९ असार, काठमाडौं । फ्रान्स र युरोपका अन्य भागहरूमा भएकोअत्यधिक गर्मी (हिटवेभ)बाट बच्न असुरक्षित क्षेत्रमा पौडी खेल्ने क्रममा फ्रान्समा कम्तीमा ४० जनाको डुबेर मृत्यु भएको छ। फ्रान्सका प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले मंगलबार आयोजित एउटा संकटकालीन बैठकपछि बोल्दै गत बिहीबारदेखि मृत्यु हुनेहरूमा धेरैजसो युवाहरू रहेको बताएका छन्।
देशका अधिकांश भागहरूमा तापक्रम करिब ४० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको दिन उनले यस घटनालाई ‘दुःखद त्रासदी’को रूपमा वर्णन गरेका छन्। खेलकुद मन्त्री मारिना फेरारीले पनि हिटवेभको समयमा अनाधिकृत क्षेत्रमा पौडी खेल्न जानुलाई खेलाची रूपमा लिन नहुने बताएकी छिन्।
यसबाहेक दक्षिणपूर्वी फ्रान्सको कार्पेन्ट्रसमा आफ्नै घरबाहिर कार भित्र बेहोस अवस्थामा फेला परेका दुई र चार वर्षका दुई बालबालिकाको मृत्युको मुख्य कारण पनि हिटवेभ नै रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
त्यस्तै बोर्डो क्षेत्रमा गर्मीका कारण स्वास्थ्यमा समस्या आउँदा ८० देखि ९५ वर्ष उमेर समूहका थप तीन जनाको मृत्यु भएको छ। फ्रान्सको मौसम पूर्वानुमान एजेन्सी ‘मेतियो–फ्रान्स’का अनुसार सन् १९४७ मा रेकर्ड राख्न सुरु गरेयता सोमबारदेखि मंगलबारसम्मको रात देशकै सबैभन्दा तातो रात बनेको छ।
फ्रान्सका ३० वटा स्टेशनहरूको औसत तापक्रम मंगलबार बिहान २१.६ डिग्री सेल्सियस पुगेको छ। यसअघि सन् २०१९ को जुलाई २५ मा २१.४ डिग्री सेल्सियसको रेकर्ड बनेको थियो।
यो हिटवेभले बोर्डो र पोइटियर्स लगायतका धेरै सहरहरूमा तापक्रमको रेकर्ड तोडेको छ भने पावर ग्रिड र सार्वजनिक सेवाहरूमा पनि दबाब बढाएको छ। व्यापक रूपमा एयर कन्डिसनिङको सुविधा नभएको फ्रान्सका ५४ वटा क्षेत्रहरूमा रेड अलर्ट जारी गरिएको छ र विद्यार्थीहरूलाई जोगाउन विद्यालयहरू चाँडै बन्द गरिएका छन् वा समय तालिका परिवर्तन गरिएका छन्।
युरोपका अन्य भागहरूमा पनि अत्यधिक गर्मी देखिएको छ। बेलायतको मौसम विज्ञान कार्यालयले चार दिने हिटवेभका कारण देशका केही भागमा तापक्रम ३९ डिग्री सेल्सियस नाघ्न सक्ने चेतावनी दिएको छ। यसले सन् १९५७ र १९७६ को जुन महिनामा कायम भएको ३५.६ डिग्री सेल्सियसको रेकर्डलाई सजिलै तोड्नेछ।
प्रतिक्रिया 4