Generated by OK AI. Editorially reviewed.- मोबाइल फोनको निलो प्रकाशले मेलाटोनिन हर्मोनको उत्पादन रोक्छ, जसले निद्रा ढिलो लाग्ने र गुणस्तर घट्ने वैज्ञानिक रूपमा पुष्टि भएको छ।
- सुत्नुभन्दा १ घण्टा अघि मोबाइल बन्द गर्ने र नाइट मोड प्रयोग गर्नाले निद्रामा पर्ने नकारात्मक असर कम गर्न सकिन्छ।
- मोबाइलको लगातार प्रयोगले आँखामा सुख्खापन, रातोपना र टाउको दुख्ने समस्या बढ्ने नेत्र रोग विशेषज्ञले बताएका छन्।
आधुनिक जीवनशैलीमा मोबाइल फोन अपरिहार्य बनेको छ । सुत्ने बेलामा पनि धेरैजसो व्यक्तिहरू फेसबुक, इन्स्टाग्राम, टिकटक वा युट्युबमा स्क्रोल गर्दै समय बिताउँछन् । मोबाइलको उज्यालोले मस्तिष्कलाई दिनको भ्रम पार्छ, जसले मेलाटोनिन हर्मोनको रिलिज रोक्छ ।
यो हर्मोन अँध्यारोमा मात्र सक्रिय हुने गर्दछ, जसले गहिरो र गुणस्तरीय निद्रा सुनिश्चित गर्छ । परिणामस्वरूप, निद्रा ढिलो लाग्ने, गहिरो सुताइ प्रभावित हुने र शरीरको मर्मत प्रक्रिया अवरुद्ध हुन्छ । जबकि निद्रा खाना र अक्सिजन जत्तिकै आवश्यक छ । शरीरका कोषहरूको पुनर्निर्माण, चोट निको पार्ने र रोगसँग लड्ने काम यसैमा निर्भर गर्छ ।
यस्तोमा सुत्ने बेला मोबाइल चलाउने बानीले निद्राको गुणस्तरलाई प्रभावित पार्छ भन्ने कुराको वैज्ञानिक आधार के छ ? मोबाइल स्क्रिनबाट निस्कने ब्लु लाइटले निद्रामा कसरी असर गर्छ त ?
निद्रा किन महत्वपूर्ण छ ?
निद्रा केवल विश्राम मात्र होइन, यो शरीरका लागि अपरिहार्य प्रक्रिया हो । दिनभरि सक्रिय रहँदा शरीरका कोषहरू क्षतिग्रस्त हुन्छन्, जसलाई राति निद्राको समयमा मर्मत गरिन्छ । निद्रामा शरीरले सेल रिजेनेरेसन, चोटपटक निको पार्ने, रोग प्रतिरोधी क्षमता बढाउने जस्ता काम गर्छ ।
यसबाहेक, निद्राले मस्तिष्कको कार्यक्षमता कायम राख्ने, स्मृति मजबुत बनाउने र भावनात्मक सन्तुलन कायम गर्ने मनोरोग विशेषज्ञ डा. सुमन प्रसाद अधिकारी बताउँछन् ।
‘निद्राका चरणहरूमा डिप स्लिप ‘गहिरो निद्रा’ र रिम स्लिप ‘सपना देख्ने चरण’ मुख्य हुन्छन्’ डा.अधिकारी भन्छन्, ‘डिप स्लिपमा शरीरको शारीरिक मर्मत हुन्छ, जबकि रिम स्लिपमा मस्तिष्कले दिनभरिका घटनाहरू प्रशोधन गर्छ ।’
पर्याप्त निद्रा नहुँदा थकान, एकाग्रताको कमी, मुड खराब हुने र दीर्घकालीन रूपमा मोटोपन, मुटुरोग वा डिप्रेसन जस्ता समस्या निम्तिन सक्ने विभिन्न अध्ययनहरूले देखाएको उनले बताए ।
सामान्यतया स्वस्थ मान्छे ३ देखि ८ हप्ता अर्थात् २१ देखि ५६ दिनसम्म खाना नखाई बाँच्न सक्छ, तर पानी पिउनुपर्छ । यो अवधि व्यक्तिको उमेर, लिङ्ग, शरीरको फ्याट, स्वास्थ्य अवस्था र वातावरणमा निर्भर हुने गर्छ ।
१९८१ मा आयरल्याण्डमा कैदीहरूले भोक हडताल गरे । यसमा १० जना कैदीहरूले ४६ देखि ७३ दिनसम्म खाना नखाई बाँचे तर पानी पिएका थिए । निद्रा बिना मान्छे कति दिन बाँच्न सक्छ भन्ने कुरा वैज्ञानिक रूपमा निश्चित छैन, किनकि पूर्णरूपमा निद्रा नलिई कसैले पनि ११ दिनभन्दा बढी बाँचेको रेकर्ड छैन ।
सबैभन्दा लामो रेकर्ड १९६४ मा र्यान्डी गार्डनरले ११ दिन २५ मिनेट निद्रा नलिई बसेको गिनिज बुकमा रेकर्ड थियो । स्वास्थ्य जोखिमलाई ध्यानमा राखी पछि त्यो हटाइयो।
उनलाई ह्यालुसिनेसन, प्यारानोइड, स्मृति ह्रास, एकाग्रता नहुने जस्ता गम्भीर लक्षण देखिए । प्रयोगपछि उनी ३३ घण्टा लगातार सुते । खाना बिना भन्दा निद्राबिना मान्छे छिटो मर्ने अध्ययनहरूको दावी छ । यस कारण पनि खाना र पानीभन्दा निद्रा बढी आवश्यक हुन्छ ।
मोबाइल फोन स्क्रोल गर्दा निद्रामा कसरी असर पर्छ ?
मोबाइल फोनको प्रयोगले निद्रामा असर पार्ने मुख्य वैज्ञानिक आधार भनेको यसबाट निस्कने निलो प्रकाश हो, जसले मेलाटोनिन हर्मोनको उत्पादनलाई दबाउँछ । मेलाटोनिनले शरीरको आन्तरिक घडी नियन्त्रण गर्छ र निद्रा ल्याउन मद्दत गर्छ । अध्ययनहरूले देखाएका छन् सुत्ने समयमा मोबाइल प्रयोग गर्दा निद्रा लाग्ने समय घट्छ, निद्राको गुणस्तर घट्छ र समग्र निद्रा समय छोटो हुन्छ । जसले निद्रा चक्रलाई बिगार्छ र विशेष गरी किशोरहरूमा यो समस्या बढी देखिएको मनोरोग विशेषज्ञ डा. अधिकारी बताउँछन्।
‘यसबाहेक, स्क्रोलिङले दिमागलाई उत्तेजित बनाउँछ– रिल्स, शर्ट्स वा भिडियोहरूले डोपामिन रिलिज गर्छ, जसले निद्रा लाग्न कठिन बनाउने उनको भनाइ छ ।
२-३ मिनेटमै पनि असर गर्ने भनेर केही अध्ययनहरूले ब्लू लाइटको प्रभावलाई अतिरञ्जित गरेको तर लामो समयको प्रयोगलाई मात्रै यससँग जोड्न सकिने डा.अधिकारीले बताए।
निद्रामा मात्र हैन आँखामा पनि समस्या
स्मार्टफोनको उज्यालो तथा लगातार फोन प्रयोग गर्दा हाम्रो आँखामा नराम्रो असर परिरहेको हुन्छ । अरू बत्ती निभाएर फोनबाट निस्किने मधुरो प्रकाशले सोझै आँखामा असर पुर्याउँछ । जसले गर्दा आँखा सुख्खा हुने, रातो हुने र टाउको दुख्ने समस्या बढ्ने नेत्र रोग विशेषज्ञ डा. प्रतीक्षा अमात्य बताउँछिन् ।
‘त्यसै त दिनभरको कामले आँखालाई आराम मिलिरहेको हुँदैन’ डा. अमात्य बताउँछिन्, ‘त्यसमाथि रातमा सुत्नुअघि समेत स्मार्टफोन प्रयोग गर्नुले आँखा सुख्खा हुने र सुन्निने मात्र नभई चिलाउने समस्या पनि देखिने गर्छ ।’
मोबाइलबाट निस्किने किरण आँखाका लागि हानिकारक हुने गर्दछन् । यस्तोमा लगातार स्मार्टफोन प्रयोग गर्दा आँखाबाट पानी निस्किन थाल्दछ । साथै लगातार स्मार्टफोन प्रयोग गर्दा आँखा झिम्काउने प्रक्रिया पनि सुस्त हुँदै जान्छ । जसका कारण आँखाको सुख्खा हुन थाल्ने डा. अमात्यले बताइन् ।
मानसिक स्वास्थ्यमा पनि समस्या
सुत्नुअघि फोनमा झुन्डिइरहँदा, विशेष गरी सामाजिक सञ्जालमा नकारात्मक कन्टेन्ट हेर्नु वा तनावपूर्ण कुराकानी गर्नुले तनाव र एङ्गजाइटी बढाउँछ भन्ने कुरा वैज्ञानिक अध्ययनहरूले पुष्टि गरेका छन् ।
अमेरिकन साइकोलोजिकल एसोसिएसनको एक अध्ययनअनुसार सुत्नुअघि ३० मिनेटसम्म फोन प्रयोग गर्ने व्यक्तिहरूमा कोर्टिसोल (तनाव हर्मोन) को स्तर उल्लेखनीय रूपमा बढ्छ, जसले निद्रा गुणस्तर घटाउँछ र एङ्गजाइटी ट्रिगर गर्छ ।
यस्तै, जर्नल अफ मेडिकल इन्टरनेट रिसर्चमा प्रकाशित एक मेटा–एनालिसिसले देखाएअनुसार सामाजिक सञ्जालको रातको प्रयोगले सामाजिक तुलना बढाउँछ, जसले डोपामिन लूपलाई बिगारेर मानसिक तनाव उत्पन्न गर्छ । यसैले, सुत्नुअघि फोनबाट टाढा रहनु वा नकारात्मक कन्टेन्ट फिल्टर गर्नु तनाव कम गर्ने प्रभावकारी उपाय हो ।
कसरी बच्न सकिन्छ ?
मोबाइलको कारण निद्रामा पर्ने असर रोक्न स्क्रिन टाइम सीमित गर्नुपर्छ । सुत्नुभन्दा १ घण्टा अघि मोबाइल बन्द गर्ने । किताब पढ्ने वा ध्यान गर्ने जस्ता विकल्प अपनाउन सकिने डा अधिकारी बताउँछन् ।
मोबाइलको ब्लु लाइटको प्रभावबाट बच्न नाइट मोड प्रयोग गर्नुपर्छ । मोबाइलमा ब्लु लाइट फिल्टर सक्रिय गर्नुपर्छ जसले मेलाटोनिन उत्पादनलाई कम प्रभावित गर्ने उनले बताए ।
‘राम्रो निद्राको लागि कोठा अँध्यारो राख्नुपर्छ । जसले मेलाटोनिन रिलिजलाई सहयोग गर्छ,’ उनले भने ।
समग्रमा, सुत्ने बेलामा मोबाइल स्क्रोलिङले वैज्ञानिक रूपमा निद्रा बिगार्छ, जसले स्वास्थ्यमा दीर्घकालीन असर पार्छ । यसलाई नियन्त्रण गरेर राम्रो जीवनशैली अपनाउन सकिन्छ ।
प्रतिक्रिया 4