Comments Add Comment

मेरो सम्झनामा माड्साब : श्रद्धासुमन भावनाका अक्षरहरूबाट

२०३९ सालको कुरा, महिनाचाहिँ उति याद छैन ।

म चितवनबाट कलेज अध्ययनका लागि भर्खरै काठमाडौं आएको थिएँ । प्राविधिक विषयका मोटा–मोटा पुस्तक, त्यो पनि अंग्रेजी भाषामा पढ्दा हामीलाई बेला–बेलामा अल्छी लाग्थ्यो । यस्तै बेला कतैबाट त्यो बेलाको चर्चित साप्ताहिक पत्रिका ‘समीक्षा‘ मेरो हात परेको थियो ।

त्यसमा भएको मदनमणि दीक्षितको ‘मेरो देश मेरो संसार नामक’ स्तम्भले मलाई तान्यो । त्यस स्तम्भमा महाभारतकालीन पात्रलाई आधार बनाएर तत्कालीन राजनीतिमाथि व्यंग्य गरिएको थियो । कलेजमा हुने विद्यार्थी राजनीतिक गतिविधिका कारण हामी केही सचेत थियौं नै, त्यसमाथि त्यो लेखमा महाभारतका सन्दर्भहरू आएका थिए ।

सानैदेखि महाभारतका पात्रमाथि रूची भएका कारण म त्यस्ता कुरा पाएसम्म पढ्थेँ । महाभारतका पात्रलाई तत्कालीन पञ्चायती राजनीतिसँग जोडेर लेखिएको त्यो लेख मेरा लागि अत्यन्तै नौलो थियो ।

अहिले मदनमणि माडसाबका विषयमा लेख्न बस्दा सम्झना आएको त्यो दृश्यले मलाई एकैपल्ट झण्डै चार दशकअघि पुर्‍यायो ।

पुराना कथालाई सामयिक राजनीतिसँग जोड्न मिल्दोरहेछ भन्ने ज्ञान यसअघि मलाई थिएन । यही एउटै लेख मदनमणि दीक्षितलाई मनमा सजाउन पर्याप्त भइदियो । त्यसपछि भने समीक्षा प्रकाशित हुने दिन मसहित केही साथीहरू उहाँको स्तम्भ पढ्नका लागि हप्ताभरि नै ब्यग्रतापूर्वक प्रतिक्षा गर्न थाल्यौं ।
यो पनि पढ्नुहोस संस्मरण : मदनमणि युगको अवसान

अझ प्रमाणपत्र तहको दोस्रो वर्षको नेपाली कोर्समा राखिएको उहाँको कथा ‘ग्यास चेम्बरको मृत्यु’ पढेपछि त मलाई उहाँको उचाइ राम्रैसँग बोध भयो ।

यस्ता मूर्धन्य व्यक्तित्वसँग कुनै दिन चिनजान होला, उहाँसँग संगत गर्न पाइएला भन्ने मैले सोचेको थिइनँ । उहाँको संगत भन्नु नै उहाँले लेखेका पुस्तकहरू पढ्नु थियो । रुस बस्दा मैले माधवी र भूमिशुक्तजस्ता एक–दुई पुस्तक पढेको सम्झना छ । ती पुस्तकहरू मलाई रुसका महान साहित्यकारले लेखेका विश्व प्रशिद्ध पुस्तककै हाराहारीका लाग्थे ।

सन् २००२ मा कान्तिपुर टेलिभिजन स्थापनाका लागि प्रबन्ध निर्देशकका रूपमा म नेपाल गएँ । तीनकुनेस्थित मेरो कार्यकक्षमा कान्तिपुर पब्लिकेसन्सका तत्कालीन अध्यक्ष हेमराज ज्ञवालीसहित केही साहित्यकार टोलीको प्रवेश भयो । टोलीमा हुनुहुन्थ्यो, राप्रऊ पोखरेल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, मोदनाथ प्रश्रित र मदनमणि दीक्षित ।

यो टोलीका सहभागी सबै आफ्ना स्थानमा प्रसिद्ध साहित्यकर्मी थिए र उहाँहरूलाई भेट्नु मेरा लागि निकै सुखद् क्षण थियो ।

त्यतिबेला उहाँहरू राष्ट्रकवि माधव घिमिरेको रथारोहण कार्यक्रम गर्दै हुनुहुँदो रहेछ र घिमिरेको व्यक्तित्व समेटिएको एक स्मारक ग्रन्थ पनि प्रकाशन गर्न चाहनु हुँदोरहेछ । साहित्यमा मेरो रुची छ भन्ने थाहा पाएपछि केही सहयोग हुन सक्छ कि भन्ने हेतुले टेलिभिजनको कक्षतिर पनि आइपुग्नुभएको रहेछ । मैले पहिलोपटक विद्वता, शालीनता र मृदुभाषी गुणले ओतप्रोत भएका माडसाबलाई त्यहीबेला देख्न पाएँ ।

उहाँको लेखनबाट प्रभावित भइरहे पनि, पटक–पटक नेपाल आइरहे पनि उहाँसँग भेट्ने अवसर जुरेको थिएन । राष्ट्रकविको रथारोहण समारोहको सन्दर्भमा त्यो अवसर प्राप्त भयो । मधुर श्वरले उहाँले आफ्ना कुराहरू राख्दै जाँदा म भने यस्तो विद्वानलाई यसरी भेट हुनु कति सुखद् संयोग भन्ने सोचिरहेको थिएँ ।

अचानक जुरेको यो अवसरको म सदुपयोग गर्न चाहन्थे । त्यही कारण मैले त्यस सन्दर्भ ग्रन्थ प्रकाशन गर्ने जिम्मेवारी लिने कुरामा सहमति जनाएँ । त्यसबाहेक रथारोहणलाई ब्यवस्थित गर्ने विषयमा अरु केही बैठकहरूमा पनि हाम्रो भेट भयो । उहाँहरूले त्यसपछिका प्रत्येक बैठकमा मलाई पनि सरिक गराउनु भयो ।

कान्तिपुर टेलिभिजनको कार्यकक्षबाट सुरु भएको हाम्रो चिया भेटघाट विस्तारै बढ्दै गयो । त्यो भेटघाटले मलाई माडसाबलाई केही नजिकबाट चिन्ने अवसर दिलायो । त्योबेला उहाँको उमेर ८० वर्षको हाराहारी हुँदो हो । तैपनि उहाँ रथारोहणको योजना बनाउने, त्यसलाई व्यवस्थित कसरी गर्ने भन्ने कुरामा गम्भीरतापूर्वक छलफल गर्नुहुन्थ्यो ।

भेटघाटकै क्रममा उहाँ त्यो उमेरमा पनि थोरै भए पनि पिउन रुचाउने व्यक्ति हो भन्ने पनि मैले थाहा पाएँ । त्यसपछि साँझमा जमघट हुने साहित्यकारहरूको एउटा क्लोज समूहमा यदाकदा उहाँहरुले मलाई पनि समावेश गर्न थाल्नुभयो । यो क्रम म रुसबाट नेपाल फर्कंदा पछि पनि चलि नै रह्यो ।

तर, माडसाबका उमेरका कारण साँझका कतिपय भेटघाटमा भने उहाँ आउन सक्नुहुन्नथ्यो । आउन चाहे पनि उहाँका अनन्य मित्र एवं साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले प्रेमपूर्वक रोक्नुहुन्थ्यो भन्ने पछि थाहा भयो ।

यो क्लोज ग्रुपले नै मलाई साहित्य पढेर मात्र होइन, आफूले अनुभव गरेका कुरा लेख्नु पनि पर्छ भनेर हौसला दिएको हो । साहित्यमा केही काम गर्न सकिने योजनालाई साकार पार्न पनि मद्दत पुर्‍याएको हो । त्यसपछि माडसाबका प्रत्येक नयाँ पुस्तकहरू मस्को फर्कंदा मैले साथमा लैजान थालेँ । उहाँका पुस्तक जति पढ्दै गएँ, उहाँमा भएको विशाल ज्ञानको बोध पनि महसुस हुँदै गयो ।

मलाई उहाँ सामान्य व्यक्तिभन्दा माथि उठिसक्नु भएको ऋषितुल्य व्यक्ति बोध हुन्थ्यो । समय मिलेसम्म भेटेर दुई/चार आशीर्वचन पनि लिन्थेँ ।

उहाँका छोरा आमोद दीक्षित रुसबाटै अध्ययन गर्नुभएको र मेरो पुरानो चिनजानका अग्रज पनि भएकाले मलाई माडसाबलाई भेट्न गाह्रो भएन । यसै क्रममा एकपटक ‘ससर्ती संसारको पाण्डुलिपि बोकेर म उहाँको घर पुगेको थिएँ । पाण्डुलिपि पढेर त्यसमा उहाँका केही आशीवर्चन लिपिवद्ध गर्ने मेरो चाहाना थियो । मैले पुस्तक प्रकाशन गर्न लागेको सुनेर उहाँ अति नै प्रसन्न हुनुभयो । त्यति मात्र होइन, आफ्नो रुस बसाइका अनुभूतिहरूलाई पनि लिपिबद्ध गर्दै जान सल्लाह पनि दिनुभयो । उहाँले लेख्नु कति महत्त्वपूर्ण कुरा हो भन्ने कुरालाई पनि विस्तार चर्चा गरिदिनुभयो ।

त्यसपछि उहाँले जे भन्नुभयो, त्यो मेरो साहित्यिक जीवनको सबैभन्दा ठूलो पुँजी भइदियो । उहाँले भन्नुभयो, ‘म तपाईंको साहित्यिक रुचिबाट परिचित छु । यसकारण मेरो आगामी पुस्तकको विमोचन तपाईंबाट गराउने इच्छा राखेको छु, अस्वीकार नगरिदिनुहोला ।’

उहाँले मलाई फुर्क्याउन त्यो भन्नुभएको थिएन, अठोट नै गर्नुभएको रहेछ । उहाँको मनोभावले मलाई खुशी त लाग्यो, तर ठूलो अप्ठ्यारो महसुस पनि गरेँ । उहाँजस्तो दिग्गज साहित्यकारको कृति विमोचन गर्ने हैसियत मेरो थिएन र छैन । त्यसैले विनम्रतापूर्वक अस्वीकार गर्न थालेँ ।

उहाँले भन्नुभयो, ‘म नयाँ पुस्तामा साहित्यिक बिऊ रोप्न चाहन्छु । कृपया अस्वीकार नगरिदिनूस् । विमोचनका लागि उहाँले दशैं र तिहारबीचको यस्तो समय रोज्नुभएको थियो, जुन समयमा म प्रायः नेपालमा हुने गर्छु ।

पद्मश्री पुरस्कार वितरण कोजाग्रत पूर्णिमाका दिन हुन्छ र यसका लागि म काठमाडौंमा हुने गर्छु भन्ने सायद उहाँलाई थाहा थियो । केही वर्षअघि नै पद्मश्री साधना सम्मानबाट विभूषित गराउने हाम्रो निर्णयलाई उहाँले स्वीकार गर्नुभएको थियो । यस्ता विराट व्यक्तित्वले आफ्नो पुस्तक मेरो हातबाट विमोचन गराउने निर्णयले मलाई पछि हट्न निकै गाह्रो भयो । तर, यो भारबाट म जसरी पनि उम्कन चाहन्थेँ ।

त्यस दिन म हजुरलाई यस विषयमा खबर गर्छु भन्दै उहाँको निवास कालीकास्थानबाट बाहिरिएँ । त्यहाँबाट निस्केपछि मेरा अग्रज आमोद दीक्षितलाई आफूलाई यो काम गर्दा नैतिक संकट पर्ने भएकाले बुवालाई मिलाएर भनिदिन आग्रह गरेँ । कसै गरी पनि उहाँजस्तो दिग्गज व्यक्तित्वको पुस्तक विमोचन गर्ने हिम्मत मलाई पलाएन ।

त्यसपछि पनि मप्रति उहाँको स्नेहमा कुनै कमी आएन । उहाँको घर पुगेर मैले उहाँले बोलेका कुराहरू रेकर्ड पनि गरेको छु । मन्द श्वरमा उहाँ जीवनका गहनतम कुराहरू भन्दै जानुहुन्थ्यो र बेला–बेलामा त्यसमा मेरो राय पनि खोज्नुहुन्थ्यो ।

उहाँसँग पूर्वीय दर्शनको कति गहिरो बोध थियो भन्ने कुरा थाहा पाउँदै जाँदा म भावविभोर हुँदै जान्थेँ । उहाँले बोलिरहँदा उहाँले लेख्ने विषय अझ कति धेरै छ भन्ने लाग्दथ्यो ।

एक महिनाअघि नेपालमा हुँदा मलाई उहाँसँग भेट्ने इच्छा थियो । केही साहित्यिक व्यक्तित्वसँग कुरा पनि गरेँ । मानिसको समय टुक्रा–टुक्रामा कसरी विभाजित भइरहने रहेछ भन्ने बोध नगरेको त होइन, तर यो टुक्रा समयमा कतिपय महत्त्वपूर्ण काम गर्न भ्याइने रहेनछ भन्ने मैले राम्रोसँग अनुभव गर्न पाएँ । व्यावसायिक ब्यस्तता र भेट्न चाहने केही अभिन्न मित्रहरूको अनुरोधलाई व्यवस्थापन गर्दागर्दै एक साता कसरी बित्यो, पत्तै भएन ।

जर्मनी फर्कनुअघि एकजना शुभचिन्तकले माडसाबसँग भेट्नका लागि समय निकाल्न मलाई अनुरोध गरे । माडसाबप्रति मेरो चिनजान उनलाई थाहा भएरै सायद उनले भनेका हुँदा हुन् । मैले अर्कोपटक बेलैमा समय लिएर धित मर्ने गरी भेट्ने बताउँदै यसपटक यस्तै भयो भन्ने सन्देश पठाएँ ।

मलाई लागेको थियो, माडसाबले एक शताब्दी आयु लिएर आउनुभएको छ । यही कारण त्यो सन्देश लेख्न मलाई गाह्रो भएन । तर, महिना दिन नबित्दै उहाँले महाप्रस्थानको बाटो रोजेपछि पो महसुस भयो– माथि जाने निश्चित छ, तर कुन समय, त्योचाहिँ अनिश्चित छ भन्ने कुरा मैले बिर्सिएको रहेंछु ।

संयोग कस्तो पर्‍याे भने बुधवार साँझ मात्रै मैले उहाँले लेख्नुभएको कृति ‘मेरी माता’ एकै बसाइमा पढी सिध्याएको थिएँ । उक्त पुस्तकले मनलाई अनौठो गरी समाएको थियो । बिहान उठ्दा सामाजिक सञ्जालमार्फत उहाँले महाप्रस्थान गर्नुभएको कुरा थाहा पाउनुपर्‍याे । अहो, ज्ञानको विराट उचाइमा पुगिसक्नुभएका प्रखर विद्धानसँग धित मर्ने गरी बस्न पाइएन भन्ने कुरा अहिले पो महसुस गर्दैछु ।

माडसाब, तपाईंका विषयमा गरिएका यी अनुभूति मलाई ताजा फूलजस्तै लाग्छन् । यिनै शब्दरूपी भावनाबाट तपाईंलाई हार्दिक श्रद्धाञ्जली । तपाईंसँगका प्रत्येक क्षण मेरा मनमा सुरक्षित छन् । आफ्ना अमर कृतिहरूमा मात्र होइन, हामीजस्ता कैंयौं पाठकहरूका मनमा समेत तपाईं लामो समय बाँचिरहनु हुनेछ ।

पुनः हार्दिक श्रद्धाञ्जली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment