१६ असोज, काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउने ताकत आफ्नो पार्टीले राख्ने बताएकी छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
‘कांग्रेस परिवर्तनकारी शक्ति हो । आम जनताले खोजेको परिवर्तनको नेतृत्व लिन सक्यो भने परिवर्तनबाट प्राप्त उपलब्धीलाई बचाउने ताकत पनि नेपाली कांग्रेसले राख्छ,’ उनले भनिन् ।
संविधान संशोधनसहित कतिपयले वर्तमान शासन व्यवस्थाका सन्दर्भमा आफ्ना बिचार राख्ने गरेका छन् । कांग्रेसभित्र पनि धर्मनिरपेक्षतालाई लिएर बेला–बेला बहस हुने गर्दछ ।
यो पृष्ठभूमिमा कांग्रेसकी उपसभापति भुसालले आफ्नो पार्टी परिवर्तनकारी शक्ति भएको र परिवर्तनबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्ने ताकत पार्टीले राख्ने बताएकी हुन् ।
साथै, पछिल्लो गत वर्ष भएको जेनजी आन्दोलन र उक्त आन्दोलनले ल्याएको परिवर्तन र युवापुस्ताले चाहेको समाजको सपना पूरा गर्न पनि पार्टी प्रतिबद्ध रहेको उनले बताइन् ।
‘सुशासन, संविधान र कानुन भन्दा बाहिर गएएर कांग्रेसले केही गर्दैन । हरेक नागरिकले अवसर प्राप्त गर्नुपर्छ भन्ने विपीको बिचारलाई शिरोधार गर्दै अगाडि बढ्छौं,’ उनले भनेकी छन्, ‘कांग्रेस नयाँ पुस्ताको सपना बोकेर अगाडि जान्छ । कांग्रेसले नै ४१ प्रतिशत जेनजीले खोजेको सुशासन र भ्रष्टाचार नियन्त्रणको समाजको कल्पना पूरा गर्न सक्छ ।’
महिलाहरूको समग्र विषयलाई अगाडि बढाउने उनको प्रतिबद्धता छ । उनले थपेकी छन्, ‘हिंसामुक्त समाज, भय भुक्त राजनीति नै हाम्रो संकल्प हो ।’
विशेष महाधिवेशनबाट आएको नेतृत्वले नियमित महाधिवेशन गर्दैछ । महाधिवेशनमा ७ हजार ६ सय बढी प्रतिनिधि सहभागी छन् ।
प्रतिक्रिया 4