+
+
Shares

११ जिल्लामा फैलियो बर्डफ्लु, काठमाडौं उपत्यका र काभ्रेमा बढ्दो संक्रमण

हालसम्मको तथ्यांक अनुसार संक्रमित क्षेत्रका ५ लाख ६९ हजार ८ सय ५८  पन्छी मारिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते २०:४७

९ असार, काठमाडौं । मुलुकका ११ जिल्लामा बर्डफ्लु  संक्रमण फैलिएको छ ।

पशु सेवा विभागले प्रतिवेदन सार्वजनिक गर्दै तीन महिनादेखि देशका विभिन्न स्थानमा देखिएको यो घातक संक्रामक रोग हालसम्म ११ जिल्लाका ८२ फरक–फरक स्थानमा पुष्टि भइसकेको बताएको हो ।

विभागका अनुसार ४ चैत २०८२ मा मोरङ जिल्लाबाट सुरु भएको यो संक्रमण हालसम्म झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा फैलिसकेको छ ।

यी जिल्लाका कुल ८२ स्थानमा प्रयोगशाला परीक्षणबाट बर्डफ्लु भएको प्रमाणित भएको हो । संक्रमण तत्काल नियन्त्रणमा लिन विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लु रोग नियन्त्रण कक्ष’ स्थापना गरी प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति परिचालन गरिएको विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी दिए ।

रोग नियन्त्रण गर्ने क्रममा सरकारले ठूलो संख्यामा पन्छी र पन्छीजन्य सामग्री नष्ट गरिएको विभागको भनाइ छ । हालसम्मको तथ्यांक अनुसार संक्रमित क्षेत्रका ५ लाख ६९ हजार ८ सय ५८  पन्छी मारिएका छन् ।

यसैगरी रोग फैलाउन सक्ने ९ लाख ८९ हजार ३ सय १३ वटा अन्डा र १ लाख ९५ हजार ४ सय ८५ किलो दानासमेत सुरक्षित रूपमा नष्ट गरिएको विभागले जनाएको छ ।

यो कार्यका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको समन्वयमा द्रुत कार्यदल परिचालन गरिएको थियो ।

हालको अवस्थाबारे जानकारी दिँदै विभागले कोशी प्रदेशमा भने संक्रमण केही हदसम्म नियन्त्रणमा आएको उल्लेख गरेको छ । सुरुवाती चरणमा कोशीमा पन्छी ओसारपसारमा लगाइएको रोक हाल खुकुलो बनाइएको छ ।

तर, काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा पालिएका पन्छीमा भने संक्रमण देखिने क्रम अझै बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुरमा जोखिम उच्च रहेको देखिएको छ ।

संक्रमण नियन्त्रणका लागि प्राविधिक रूपमा पनि विशेष तयारी गरिएको महानिर्देशक दाहालले बताए ।

विभागका अनुसार केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र अन्य राष्ट्रिय प्रयोगशाला मार्फत रोगको शीघ्र निदान गरिँदै आएको छ । रोग पुष्टि हुनासाथ जोखिम मूल्यांकन गर्न ‘आकस्मिक रोग अन्वेषण टोली’ खटाउने गरिएको छ ।

साथै, यो भाइरसको प्रकृतिमा कुनै परिवर्तन भए वा नभएको यकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा भाइरसको ‘सिक्वेन्सिङ’ गर्ने कार्यसमेत अगाडि बढाइएको विभागका महानिर्देशक दाहालले बताए ।

पशु सेवा विभागले पन्छीपालक कृषकलाई उच्च सतर्कता अपनाउन, फार्ममा जैविक सुरक्षाका उपाय कडाइसाथ लागु गर्न र पन्छीमा कुनै पनि असामान्य लक्षण देखिए वा एक्कासि मर्न थाले तुरुन्त नजिकैको पशु सेवा केन्द्रमा जानकारी गराउन अपिल गरेको छ ।

फार्म परिसरमा जैविक सुरक्षा विधि कडाइसाथ पालना गर्न, अन्डा राख्ने पुराना कागजी क्रेट पुन: प्रयोगमा नल्याउन र ढुवानीका साधनलाई फार्मभित्र प्रवेश गराउनु अघि अनिवार्य रूपमा निसंक्रमण गर्न अनुरोध गरिएको छ ।

त्यस्तै काग र जंगली चराचुरुङ्गीबाट घरपालुवा पन्छी जोगाउन जैविक सुरक्षाका मापदण्ड अपनाउनुका साथै पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र लिएरमात्र ढुवानी गर्न सचेत गराइएको छ ।

बर्डफ्लु बाहेक न्यून प्याथोजेनिक एभियन इन्फ्लुएन्जा, रानीखेत र ई–कोलाइ जस्ता रोगहरूका कारण पनि पन्छीहरूमा उच्च मृत्युदर देखिएको प्रयोगशाला परीक्षणहरूले पुष्टि गरेको छ ।

यस्ता बहुविधि संक्रमणबाट बच्न किसानलाई नियमित रूपमा खोप लगाउन र संक्रमण पुष्टि भई मरेका पन्छीलाई फार्म परिसरमै गहिरो खाडल खनेर पुरेपछि निसंक्रमण गर्न सुझाव दिइएको छ ।

विभागले कुनै पनि फार्म वा पन्छी बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परे वा मरे तुरुन्त नजिकैको सरकारी पशु सेवा निकायमा खबर गर्न आग्रह गर्दै रोग नियन्त्रणको यस साझा अभियानमा सबै सरोकारवालाको सहयोग र सचेतना आवश्यक रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?