Comments Add Comment

चिनियाँ राजदूतले अर्थमन्त्री भेटे, नाका सञ्चालनबारे छलफल

४ भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीबीच नेपाल-चीन नाकाहरुको प्रभावकारी सञ्चालनका सम्बन्धमा छलफल भएको छ ।

अर्थ मन्त्रीको सचिवालयका अनुसार बुधबार काठमाडौं-कोदारी, काठमाडौं-रसुवागढी सडक तथा र कोरला नाकामार्फत आवागमन बढाउने विषयमा छलफल भएको हो ।

भेटघाटको क्रममा चिनियाँ कम्पनीबाट नेपालमा भइरहेका निर्माण कार्यको समीक्षा हुनुका साथै चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको विषयमा पनि छलफल भएको थियो ।

काठमाडौं चक्रपथको दोस्रो चरणको निर्माण तयारी र चिनीया वित्तीय संस्थाको नेपालको पूर्वाधार विकासमा लगानी बढाउने सम्बन्धमा पनि छलफल भएको अर्थमन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।

बुधबार नै अर्थमन्त्री डा. खतिवडा र नेपालका लागि यूरोपियन युनियनका राजदूत एम.एस. भिरोनिका कोडीबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ । उक्त अवसरमा नेपालमा यूरोपियन युनियनको सहयोग र द्विपक्षीय हितका विषयमा छलफल भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

भेटका क्रममा कोडीले पछिल्लो समयमा यूरोपियन युनियनले नेपाललाई आर्थिक सहायता बढाउँदै गएको बताएका थिए ।

अर्थमन्त्री डा. खतिवडाले परियोजना कार्यान्वयन गर्ने निकायले नै स्वामित्व लिने गरी क्षमता विकासमा यूरोपियन युनियनको प्राविधिक सहयोग खर्च गर्नुपर्ने र नेपालको क्षमता नभएका विषयमा मात्र अन्तर्राष्ट्रिय परामर्शदाता परिचालनको नीति लिइएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment