Comments Add Comment

स्नातकोत्तर गरेर व्यावसायिक भैँसीपालनमा

४ भदौ, तनहुँ । धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका व्यक्तिलाई यहाँका एक युवकले गतिलो सन्देश दिएका छन् ।

सूचना प्रविधि शिक्षा (आइटी)मा स्नातकोत्तर हासिल गरिसकेका व्यासनगरपालिका-१३ स्थित गुँदीका ३८ वर्षीय ईश्वरराज पन्थले व्यावसायिक भैँसीपालन थालेका छन् ।

८ वर्षसम्म दमौलीको एक संस्थागत विद्यालयमा प्रिन्सिपल बनेका पन्थ पछिल्लो समय लाइफ इन्स्योरेन्स कंम्पनीको शाखा प्रबन्धक भएरसमेत काम गर्दै आएका थिए । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाको प्रबन्धक पदको जागिर छाडेर पन्थ व्यावसायिक भैँसीपालनमा लागेका हुन् । कृषक पन्थ हाल एनप्याव्सन तनहुँको सचिव पनि हुन् ।

उनले भने, ‘सानै उमेरदेखि पशुपालनतर्फ रुचि भए पनि पढ्ने बेला भएकाले पढ्दै गएँ र केही समय जागिर पनि खाएँ । तर, पढ्दैमा जागिर खानुपर्छ भन्ने होइन ।’ पढेर केही गर्नुपर्छ भन्ने मान्यताका साथ आफू यस पेशातर्फ लागेको उनको भनाइ छ । उनले गुँदी गाउँबाट दमौली शहर झरेको झण्डै १२ वर्षपछि पुनः गाउँ फर्किएकाले फार्मको नाम नै ‘गाउँ फर्क कृषि उद्यम’ प्रालिमा दर्ता गरी व्यवसाय गरेका हुन् ।

उक्त फार्ममा स्थानीय बाबुराम ढकाल र पन्थ दुई जना मिलेर व्यवसाय सञ्चालन गरेका हुन् । २०७५ साल मंसिरमा भारतबाट १ लाख ५० हजार रुपैयाँ मूल्यका १० दुहुना मुर्रा जातका भैँसी ल्याएर पाल्न थालेको उनले जानकारी दिए । अहिले दैनिक १ सय लिटर दूध उत्पादन भएको र प्रतिलिटर १ सय रुपैयाँमा बिक्री गर्ने गरेको पन्थले बताए । उत्पादित दूध दमौली बजार क्षेत्रमा सजिलै खपत हुँदै आएको र माग बढिरहेकाले छिट्टै भैँसीको संख्या थप्ने योजना उनको छ ।

उनले भने, ‘पानी नमिसाएको शुद्ध दूध पाएपछि केही उपभोक्ता फार्ममै दूध लिन आउने गरेका छन् ।’ उक्त फार्म सदरमुकाम दमौलीबाट करीब ८ किलोमिटर उत्तरमा पर्छ । सुरुमा अष्ट्रेलियाबाट बोयर जातका बाख्रा ल्याएर बोयर बाख्रा स्रोत केन्द्र बनाउने उद्देश्य रहेको उनले बताए । उनले भने, ‘बाख्राको खोरको पूर्वाधार बनिनसकेका कारण भैँसीपालन व्यवसायलाई पनि सँगसँगै लैजान लागिएको हो ।’

करीब १ सय ५० क्षमताको बाख्रा खोर निर्माण र फार्मसम्म पुग्ने सडकदेखि फार्मभित्रका शाखा सडक निर्माणकार्य भइरहेको उनले जानकारी दिए । व्यावसायिक पशुपालनका लागि करीब ५ सय रोपनी जग्गा रहेको छ । फार्म सञ्चालन सुरु गरेदेखि करीब ५० लाख रुपैयाँ लगानी भइसकेको कृषक पन्थले बताए । उत्पादनमूलक बाँझो जग्गा उजाड हुँदै गएको, युवाहरु विदेशिएको अवस्थामा बाँझो रहेको जग्गालाई सदुपयोग गर्दै केही गरौँ भन्ने सोचका साथ आफू पशुपालन व्यवसायमा लागेको उनले बताए ।

हाल उक्त फार्ममा सात कर्मचारी कार्यरत छन् । गाउँका करीब २५ जनालाई प्रत्यक्ष रोजगारी दिने उनको योजना छ । आवश्यकताअनुसार केही कर्मचारीलाई ज्यालादारी तरिकाले राख्न सकिने उनले बताए ।

नेपाल सरकारले व्यावसायिक कृषकलाई सहुलियत दरमा ऋण प्रदान गर्ने भनिए पनि दमौलीस्थित वाणिज्य बैंकमा आवश्यक कागजपत्र पेश गरेको तीन महीना बितिसक्दा पनि खासै चासो नदेखाएको उनले गुनासो गरे ।

वडामा उद्योग फार्म सञ्चालन हुँदा गाउँमा रहेका बेरोजगारीलाई रोजगारीको सिर्जना हुनुका साथै आर्थिक उन्नन्तिमा टेवा पुग्ने विश्वास लिइएको व्यास-१३ का वडाध्यक्ष लेखबहादुर रानाले बताए ।

‘फार्मस्टे’को व्यवस्था

फार्ममा आउने व्यक्ति तथा समूहका लागि घरबासजस्तै ‘फार्मस्टे’को व्यवस्था गरिने भएको छ ।

फार्ममा आएका मानिसका लागि बस्ने र खाने व्यवस्था मिलाइने गरी काम अघि बढाइएको छ । आन्तरिक एवं बाहृय पर्यटकलाई प्रवर्द्धन गर्ने उद्देश्यले पारिवारिक वातावरणमा फार्मस्टेको व्यवस्था गर्न लागिएको अर्का सञ्चालक ढकालले बताए ।

उक्त फार्मलाई कृषि, शिक्षा र कृषि पर्यटन क्षेत्र बनाउने लक्ष्य राखिएको छ । सिटीभिटीबाट मान्यता प्राप्त लिई कृषि शिक्षा र कृषिको प्रयोगशालास्थलका रुपमा विकास गर्ने योजनासहित फार्म सञ्चालन गरिएको सञ्चालक ढकालले बताए ।

रैथाने गाई सङ्कलन तथा संरक्षण

उक्त फार्ममा स्थानीय जातका गाई सङ्कलन गरी संरक्षण गरिने भएको छ ।

गाईको गहुँत सङ्कलन गरी प्रशोधिनमार्फत औषधिका रुपमा विकास गर्ने, पंक्षीको रुपमा स्थानीय जातका कुखुरापालन गर्ने, फलफूल खेतीमा कागती, तरकारी खेतीमा मौसमी तथा बेमौसमी अर्ग्यानिक तरकारी उत्पादन गर्ने, मौरी र माछालगायतका व्यावसायिकपालन गर्ने लक्ष्य रहेको सञ्चालकद्वयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment