Comments Add Comment

नेकपाको स्कूलमा गैरकम्युनिस्टलाई पनि पढाइने !

शंकर पोखरेलद्धारा कार्यभार हस्तान्तरण

८ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यकर्ताका लागि अल्पकालीन र दीर्घकालीन गरी दुईथरी स्कूल सञ्चालन गर्ने भएको छ ।

पार्टीको विचार, सिद्धान्त र समाजबारे बुझाउन नेकपाको स्कूल विभागले पाठ्यक्रम बनाएर देशभरी स्कूल चलाउने भएको हो । नेकपाको स्कूल विभागका नवनियुक्त प्रमुख ईश्वर पोखरेल तथा उपप्रमुखद्धय देवेन्द्र पौडेल र बेदुराम भुसाललाई कार्यभार हस्तान्तरण गर्दै साबिक एमालेका स्कूल विभाग उपप्रमुख शंकर पोखरेलले पार्टी बाहिरका व्यक्तिलाई पनि नेकपाका स्कूलमा पढाउन सकिने बताए ।

उनले नेकपा देशकै नेतृत्व गर्ने अगुवा शक्ति भएकाले पार्टीभन्दा बाहिरका इच्छुकहरुलाई पनि नेकपाको स्कूलमा पढ्ने व्यवस्था मिलाउन नयाँ नेतृत्वलाई सुझाव दिए ।

विगतमा एमालेले प्रशिक्षार्थीबाट शुल्क लिएरै स्कूल चलाएको स्मरण गर्दै उनले नेकपा बाहिरका व्यक्ति पनि पार्टीको स्कूलमा पढ्न चाहेमा शुल्क लिएर पढाउन सकिने बताए । साबिक एमालेको स्कूल विभागले तयार पारेका पाठ्यक्रम सहितका सामाग्री हस्तान्तरण गर्दै प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले पछिल्लो समय कार्यकर्तामा पढ्ने संस्कार घटेकोमा चिन्ता व्यक्त गरे ।

नेकपा कार्यकर्तामा पनिसामाजिक सञ्जाल बाहेक अरु सामाग्री नपढ्ने संस्कार देखिएको बताए । उनले यसअघि कम्युनिस्ट पार्टीको स्कूल विभागको खासै चर्चा नभए पनि नेकपाको स्कूल विभागको प्रमुखको बन्ने भन्ने विवादको समाचारले यो विभागलाई सबैको चासोको केन्द्र बनाएको बताए । विभाग चर्चित भएसँगै नयाँ नेतृत्वलाई चुनौति थपिएको उनको भनाइ थियो ।

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री तथा नेकपा स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले स्कूल विभागको प्रमुख बन्ने विवाद मिडियामा जसरी आएपनि नेकपाको सचिवालय बैठकमा कहिल्यै विवाद नभएको दाबी गरे । उनले पहिलो पटक स्कूल विभागको एजेण्डा प्रवेश गरेकै दिन पार्टीले सर्वसम्मत निर्णय गरेको बताए ।

स्कूल विभागले योजना बनाएर देशब्यापी स्कूल सन्चालन गर्ने र पार्टीमा बैचारिक जागरण ल्याउने उनले बताए । पार्टीको आधिकारिक नीति र योजनाअनुसार पाठ्यक्रम बनाउने र स्कूल विभागले तलसम्म लैजाने उनले बताए ।

यसअघि जनताको बहुदलीय जनवाद -जबज)को पक्षमा लबिङ गर्दै आएका नेता पोखरेलले स्कूल विभाग प्रमुख बनेपछि भने सो विषयमा केही बोलेका छैनन् । उनले पार्टीमा बैचारिक बहस गर्न खुला भएपनि स्कूल विभागले आधिकारिक बिचारलाई मात्र बोक्ने समेत प्रष्ट पारे ।

स्कूल विभाग उपप्रमुख देवेन्द्र पौडेलले कार्यकर्तालाई बैचारिक रुपमा सक्षम बनाउने बताउँदै अब २० वर्ष नेकपाले जनताको मतबाटै सत्ता चलाउने दाबी गरे ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा रहेको तत्कालिन एमालेको स्कूल विभागको कार्यालयमा आयोजित समारोहमा शंकर पोखरेलले नयाँ नेतृत्वलाई स्वागत गरेका थिए । सोही भवनमा नेकपाको स्कूल सन्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment