Comments Add Comment

इन्द्रजात्रालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछौं : मेयर शाक्य

४ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले इन्द्रजात्रालाई नेपाल चिनाउने चाडका रुपमा मनाउने बताएका छन् ।

बुधबार ईन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफलमा मेयर शाक्यले यो चाडलाई अन्तर्राष्ट्रिय चाडको रुपमा विकास गर्ने बताए । ‘अब यसलाई यो वर्षबाट अन्तर्राष्ट्रियस्तरमा पनि चिनाउने गरी मनाउने तयारी भएको छ । यसमा मलाई खुशी लागेको छ’ उनले भने ।

उनले छलफलका क्रममा विगतका वर्षमा भन्दा यो वर्ष ईन्द्रजात्रालाई भव्य रुपमा सम्पन्न गर्न महानगरपालिकाले विषेश समन्वय गरेको पनि जानकारी दिए ।

‘हामीले ईन्द्रजात्रा अवलोकनका लागि यो वर्ष महानगरपालिकासँग भगिनी सम्बन्ध भएका विभिन्न देशका धेरै नगर प्रमुखहरूलाई निम्ता गरेका छौँ । त्यसमध्ये १३ वटा नगरपालिकाका ५ मेयरसहित ४८ जनाले सहभागिता जनाउने निश्चित भइसकेको छ,’ शाक्यले भने, ‘हामी अहिले नेपाल भ्रमण वर्ष २०२० को तयारीमा जुटेका छौँ । हामीले उहाँहरुलाई निम्ता गर्नुको प्रमुख कारण नेपाल चिनाउनका लागि पनि हो ।’

चीन, जापान र संयुक्त राज्य अमेरिकाबाट ईन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनालाई यहाँको मूर्त–अमूर्त सम्पदाका बारेमा जानकारी गराउने तयारी समेत महानगरपालिकाले गरेको छ ।

‘चार रात पाँच दिनका लागि नेपाल आउने पाहुनालाई हनुमानढोका दरबार, स्वयम्भू, चन्द्रागिरी पाटन, भक्तपुर दरबार स्क्वायर लगायतका स्थानको अवलोकन गराउने तयारी भएको छ,’ मेयर शाक्यले भने, ‘यहाँको संस्कृति, सम्पदा र पर्यटनका बारेमा जानकारी गराउन पाहुनालाई नासल चोकमा रात्रिभोज सहित साँस्कृतिक कार्यक्रम गर्ने तयारी पनि हामीले गरेका छौँ ।’

त्यसै गरी महाकाली नाच, लाखे नाच, पुलुकिसि नाचसँगै कुमारीको दर्शन र जात्रासँग सम्बन्धित विभिन्न गुठीबारे जानकारी गराउने पनि महानगरपालिकाले तयारी गरेको छ । उनले यसले भगिनी सम्बन्ध स्थापित गरेका नगरसँग यहाँको पर्यटन प्रवर्द्धनका बारेमा अनुभव आदन–प्रदान हुने बताए ।

विगतमा इन्द्रजात्राका लागि केन्द्र सरकारले नै आर्थिक सहयोग गर्दै आएको स्मरण गराउँदै मेयर शाक्यले सरकारको अनुमति अनुसार नै अघिल्लो वर्षदेखि स्थानीय सरकारले सहयोग गर्ने गरेको जानकारी पनि गराए । ‘ईन्द्रजात्राको सबै तयारी गर्नुहोला महानगरपालिकाले आर्थिक अभाव हुन दिदैँन,’ उनले भनिन्, ‘स्थानीय सरकारसँग मिलेर यहाँका पर्व–जात्रालगायत सबै सम्पदा र संस्कृतिको जगेर्ना गरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment