Comments Add Comment

प्राचीन रानीहरुको सौन्दर्य रहस्य

प्राचीन समयमा अहिलेका जस्तो बजारिया सौन्दर्य प्रशाधन थिएनन् । न त ब्युटी पार्लर थिए । त्यसो भए उनीहरु आफ्नो सौन्दर्यमा कसरी निखार ल्याउँथे ? कसरी आफ्नो अनुहार एवं छालालाई चम्किलो र मुलायम बनाउथे ? भन्ने प्रश्न उठ्नु स्वाभाविक छ ।

भनिन्छ, त्यस जमनामा उनीहरुले प्राकृतिक ढंगले आफ्नो सौन्दर्य कायम राख्थे । प्राकृतिक सरसामानकै प्रयोगबाट उनीहरुले आफ्नो सौन्दर्य निखार्थे ।

जस्तो कि गुलाब जलमा नुहाउनु, फलको फेस माक्स लगाउनु । यी सबै कुरा सौन्दर्य बढाउनका लागि गरिन्थ्यो । जबकी यसमा कुनै रसायन हुँदैनथ्यो र प्राकृतिक सुन्दरता प्राप्त हुन्थ्यो । अब केही सुन्दरीहरु र उनीहरुले आफूलाई सुन्दर बनाइराख्न गरेका कामबारे चर्चा गरौं ।

नूरजहाँ

सुन्दरीको कुरा गर्दा नूरजहाँको नाम लिने गरिन्छ । ई. १५७७ मा अफगानिस्तानमा जन्मिएकी उनको नाम सुरुमा ‘मेहर उन निसा’ थियो । पछि उनी नूर जहाँ नामले चर्चित भइन् । उनको बिहे एक इरानी युवकसँग भएको थियो तर जहाँगिरको शासनकालमा युद्ध हुँदा उनका श्रीमान मारिए । उनलाई जहाँगिरका सेनाले पकडेर दिल्ली ल्याए र परीचारिका बनाएर राखे ।

नूरजहाँलाई देख्नासाथ सुन्दरताले मोहित बनेका जहाँगिरले अन्ततः उनीसँग बिहे गरे । बिहेपछि जहाँगिरले ‘मेहर उन निसा’को नाम ‘नूरजहाँ’ राखिदिए । उनले आफ्नो सुन्दरता र कुटिल शैलीका कारण राजकाज आफैंले चलाउन थालेको बताइन्छ ।

नूरजहाँको सुन्दरताको राजको कुरा गर्दा उनी गुलाबको ताजा पत्रले नुहाउँथिन् । त्यसका लागि उनले नुहाउने ठाउँमा गुलाफको फूलका पत्र भिजाएर राखिन्थ्यो । यही गुलाबको फूलले उनको सौन्दर्य लामो समय कायम रहेको इतिहासहरुमा पढ्न पाइन्छ ।

हेलन अफ ट्रोय

भनिन्छ हेलन अफ ट्रोय पनि निकै सुन्दर थिइन् । उनी आफ्नो केसलाई घना र सुनौलो बनाइराख्नका लागि मह एवं ओलिभ आयल अर्थात जैतुनको तेल प्रयोग गर्थिन् । मह र ओलिभ आयलको मिश्रण गरेर उनी कपालमा लगाउने गर्थिन् । साथै उनले उक्त मिश्रण आफ्नो शरीरमा पनि लगाउने गर्थिन् । यसबाट पोषण मिल्ने भएकाले उनको शरीर मुलायम र सुन्दर थियो ।

मेरी एन्टोनेट

रानी मेरी एन्टोनेट आफ्नो छालाको रुखोपन हटाउनका लागि दूध पाउडर, अन्डाको सेतो भाग र कागतीको रस प्रयोग गर्थिन् भनिन्छ । यसरी प्रयोग गर्दा अनुहारको चमक लामो समय कायम रहने बताइन्छ ।

रानी भिक्टोरिया

रानी भिक्टोरियासँग एक विशेष प्रकारको अत्तर थियो । उनी स्वयम् गुलाबबाट त्यस्तो अत्तर बनाउने गर्थिन् । यसले सुगन्धका साथै अनुहारको चमक कायम राख्न मद्दत गर्थ्यो ।

रानी क्लियोपेट्रा

भनिन्छ रानी क्लियोपेट्रा गधाको दूधमा मह र जैतुनको तेल लगाएर नुहाउँथिन् । यसमा एन्टि एजिङ गुण पाइन्थ्यो । साथसाथै भित्रैबाट सुन्दर पनि कायम राख्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment