Comments Add Comment

आजका पत्रपत्रिका : अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक गर्दै अख्तियार

१४० जनामाथि अनुसन्धान हुँदै

४ भदौ, काठमाडौं । बालुवाटारमा मंगलबार बसेको सर्वदलीय बैठक र नेकपाभित्र देखापरेको विवाद आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ ।

कान्तिपुरले ‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीको निष्कर्ष– राज्य प्रणालीमाथि प्रहार शीर्षक दिएर सर्वदलीय बैठकमा प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई मुख्य समाचार बनाएको छ । समाचार अनुसार, प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव र राजावादीबाट राज्य प्रणाली नै उल्ट्याउने खालका गतिविधि बढ्न थाललेको भन्दै दलहरूलाई एक ठाउँमा उभिन आह्वान गरेका छन् ।

नेकपाको विवादलाई पनि कान्तिपुरले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा समेटेको छ ।

नेकपाको पछिल्लो जिम्मेवारी बाँडफाँट र वरीयतालाई लिएर वरिष्ठ नेता माधव नेपाल रुष्ट छन् । उनले ७ बुँदे नोट अफ डिसेन्ट राख्दै एक व्यक्ति एक पदको व्यवस्था लागू हुनुपर्ने प्रस्ताव राखेका छन् ।

‘नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टीका पछिल्ला निर्णयमा असहमति जनाउँदै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकार कटौती गर्नुपर्ने खालको मत जाहेर गरेका छन्’, कान्तिपुरले आफ्नो समाचारको लिड लाइनमा लेखेको छ ।

अहिलेसम्मकै ठूला भ्रष्टाचारी सार्वजनिक हुँदै

भ्रष्टाचार निवारणका लागि स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकालाई लिएर आलोचना हुँदै आइरहेको छ । खासगरी अख्तियार खरो उत्रन नसकेको धेरैको गुनासो छ ।

बालुवाटारको सर्वदलीय बैठकबारे मुख्य समाचार बनाएको गोरखापत्रले आज भ्रष्टाचारीमाथि अख्तियार खरो रूपमा उत्रन लागेको लेखेको छ ।

समाचार अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् ।

अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरू सार्वजनिक हुने प्रमुख आयुक्त घिमिरेको दाबी छ ।

उनले छिट्टै ठूला भ्रष्टाचारी सार्वजनिक गरिने बताए पनि त्यसको मितिबारे भने केही खुलाएका छैनन् ।

अन्य पत्रिकाहरूले जस्तै बालुवाटारको सर्वदलीय बैठक र नेकपाको असन्तुष्टिबारे प्राथमिकतापूर्वक समाचार छापेको अन्नपूर्णले कांग्रेसभित्रको विवादबारे लेखेको छ । समाचार अनुसार कांग्रेसमा छलफलबिनै एजेन्डा पारित भएको छ । केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेको १४ बुँदे एजेन्डामध्ये अधिकांश छलफलबिनै पारित भएको अन्नपूर्णकाे दाबी छ ।

नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता दिन भारत सहमत भएको खबर नागरिकमा छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा गरिएका परीक्षणलाई अन्तर्राष्ट्रिय बेञ्च मार्कका आधारमा वैधता दिन भारतीय पक्षले सहमति जनाएको हो ।
यसले नेपाली कृषिजन्य उत्पादनलाई भारतीय बजारमा प्रवेश पाउन सहज हुने नागरिकले लेखेको छ ।

राजधानीले कार्यसम्पादन सम्झौताको मसी नसुक्दै गरिएको सचिव सरुवामाथि प्रश्न उठाएको छ भने कारोबारले बजेटविहीन स्थानीय तहबारे सोधीखोजी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment