
३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र, संघीयतासँगै संविधानमाथि प्रहार भइरहेको भन्दै प्रमुख राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने बताएका छन् ।
सरकार गठन भएपछि १८ महिनापछि पहिलो पटक सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री ओलीले प्रगतिमनकारीहरुको स्वर चर्को भएको भन्दै गणतन्त्र, संघीयताका लागि लडेका दलहरु एकतावद्ध हुनुपर्ने प्रस्ताव राखेका हुन् ।
आइतबार मात्र संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्ष ओलीले राजतन्त्र फर्काउँछौं भनेर उफि्रएको भन्दै बेमौसमको बाजा नबजाउन आग्रह गरेका थिए । त्यसको दुई दिनपछि संसदमा भएका प्रमुख चार दलको बैठक बोलाएर यही मुद्दामा छलफल गरेका छन् ।
र बैठकमा ओलीले राजावादी र नेकपा विप्लव समूहप्रति आक्रमक देखिएका थिए । ‘प्रधानमन्त्रीले सविधानमाथि प्रहार भइरहेको छ, यसलाई क्षतविक्षत गर्ने प्रयत्न हुन थालेको देखिएको छ । यसका निम्ति संघर्ष गर्ने पार्टीहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्छ भन्नुभयो’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने ।
‘प्रतिगमनकारीहरुले चर्को स्वर गरेका छन् । लोकतान्त्रिक व्यवस्थामाथि नै आक्रमण हुन थालेको छ’ भन्दै प्रधानमन्त्रीले बढी छुट दिएर पो हो कि भनेका थिए ।
यद्यपि प्रगतिगमन सन्निकट आइसक्यो भन्ने आफूहरुको निष्कर्ष नभएको श्रेष्ठले सुनाए ।
प्रधानमन्त्री ओलीले विप्लव समूहको हिंसात्मक गतिविधिविरुद्ध पनि दलहरु एक हुनुपर्नेमा जोड दिएका छन् ।
जवाफमा कांग्रेस सभापति शेरबहदुर देउवा र राजपा नेताहरुले पनि संविधानको रक्षाका लागि एकतावद्ध रहेको बताए । ‘देउवा र अरुले पनि गणतन्त्र, संघीय लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्ने प्रश्नमा एकतावद्ध छौं । यसमा प्रहार भयो भने सहन गर्दैनौं भन्ने व्यक्त गर्नुभयो’ प्रवक्ता श्रेष्ठले भने ।
बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो कसैप्रति आग्रह पूर्वाग्रह नभएको बताएका छन् । विगतलाई हेरेर आफूप्रति पनि मानिसहरुको विभिन्न धारणा रहेको भन्दै उनले तेरो मेरो नभनेर देश बनाउन एक हुनुपर्ने धारणा राखेका थिए ।
कांग्रेसले उठायो विधेयक
सर्वदलीय बैठकमा प्रमुख विपक्षी कांग्रेसले संसदमा विचाराधीन विधेयकहरुको विषय उठाएको थियो ।
जवाफ प्रधानमन्त्री ओलीले सहमतिबाट अगाडि बढ्ने आश्वासन दिएका छन् । मिडिया काउन्सिल र मानवअधिकार आयोगसम्बन्धी विधेयकमा सहमति भइसकेको भन्दै उनले अरु विषयमा पनि समझदारीबाटै अगाडि बढ्ने बताएका छन् ।
राजपा नेताहरुले भने संविधान संशोधनको मुद्दा उठाएका थिए ।
नेकपा अध्यक्ष ओली प्रधानमन्त्री भएपछि पहिलो पटक सर्वदलीय बैठक बोलाउनुलाई आफूहरुले सकारात्मक रुपमा लिएको बैठकपछि कांग्रेस नेता कृष्ण सिटौलाले बताए ।
प्रतिक्रिया 4