+
+
Shares

राजमार्गमा विमान अवतरणबारे अध्ययन थालिँदै

प्राधिकरणलाई छलेर सडक विभागलाई जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ४ गते ९:०२

४ भदौ काठमाडौं । राष्ट्रिय राजमार्गलाई धावनमार्गको रुपमा उपयोग गर्ने योजना ल्याएको सरकारले सम्भावित खण्डहरुको अध्ययन गर्ने भएको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा राजमार्गका विभिन्न खण्डलाई धावनमार्गका रूपमा प्रयोग गर्ने भनिएको थियो । यस्तो योजनामाथि पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारीहरुले नै प्रश्न उठाइरहेका छन् ।

सरकारले भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको सडक विभागलाई यो कामका लागि जिम्मा दिएको छ । यसका लागि सडक विभागले तयारी थालेको प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार यो कार्यक्रमलाई वार्षिक योजनामा समेटिएको छ ।

‘यो कार्यक्रमका लागि छुट्टै बजेट विनियोजन भएको छैन,’ उनले भने, ‘तर विभागको परामर्श सेवाका लागि विनियोजित बजेट यस काममा खर्च गर्न सकिन्छ ।’

नेपालगञ्ज–कोहलपुर, बेलहिया–बुटवल, वीरगञ्ज पथलैया लगायतका ६ लेनमा विस्तार भएका र हुँदै गरेका सकडकहरुमा अध्ययन हुने सापकोटाले जानकारी दिए ।

नेपालमा एयरपोर्ट र धावनमार्गको निर्माण हेर्ने निकाय नेपाल उड्डयन प्राधिकरण हो । तर, विभागले अहिलेसम्म प्राधिकरणसँग यसबारे छलफल अघि बढाएको छैन ।

‘अहिले हामीले यस्तो धावनमार्ग निर्माणको निर्णय गरिसकेको छैनौं,’ प्रवक्ता सापकोटाले भने, ‘अध्ययनले गर्न सकिने देखियो भने सडकमा धावनमार्ग बनाउने प्रक्रिया सुरु हुन्छ ।’

जानकारहरुका अनुसार व्यवसायिक उडान भर्ने विमानलाई राजमार्गमा अवतरण गर्ने (हाई–वे स्ट्रिप) अभ्यास विश्वमा कतै छैन । आपतकालीन अवस्थामा भने विमानहरु राजमार्गमा अवतरण गरिएका केही उदाहरणहरु छन् । हालै रुसमा एक पाइलटले मकैबारीमा नै यात्रुवाहक जाज सुरक्षित अवतरण गराएका थिए ।

पूर्वसचिव तथा तत्कालीन हवाइ विभागका पूर्वमहानिर्देशक यज्ञप्रसाद गौतम राजमार्गमा व्यवसायिक विमान अवतरण गराउन सम्भव नहुने बताउँछन् ।

‘हाम्रा सडकको दायाँबायाँ बिजुलीका पोलहरु हुन्छन्, सडक पेटी हुन्छन्, सँगै रुखहरु हुन्छन्,’ गौतम भन्छन्, ‘विमान अवतरण गराउने कुरा धेरै संवेदनशील हो । राजमार्गलाई धावनमार्ग जस्तै बनाउने योजना ज्यादै खर्चिलो र प्राविधिक हिसावले असम्भव जस्तै हुन्छ ।’

गौतमले विमान अवतरणको विषय सरकारले नीति तथा कार्यक्रमममा ल्याएजस्तो हलुका ढंगको नहुने उनले बताए । अवतरणका लागि भनेर तोकेर निर्माण गरिने सडकलाई आपतकालमै खाली गराउन कठिन हुने उनको भनाइ छ ।

विभागका प्रवक्ता सापकोटा भने विजुलीको पोल व्यवस्थापन गर्न सकियो भने फराकिला सडकलाई आपतकालका लागि अवतरणयोग्य बनाउन सकिने दावी गर्छन् । ठूला विमान अवतरण गराउन सडकहरुले धान्छन् कि धान्दैनन् भन्ने विषय पनि अध्ययन हुनेछ ।

सुरक्षा संवेदनशीता भएका अन्य देशले सैन्य तथा लडाकू विमान अवतरणका लागि यस्तो अभ्यास गरेका छन् । सैन्य प्रयोजनका लागि विभिन्न शक्ति राष्ट्रहरूले राजमार्गलाई धावनमार्ग बनाएका छन् । उनीहरुले युद्धका समयमा रणनीतिक हिसावले संवेदनशील क्षेत्रमा सेना र सैन्य सामग्री पु¥याउने उद्देश्सहित यस्तो धावनमार्ग बनाएका हुन् ।

विज्ञका अनुसार राजमार्गमा विमान अवतरण गराउने काम सजिलो हुँदैन । आपतकालीन अवतरण गराउनुअघि राजमार्ग मात्रै हैन, आकाश पनि खाली गर्नुपर्छ । यात्रु लिएर उडिरहेको विमानले आपतकालीनरुपमा अवतरण गर्नु परे झनै बढी संवेदनशील हुनुपर्छ ।

‘२४ घण्टा नै सवारी गुड्ने राजमार्गमा आपतकालीन अवतरण गराउन जोखिमपूर्ण हुन्छ,’ प्राधिकरण स्रोत भन्छ । राजमार्गलाई धावनमार्ग बनाउँदा कत्रो आकारसम्मको जहाज अवतरण गर्न मिल्ने हो भन्नेदेखि सुरक्षा लगायतका धेरै कुरामा ध्यान दिनुपर्छ ।

हाल विश्वमा सेनाका साना विमान अवतरण गर्न सक्ने गरी मात्र राजमार्गमा धावनमार्ग विकास भएका छन् । थुप्रै यात्रु बोकेर उडेको विमान राजमार्गमा अवतरणका क्रममा दुर्घटना भए, त्यसले झन ठूलो क्षति गराउने उड्डयन अधिकारी बताउँछन् ।

अन्तर्राष्ट्रिय प्रचलन हेर्ने हो भने दोस्रो विश्वयुद्धको अन्त्यतिर जर्मनीमा यसको पहिलोपटक प्रयोग भएको मानिन्छ । दोस्रो विश्वयुद्धपछि सोभियत युनियन र संयुक्त राज्य अमेरिकाबीच शीतयुद्धका बखत सोभियत युनियनको पक्ष तथा विपक्ष दुबैतिरका विभिन्न युरोपेली मुलुकमा हाइवे स्ट्रिपको अभ्यास भयो । हालसम्म सिंगापुर, उत्तर कोरिया, ताइवान, स्विडेन, फिनल्यान्ड, बुल्गेरिया, स्विजरल्यान्ड, पोल्यान्ड मात्र नभएर भारत, श्रीलङ्का र पाकिस्तानमा समेत यस्तो प्रविधिको प्रयोग भइसकेको छ ।

भारतले उत्तर प्रदेशको यमुना एक्सप्रेस–वेमा सन् २०१५ मा यसको सफल परीक्षण गरेको थियो । सन् २०१६ मा भारतका यातायात मन्त्री नीतिन गड्करीले अब यो प्रविधिलाई व्यावसायिक स्तरमा अन्यत्र पनि विस्तार गरिने बताएका थिए । श्रीलंकामा सन् २००९मा गृहयुद्ध समाप्त हुनु अगाडिसम्म तमिल विद्रोहीले यसको प्रयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?