Comments Add Comment

विमानस्थलमा पारसको दुर्व्यवहार : प्रहरीले थाल्यो छानविन

डीआईजी थापा भन्छन्– उजुरी परे कारवाही हुन्छ

२ भदौ, काठमाडौं । पूर्वयुवराज पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी कक्षको सुरक्षार्थ खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको विषयमा प्रहरीले छानविन थालेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत् प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई आइतबार शाहले दुर्व्यवहार गरेका थिए ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएपछि छानविन सुरु भएको हो ।

‘अलिकति धक्का दिएको त भिडियोमै देखिएको छ । तर, मैले विमानस्थल प्रहरीलाई के हो विवरण चाहियो भनेर भनेको छु’, रानीपोखरीका प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले अनलाइनखबरसँग भने, ‘विमानस्थल प्रहरीले रिपोर्ट दिएपछि के गर्ने भन्ने निर्णय हुन्छ ।’

दुर्व्यवहारमा परेका सई खत्रीले भने अहिलेसम्म पारसविरुद्ध उजुरी दिएका छैनन् । ‘अहिलेसम्म उजुरी परेको छैन, अब छानविनको निष्कर्ष अनुसार हुन्छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) क्षेत्रीले भने, ‘आम सर्वसाधारणको उजुरी हेर्ने निकायले आफ्नै प्रहरीले दिएको उजुरीमा नहेर्ने भन्ने कुरै हुँदैन । हाम्रो अफिसरले उजुरी दिएको खण्डमा पनि कारवाही प्रक्रिया अघि बढ्छ ।’

यस विषयमा जानकारी लिन विमानस्थल प्रहरी प्रमुख डीआईजी सूर्यप्रसाद उपाध्यायसँग सम्पर्क गर्दा उनको फोन उठेन ।

विमानस्थल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीले भने घटना भएको दिन आफू विदामा भएको बताउँदै भने, ‘मेट्रोबाट के निर्देशन आएको छ, त्यो मलाई थाहा हुँदैन ।’

आमा कोमल शाहलाई बैंककका लागि विदाइ गर्न पारस आइतबार स–परिवार विमानस्थल पुगेका थिए । उनीसँगै छोरा हृदयेन्द्र, बहिनी प्रेरणा र भान्जा पार्थक सिंह पनि विमानस्थलमा पुगेका थिए ।

यो पनि पढ्नुहोस विमानस्थलमा बर्दीवाल प्रहरीमाथि पारश शाहको दादागिरी

शाहको विवादित श्रृंखला

पूर्वयुवराज शाह उद्दण्ड स्वभावका कारण पटक–पटक विवादमा आइरहने व्यक्ति हुन् । उनी थाइल्याण्डमा बसेका बेला ४ पटकसम्म लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका थिए ।

नेपालका पूर्वयुवराजलाई ०७१ साल असोजमा हत्कडी लगाइएको तस्वीर थाइल्याण्डबाट सार्वजनिक भएको थियो ।

थाइल्याण्डबाट फर्किएपछि २८ जेठ ०७५ मा पारसले थापाथलीमा ट्राफिक नियम उल्लंघन गरेको घटना सार्वजनिक भयो । जावलाखेलबाटै ट्राफिक नियम मिचेर हुइँकिएको बा १४ च २१३१ नम्बरको गाडीलाई थापाथलीमा प्रहरी जवान सुष्मा चौधरीले कागजपत्र मागेकी थिइन् । तर, उनले प्रहरी जवानलाई नै ठक्कर दिने गरी गाडी हुइँक्याएका थिए ।

त्यसो त २२ साउन ०५७ मा पनि शाहले चलाएको गाडीको ठक्करबाट प्रवीण गुरुङको मृत्यु भएको थियो, जसमा नक्कली चालक खडा गरेर उनलाई जोगाइएको आशय पूर्वप्रहरी महानिरीक्षक अच्यूतकृष्ण खरेलले आत्मकथामा व्यक्त गरेका छन् ।

प्रवीण गुरुङको मृत्युपछि तत्कालीन अनेरास्ववियूले पारसमाथि कारवाहीको माग गर्दै आन्दोलन गरेको थियो, जसको नेतृत्व रवीन्द्र अधिकारीलगायतले गरेका थिए ।

त्यस्तै, २५ मंसिर ०६७ मा मध्यरातमा चितवनको टाइगर टप्स होटलमा तत्कालीन परराष्ट्र मन्त्री सुजनाता कोइरालाका ज्वाईँ रुबेल चौधरीमाथि गोली चलाएको आरोपमा पारस पहिलोपटक पक्राउ परेका थिए ।

यो पनि पढ्नुहोस सुरक्षाविद भन्छन्- विमानस्थलमा नाराबाजी गर्नु सामन्ती संस्कार हो

त्यसअघिका विवादमा राजपरिवारकै सदस्य भएका कारण सहजै उन्मुक्ति पाउँदै आएका पारस शाह रुबेलमाथि गोली प्रहार गरेको घटनामा १० हजार धरौटी तिरेर तारेखमा छुटेका थिए ।

पूर्वयुवराज शाह श्रीमती हिमानीसँगको सम्बन्धका कारण पनि वेलावेला विवादमा आउने गरेका छन् । थाइल्याण्डमा रहँदा स्थानीय कन्निका चाइसानसँग उनको सम्बन्ध रहेको खुलेको थियो । पारससँगको अन्तरंग तस्वीर उनैले सार्वजनिक गरेकी थिइन् ।

त्यसैगरी ०६८ सालमा उनले बहिनीसँगको सम्बन्धलाई लिएर ज्वाइँ राजबहादुर सिंहलाई पिटेको समाचार पनि बाहिर आएको थियो ।

पूर्वयुवराज हुँदा वा त्योभन्दा अघिपछि पारसबाट हुने गरेका उद्दण्ड क्रियाकलापका किस्साहरु धेरै पाइन्छन् । एकताका उनले पद्मसुन्दर लावतीका छोरा सुगुन लावतीलाई बाथरुमभित्र लगेर पिटेका थिए । भलै, अहिले सगुन लावती राप्रपामा रहेर राजतन्त्रकै पक्षमा वकालत गरिरहेका छन् ।

पारशको विवादास्पद छविको श्रृंखला यतिमा मात्र सीमित छैन, ०६६ सालमा उनी भारतीय नक्कली रुपैयाँ कारोबारको घटनामा पनि मुछिए । मध्यप्रदेशको एन्टी टेरोरिज्म सेलले नक्कली भारतीय रुपैयाँसहित नेपाली नागरिक अतिक मोहम्मद र भारतीय नागरिक राजेश गुप्तालाई पक्राउ गरेपछि उनको संलग्नताबारे भारतीय सञ्चारमाध्यमले समाचार लेखेका थिए ।

त्यसवेला द इन्डिया टाइम्सले लेखेको एक समाचारमा शाहले अन्डरवर्ल्ड डन दाउद इब्राहिमको र्‍याकेटमा नेपालबाट सहयोगीको रुपमा भूमिका खेलेको गम्भीर आरोप लगाइएको थियो । उक्त समाचारमा शाहसँगै युनुस अन्सारीलाई पनि भारतीय मिडियाले मुछेका थिए । तथापि, पारशमाथि लागेको यो आरोपको पुष्टि हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment