Comments Add Comment

यसरी मिलाउनुहोस् गरगहना र मेकअपको तालमेल

महिलाहरुले कुनै पनि विशेष अवसरका लागि तयार हुने क्रममा प्रायः दुई वटा कुरामा ध्यान दिनु पर्छ । पहिलो कुरा हो गरगहनाको छनोट अनि दोस्रो कुरा हो ती गरगहनासंग तालमेल मिल्ने शैलीको मेकअप ।

धेरै वटा गरगहना लगाएर कुनै समारोहमा जान लाग्नु भएको छ भने तपाईंले हल्का मेकअप गर्नु पर्छ । भारी गरगहना लगाएको बेला भारी मेकअप गरियो भने त्यो निकै भद्दा र नसुहाएको देखिन्छ । त्यस्तो बेला लाइट मेकअपमै तपाईं राम्री देखिनु हुन्छ ।

तपाईंलाई सुनका परम्परागत गहनाहरु लगाउने सौख छ भने तपाईंको मेकअप निकै हल्का हुनुपर्छ । पहेंलै हुने गरी गरगहना लगाएको बेला अति नै सामान्य मेकअप गर्नु ठिक हुन्छ । परम्परागत गरगहना लगाएको बेला आँखाको मेकअपमा ध्यान दिए पुग्छ । त्यसका लागि पुराना हिन्दी चलचित्रका अभिनेत्रीहरुले गर्ने मेकअपलाई समेत फलो गर्न सकिन्छ । आँखाको मेकअपका लागि मस्कारा लगाउन सकिन्छ । ओठमा गाढा लिपिस्टिकको साटो हल्का, प्राकृतिक रंगको लिपस्टिक लगाउँदा सुहाउँछ ।

यदि तपाईं कुनै समारोहमा एउटै मात्र रंगको पहिरन लगाउँदै हुनुहुन्छ र त्यसको साथमा गह्रौं खालका स्टोनले बनेका रंगीन गरगहना लगाउँदै हुनुहुन्छ भने त्यो बेला पनि तपाईंले आफ्नो आँखामा मात्र मेकअप गरे पुग्छ । आँखामा स्मोकी आई मेकअप गर्दा तपाईं आकर्षक देखिनु हुन्छ । यदि तपाईं ग्ल्यामरस देखिन चाहानु हुन्छ भने आँखामा हल्का पहेंलो अथवा हरियोलाई मिश्रण गरेर आईस्याडो लगाउन सक्नु हुनेछ । अनुहार (गाला) मा हल्का पहेंलो रंगले ब्लश गर्न सकिन्छ भने कोरल लिपिस्टिकबाट ओठलाई सजाउन सकिन्छ ।

यदि तपाईं कुनै समारोहमा जाँदा पाश्चात्य पहिरन (वेस्टर डे्रस) का साथमा कालो र सेतो रंगका पर्ल गरगहना लगाउने योजना बनाइरहनु भएको छ भने आँखाको माथिल्लो परेलामा हल्का सेतो रंगको आइस्याडो लगाउनु पर्छ । यसका साथै मस्कारालाई दुई-तीन तहसम्म लगाउनु पर्छ । गालालाई आकर्षक देखाउन लाइट कोरल ब्लसर तथा हल्का सुन्तला रंगको लिपिस्टिक लगाउनु पर्छ । पर्ल गरगहनाका साथमा गाढा रातो लिपिस्टिक समेत लगाउन सकिन्छ ।

हीराका गरगहनाका साथमा पनि आँखाको मेकअपलाई ध्यान दिनु पर्छ । हीराका गहना लगाउँदा आँखालाई हल्का खैरो बनाएर मेकअप गर्न सकिन्छ । त्यसका लागि गाढा रंगको गाजल ता मस्कारा सुहाउँछ । अनुहारलाई कोमल देखाउनका लागि हल्का रंगको ब्लस प्रयोग गर्नु पर्छ । ओठमा गुलावी रंगको लिपिस्टिक लगाउन सकिन्छ । गाढा खैरो रंगको पेन्सिलले आँखीभौंलाई आकर्षक बनाउन सकिन्छ ।

कुनै विशेष रंगको जलप लगाइएको गरगहना लगाउने योजना बनाउन भएको छ भने त्यसका लागि त्यही रंगको मेकअप गर्नु उपयुक्त हुन्छ । हल्का गहुँगोरो अनुहार छ भने गुलावी रंगको मेकअप सुहाउँछ । रुबी अथवा गुलावी रंगको जलप भएको गहना लगाउँदै हुनुहुन्छ भने त्योसंग गुलावी ब्लसर प्रयोग गर्नु पर्छ । यस्तो मेकअपमा कालो पेन्सिलले आँखालाई सजाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment