 
																			२ भदौ, काठमाडौं । नेपाल बाल संगठनका निर्देशक बालकृष्ण डंगोलले बलात्कृत बालिकाबाट जन्मिएको शिशुको बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको अनुसन्धान अधिकृतहरुले बताएका छन् ।
बालिका बेचविखनको आरोपमा काठमाडौं प्रहरी परिसर, टेकुले डंगोलसँगै बेलायती नागरिक डोना स्मिथ, डंगोल र स्टाफ नर्स निर्मला मगरलाई पक्राउ गरेको थियो । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अनुसन्धान अधिकृतका अनुसार, डंगोलको समूहले बेच्न लागेको बच्चा जन्माउने १४ वर्षीया बालिका अहिले प्रहरी संरक्षणमा छिन् । कक्षा ९ मा पढ्दै गरेकी उनी बलात्कृत भएकी थिइन् । मनोपरामर्शदाताको सहयोगमा उनलाई सोधपुछ र उपचार गरिने काठमाडौं प्रहरीले जनाएको छ ।
अध्यागमनबाट खुलेको थियो पोल
२२ साउनमा कालिकास्थानमा रहेको अध्यागमन विभागमा भिसा प्रक्रिया मिलाउनका लागि बेलायती नागरिक डोना स्मिथ पुगेकी थिइन् । १२ साउनमा आफूले शिशु जन्माएको भन्दै बच्चा लैजान चाहेको बताइन् तर, अध्यागमन विभागका अधिकारीलाई उनीमाथि शंका लाग्यो ।
बेलायती दूतावासबाट बनाइएको पासपोर्टमा शिशुको नाम एनाबेला लक्ष्मी श्रेष्ठ राखिएको थियो भने श्रीमान्को नाम रामकुमार श्रेष्ठ भनिएको थियो । स्मिथको गतिविधि शंकास्पद देखिएपछि विभागको सूचना समन्वय शाखाले उनलाई बच्चा जन्मिएको हस्पिटलसम्म लान आग्रह गर्यो ।
उनले १२ साउनको विहान २ बजे वीएन्डबी अस्पतालमा शिशुको जन्म दिएको जिकिर गरेकी थिइन् । अध्यागमन विभागका एक अधिकारी भन्छन्, ‘जब हाम्रो टोली हस्पिटलसम्म पठायौं तब उनले झुट स्पष्ट भयो ।’
अस्पताल प्रशासनले स्मिथ नाम गरेको महिलाले त्यस दिन कुनै बच्चालाई जन्म नदिएको पुष्टि गरेको थियो । त्यसपछि विभागका अधिकारीले अनुसन्धानका लागि काठमाडौं प्रहरीलाई आग्रह गरेको थियो ।
जब स्मिथले शिशुलाई जन्म नदिएको थाहा पाए, अध्यागमनका अधिकारीहरुले प्रारम्भिक सोधपुछ गरेका थिए । त्यसक्रममै उनले नेपाल बाल संगठन, बाल मन्दिरका निर्देशक डंगोलामार्फत शिशु विदेश लैजान लागेको खुलाइन् । तर त्यसरी बच्चा लैजानु अवैध भएको आफूलाई थाहा नभएको उनको जिकिर थियो । उनकै बयानपछि प्रहरीले डंगोललाई नक्सालबाट पक्राउ गरेको थियो ।
‘हाम्रो अनुसन्धानबाट डंगोलले आर्थिक लाभ लिएर विदेशी नागरिकलाई शिशु विक्री गर्ने गरेको देखिएको छ’, काठमाडौं प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले अनलाइनखबरसँग भने, ‘स्मिथले विदेश लैजान लागेको बच्चा बाल मन्दिरमा संरक्षणका लागि राखिएको थियो ।’
बोगटीका अनुसार, शिशु दिएवापत डंगोललाई स्मिथले ८ हजार पाउण्ड (करिब ११ लाख नेपाली रुपैयाँ) दिने सहमति भएको थियो । ‘पेश्की स्वरुप ४ लाख रुपैयाँ लिइसकेको देखिन्छ’, उनले भने ।
बर्थिङ सेन्टरकी नर्स पनि समातिइन्
डंगोललाई पक्राउ गरेपछि प्रहरीले शिशु बेचविखनमा संलग्न अन्य व्यक्तिबारे पनि छानविन थालेको थियो । त्यसक्रममा कलंकीमा रहेको सञ्जीवनी बर्थिङ सेन्टरबाट थापाथलीस्थित प्रसुति गृहमा पठाइएको खुलेको अनुसन्धान अधिकृत बताउँछन् । सेन्टरकी सञ्चालक एवं स्टाफ नर्स निर्मला मगरले गर्भपतन गराउन आएकी उनलाई प्रसुतिका लागि पठाएकी थिइन् ।
‘निर्मलाले त्यसवापत पीडितलाई दिन्छु भनेर डंगोलबाट १ लाख ३५ हजार रुपैयाँको चेक लिएको देखिन्छ’, अनुसन्धान अधिकृत भन्छन्, ‘तर त्यो चेक बाउन्स भयो । उनले पीडितलाई चाहिँ नगद २४ हजार दिइसकेकी रहेछिन् ।’ मगरले एक महिना पहिले मात्र सेन्टर खरिद गरेकी थिइन् । उनैले शिशुबारे डंगोललाई खबर गरेको देखिएको अनुसन्धान अधिकृत बताउँछन् ।
घटनामा संलग्न अन्यको खोजतलास र प्रमाणिकरण गर्ने काम भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी बताउँछन् ।
होटलका कर्मचारीमाथि पनि निगरानी
अनुसन्धान अधिकृतले होटल याक एन्ड यतीमा कार्यरत कर्मचारी महेन्द्र खत्रीसँग पनि सोधपुछ गरेको छ । तर, उनको संलग्नताबारे बलियो सबुत भेटिएको छैन ।
स्मिथलाई नेपालमा होटल बुकिङ गराइदिने उनीहरुबीच अन्य आर्थिक कारोबार पनि भएको देखिएपछि उनलाई नियन्त्रणमा लिइएको स्रोत बताउँछ । तर, प्रकरणमा उनको स्पष्ट संलग्नता नदेखिएकाले प्रहरी मुद्दा चलाउने पक्षमा छैन ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4