Comments Add Comment

शालिकराम पुडासैनी मृत्यु प्रकरणमा फेला परे नयाँ तथ्य

७ भदौ, काठमाडौं । आज शनिबारका पत्रिकाहरुले फरक फरक समाचारलाई पहिलो पृष्ठमा स्थान दिएका छन् । बालगृहका नाममा ठगी धन्दा, सगरमाथा मापनको ९० प्रतिशत काम पूरा, पतिको हत्या गर्न पाँच खेताला लगायतका समाचार आजका पत्रिकामा पढ्न पाइन्छ । शनिबारीय अंक त छँदैछन् ।

कान्तिपुर दैनिकले आवासीय क्षेत्रमा मात्र घर बनाउन पाइने विधेयक संसदमा पेस भएको मुख्य समाचार लेखेको छ । समाचारमा लेखिएको छ- सरकारले मुलुकभरको जमिन १० प्रकारमा वर्गीकरण गरी कृषि, औद्योगिक तथा व्यावसायिक क्षेत्र, ठूला विकासे परियोजनाको विकास र प्रवर्द्धनको उद्देश्यले भू-उपयोग विधेयक संघीय संसदमा पेस गरेको छ । काठमाडौं उपत्यका, तराई-मधेस तथा पहाडी इलाकाका समथर भूमि सहरीकरणका नाममा मासिने क्रम बढेपछि सरकारले बाँकी जमिन, कृषि, व्यावसायिक र औद्योगिक क्षेत्र, ठूला परियोजनालगायतका लागि संरक्षण विधेयक ल्याएको हो । विधेयकमा जमिनलाई भूबनोट र उपयोगका दृष्टिले १० प्रकारमा वर्गीकरण गरिएको छ ।

यो विधेयक जस्ताको तस्तै संसदबाट पास भएर कानुनको रुप लिएमा कृषि, औद्योगिक र व्यावसायीक क्षेत्रमा घडेरी विकास गर्न पाइने छैन । साथै वर्गीकरणअनुसार जग्गाको छुट्टाछुट्टै स्रेस्ता र लालपूर्जा हुने छ ।

शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा फेला परे नयाँ तथ्य

कान्तिपुरले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा फेला परेका नयाँ तथ्यहरुलाई सार्वजनिक गरेको छ । मुख्य तीन आरोपीमध्येकी एक रुकु भनिने अस्मिता कार्कीसँग पुडासैनीले एसएमएस र फेसबुक च्याटको माध्यमबाट गरेको कुराकानीका अंश समाचारमा छ । समाचारमा राखिएका कुराकानीको केही अंश यस्ता छन्-

  • चैत ७ मा शालिकरामले अस्मितालाई लेखेका छन्, ‘सुन त, कोट म्यारिज गर्नी ल भोलि वा पर्सि । हुन्छ कि नाइँ ?’
  • शालिकरामकी पत्नी सम्झनाले अस्मितालाई लेखेकी छन्, ‘उसले मलाई मेरो बाटोमा कहिल्यै नआउनू भनेको छ । मैले फोटो पठाउँदा मलाई नै असर पर्छ । होस् नानु, मसँग नरिसाउनू ल । सरी पछि कुनै दिन पठाउँछु नि । अहिले चाहिँ सरी ल ।’
  • रवि लामिछानेलाई शालिकरामले लेखेका थिए, ‘दाइ मलाई माफ गर्नुहोला । तपाईंहरुले अफिसमा मलाई सधैं जिस्क्याउने मान्छेले मलाई धोका दिएकी छ दाइ ।’

कान्तिपुर लेख्छ- एक दिन शालिकरामले ९ः५५ मिनेटमा अस्मितालाई म्यासेज गरेर आफू घरअगाडि रहेको र जसरी पनि कि फोन उठाउन, कि घरबाहिर आउन दबाव दिएका थिए । उनले आफूलाई नभेटे वा फोन नउठाए सम्बन्धको कुरा दाइलाई भनिदिने भन्दै अस्मितालाई दबाव दिएको देखिन्छ ।

नेपाली अभिभावकले भारतीय ज्वाइँ खोज्ने क्रम बढ्यो

अन्नपूर्ण पोष्ट दैनिकमा नेपालमा २० वर्षमुनिको बिहेमा प्रतिबन्ध लगाइएपछि कलिलैमा भारतमा छोरीको बिहे गरिदिने क्रम बढेको मुख्य समाचार छ । ‘कलिलैमा भारतमा बिहे’ शीर्षकको समाचारमा बाँकेका राधा कुम्हार, अञ्जली मौर्य, फुलंगी यादव, सुमन खटिकलाई प्रतिनिधि पात्रको रुपमा प्रस्तुत गरिएको छ ।

‘बाँकेमा सीमावर्ती भारतीय सहरसँग ‘रोटी बेटीको सम्बन्ध’ शताब्दीऔंदेखिको हो,’ अन्नपूर्ण लेख्छ, ‘अभिभावककै संलग्नतामा बालविवाह गर्ने गलत चलन कायमै छ ।’ तर मुलुकी अपराध (संहिता) ऐन २०७४ मा बीस वर्ष नपुगी विवाह गर्न वा गराउन नहुने व्यवस्था छ ।

अन्नपूर्णमा दाङको महेन्द्र बहुमुखी क्याम्पसको लमही नगरपालिका टिकलीगढस्थित ८२ बिघा जग्गा मुक्त कमैयाको नाममा कब्जा भएको र महोत्तरीकी एक महिलाले आफ्नो पतिको हत्या गर्न साढे चार लाख रुपैयाँ दिएर पाँच खेताला प्रयोग गरेको समाचार पनि छ ।

समाचारमा लेखिएको छ, ‘महोत्तरीको बर्दिबास-३ गौरीडाँडाका सरोज भनिने श्रवण थापा असार ३१ गते मृत भेटिए । उनको शव वीपी राजमार्गअन्तर्गत बर्दिबासस्थित स्मृति पार्कनजिकै फेला परेको थियो । एक महिनापछि सरोजको हत्या भएको खुलेको छ । पत्नी पूजाले भाडाका पाँच अपराधी प्रयोग गरी हत्या गराएको पाइएको महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए ।’

बालगृहका नाममा ठगी धन्दा

नागरिक दैनिकले बालगृहका नाममा ठगी धन्दा चलिरहेको समाचार छापेको छ । १० कक्षासम्म निःशुल्क पढाइदिने लगायतका प्रलोभन देखाएर अभिभावकहरुसँग रकम असुल्ने, तर दर्तासमेत नभएका बालगृहमा ल्याइसकेपछि बालबालिकालाई अचित वातावरण नदिने गरेको पाइएको बालकल्याण समितिको प्रतिवेदनले औंल्याएको नागरिकको समाचारमा उल्लेख छ ।

सगरमाथा उचाइ मापनको ९० प्रतिशत काम पूरा

गोरखापत्र दैनिकमा सगरमाथाको उचाइ मापनको ९० प्रतिशत काम पूरा भएको समाचार छ । उचाइ मापनको नतिजा सार्वजनिक गर्न आगामी पुस महिनाको समय निर्धारण गरिएको नापी विभागका अधिकारीले बताएका छन् ।

राजधानी दैनिकमा नेकपा अध्यक्ष प्रचण्डले अर्का नेता माधव नेपाललाई फकाउने प्रयास थालेको मुख्य समाचार छ । यसैगरी नेपालका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई भारतले मान्यता दिएको र तस्रो मुलुकबाट आयात हुने १८० कम्पनीका हजारौं ब्रान्डका औषधि नेपाल आयात हुने गरेको समाचार पनि छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment