Comments Add Comment

डिस्कोर्स : बैरागी विश्वविद्यालय

०७५ सालको जगदम्वाश्री पुरस्कारका लागि आयामेली आन्दोलनका तीनमध्येका बाँकी रहेका एकमात्र कवि बैरागी काइँलालाई मदन पुरस्कार गुठीले सम्झ्यो । यो सम्झना फगत यौटा संयोग मात्र होइन । आफ्नो जीवनका उत्तम समयलाई नेपाली भाषा साहित्यको लागि मात्र होइन, लिम्वु भाषा साहित्यमा अतुलनीय र वन्दनीय योगदान पुर्‍याए वापत सम्झना गरिएको हो ।

यसै वर्षदेखि मदन पुरस्कार र जगदम्वाश्री पुरस्कार भने दुई लाख राशीबाट दोब्बर गरी चार लाख पुर्‍याइएको छ र यो बढेको राशी पाउने जगदम्वाश्री पुरस्कारले सम्मानित प्रतिभा उनी पहिलो हुनु पनि संयोग हो ।

कवि बैरागीलाई काव्यिक उचाइ र उडान दिने थलो दार्जीलिङ थियो, जहाँ ईश्वरवल्लभ र ईन्द्रबहादुर राईका साथमा उनी आयामेली आन्दोलनमा होमिएका थिए । मायाको मफलरदेखि मातेको मान्छेका भाषण अनि अन्धाहरु र हात्ति एवम् ब्रेलमा हत्केला छामेरदेखि चिनियाँ गाउँसम्मका कविता बैरागीका कविताका भौगोलिक, मानसिक, वौद्धिक र हार्दिक सिमानाका काव्यिक फैलावट हुन् । जीवनको लामो कालखण्डमा थारै लेखेर धेरै जस पाउने, थोरै लेखेर धेरै बाँच्ने, थोरै लेखेर अमिट छाप छोड्ने, थोरै बोलेर धेरै प्रभाविलो छाप छाड्ने अविश्रान्त कवि हुन् बैरागी काइँला । यस्तो प्रतिभा र भाग्य कमैले लिएर आएका हुन्छन् ।

गोविन्द गिरी प्रेरणा

काइँला पहिलोपल्ट नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सदस्यका रुपमा प्रवेश गर्दा धेरैको टिप्पणी उस्तैउस्तै थियो, मिल्दो जुल्दो थियो । उनी अवकाशप्राप्त कवि हुन् । भूतपूर्व भैसके । कतिवटा कविता लेखेका छन् र । कांग्रेसी हुनुको फल पाए आदि इत्यादि । तर, हजारौं कविका हजारौं कवितासँग भिड्न मातेको मान्छेको भाषण यौटै कविता पर्याप्त छ । हजारौं विद्रोही राजनीति गर्नेका हजारौं क्रान्तिकारी कवितासँग भिड्न मातेको मान्छेको भाषण यौटै काफी छ । यो कविताको शक्ति हो । कविको शक्ति हो ।

एकातिर उनी एकेडेमीमा आउँदा नै मान्छेहरु उनको कविता लेखनमा निरन्तरता नभएको भनेर खनिएका थिए । झन् उनले एकेडेमीमा लिम्वु भाषा साहित्य र संस्कृतिमाथि एकोहोरिँदा कुरा काट्नेहरुलाई सजिलो भएको थियो, कविता लेख्न् नसकेपछि आफ्नै जातीको संस्कारमा उनी अल्झिए ।

वास्तवमा त्यो समय उनले जे गरे त्यो थियो यौटा विश्वविद्यालयको निर्माणभन्दा कम थिएन । अहिले पनि नेपालमा विश्व विद्यालय भन्नेवित्तिकै त्रिभुवन विश्वविद्यालय भन्ने लाग्छ मान्छेलाई । लामो कालखण्डसम्म एक मात्र विश्वविद्यालय थियो नेपालमा, त्रिभुवन विश्वविद्यालय । त्यसैले त्रिभुवन विश्वविद्यालयको यस्तो छवी बन्यो ।

त्यस्तै नेपाली भाषा साहित्य र संस्कृति भन्नेबित्तिकै नेपाली भाषाको साहित्य, नेपाली भाषा बोल्नेहरुको संस्कृति मात्र बुझिने गरियो र सिंगो नेपालको अन्य जाती र भाषाको साहित्य र संस्कृति सधैं ओझेलमा पर्‍यो । त्यो ओझेलमा परेकामध्ये एक धनी लिम्बु भाषाको साहित्य र संस्कृतिलाई बैरागी काइँलाले आफ्नो एकेडेमी कालमा पूरा लागेर यौटा अदृक्ष्य र अघोषित विश्वविद्यालयको निर्माण गरे । हो, त्यसैलाई मैले बैरागी विश्वविद्यालय भनेको हुँ ।

नेपाली साहित्यको इतिहासमा आयामेली आन्दोलनको यौटा विशिष्ट अर्थ र महत्व छ । यसका प्रवर्तक तीन व्यक्तित्व थिए ईन्द्रबहादुर राई, ईश्वरबल्लभ र बैरागी काइँला । यी तीनमै यो सीमित रहृयो आयामेली आन्दोलन । मूल रुपमा ईन्द्रबहादुर राई गद्यमा तथा ईश्वरवल्लभ र बैरागी काइँला कविता क्षेत्रमा थिए ।

आजभन्दा ४७ वर्ष अघि विसं २०२९ मा ईश्वरवल्लभले आगोका फूलहरु हुन्, आगोका फूलहरु होइनन् कृतिका लागि मदन पुरस्कार पाएका थिए । त्यसको २३ वर्षपछि ०५२ सालमा ईन्द्रबहादुर राईले जगदम्बाश्री पुरस्कार पाएका थिए भने अहिले त्यसको २४ वर्षपछि बैरागी काइँलाले जगदम्बाश्री पुरस्कार पाएका छन् ।

यस हिसाबले हेर्दा आयामेली आन्दोलनका तीनै प्रतिभाहरु मदन तथा जगदम्बा पुरस्कारले सम्मानित तथा पुरस्कृत भएका छन् । यसले आयामेली साहित्य आन्दोलन र यसका अभियन्ताहरुले नेपाली साहित्यलाई पुर्‍याएको विशिष्ट योगदानको पुनर्पुष्टि भएको छ । पुरस्कृत हुने क्रम र देहान्तको क्रम पनि त्यसरी हुनु अर्काे संयोग हो । पहिला पुरस्कृत हुने ईश्वर बल्लभ पहिला नै गए, दोश्रो क्रममा पुरस्कार पाउने ईन्द्रबहादुर राई दोश्रो क्रममै गए । नेपाली वाङ्मय भाग्यमानी मान्नुपर्छ, यसले बैरागीबाट अझै योगदान पाउँदैछ ।

नेपाली साहित्यको इतिहासमा आयामेली आन्दोलनको यौटा विशिष्ट अर्थ र महत्व छ । यसका प्रवर्तक तीन व्यक्तित्व थिए इन्द्रबहादुर राई, ईश्वरवल्लभ र बैरागी काइँला । जगदम्वाश्री पुरस्कारले बैरागी काइँलाको स्वर्ण व्यक्तित्वमा जलप लगाइदिएको छ र अझ चहकिलो बनाइदिएको छ ।

आयामेली आन्दोलनका प्रमुख व्याख्याता ईन्द्रबहादुर राई थिए । पछि आयामेली आन्दोलनबाट अघि बढेर उनले लीला लेखनको बाटो समाते र त्यसैमा निरन्तर लागिरहे । उता ईश्वरबल्लभ बेला बखत आयामेली आन्दोलनका विषयमा बोले पनि फाट्टफुट्ट लेखन मात्रै गरे तेश्रो आयामको सम्वन्धमा । उनले सन् १९८० ताका आठौं दशक भन्ने साहित्यिक आन्दोलन गर्ने चर्चा थालेका थिए, तर त्यो चर्चामै सीमित रहृयो । बरु उनी रुपरेखामा बल्लभ र नयाँ प्रतिभामा अल्झिए । तर बैरागी काइँला भने यी सबबाट एक प्रकारले बेखबर झापामै बसिरहे साहित्य लेखनबाट पन्छिएर । तर झापाली साहित्यकारहरुका उनी अभिभावकको रुपमा रहेका थिए ।

बैरागी काइँला झपामै रहँदाखेरि धुलाबारीमा आयामेली आन्दोलनको रजत जयन्ति कार्यक्रमको आयोजना भएको थियो । त्यो रजत जयन्ति कार्यक्रममा बैरागी काइँला र ईन्द्रबहादुर राई उपस्थित थिए भने कुन्नी किन हो ईश्वरबल्लभ अनुपस्थित भए । जे होस् झापामा बैरागी साहित्यिक वृत्तमा माहुरीको रानो नै थिए । उनको बारेमा एकपल्ट तारानाथ शर्माले समालोचना लेख्ने क्रममा बैरागी काइँला झापामा जुम्रा हेर्दै बसेका छन् भनेर लेखेका थिए र धेरै लेखकहरुले र पाठकहरुले तारानाथ शर्माले बैरागी काइँलाले जुम्रा हेर्दै बसेको भनेर लेखेको चित्त बुझाएनन् र तारानाथमाथि धेरै मानिस खनिए ।

तर, वास्तवमा एउटा अन्तरवार्ताको क्रममा बैरागी काइँलाले म जुम्रा हेर्दै बसेको छु भनेका थिए, तारानाथ शर्माले त्यही प्रसङ्गलाई आफ्नो समालोचनात्मक लेखमा सामेल गरेका थिए ।उनी काठमाडौं बसाइ सर्नुअघिसम्म झापाको बैरागी निवास साहित्यिक आतिथ्यको यौटा बिछट्ट राम्रो चौतारो बनेको थियो ।

साहित्यिक जमातहरु झापा पुग्दा उनको घरमा दशैंको चहलपहल हुन्थ्यो । तर उनी लेखनबाट भने बेखबर नै थिए । मैले बैरागी काइँलालाई विसं २०३८ सालमा विराटनगरको शनिबार साहित्य समूहले आयोजना गरेको विराट साहित्य सम्मेलनमा पहिलोपल्ट देखेको हुँ । वास्तवमा त्यो सम्मेलनमा आयामेली आन्दोलनका तीनै प्रतिभाहरु लामो समयको अन्तरालमा एकसाथ सहभागी भएका थिए र सारा सहभागीहरु आयामेली आन्दोलनका त्रिमुर्तीहरु एकसाथ देख्न पाउँदा आयोजक शनिबार साहित्य समूहलाई मूरी मुरी धन्यवाद दिएका थिए ।

कृतिगत रुपमा बैरागी काइँलाका दुई मात्र कविता कृति प्रकाशित छन् । एक, बैरागी काइँलाका कविता (२०३१) तथा अन्धामान्छेहरु र हात्ती (२०६८) । तर लिम्वु भाषा साहित्यको क्षेत्रमा उनका लेखन र सम्पादनका कृतिहरु कविताको तुलनामा अत्याधिक नै मान्नु पर्छ । ती कृतिहरु हुन्ः १, महागुरु फाल्गुनन्दका उपदेशहरु (२०४७), लिम्वु जातीमा कोख पूजा (२०४७), ३, लिम्वु भाषा तथा साहित्य विचार गोष्ठी (सं.२०५०) ४, ससिक मुन्धुम (सं.२०५२), ५, त्रसि्र तक्मा मुन्धुम (सं.२०५३), ६, इर्ष्या  र आँखीडाहीको आख्या अर्थात् -नाहेन मुन्धुम (सं.२०५१), ७, साम्सोघा मुन्धुम अर्थात् प्रेतात्माको आख्यान (सं.२०५१) ८ ससिक मुन्धुम अर्थात् मोचमार्ने आख्यान (सं.२०५२), ९, लिम्वु ग्रन्थ सूचि (सं.२०४९), १०, लिम्वु-नेपाली-अंग्रेजी शव्दकोश (सं.२०५८), १०, नेपाली समाजको बदलिंदो समीकरण (२०५८), ११, तक्सिङ तक्मा मुन्धुमः आख्यान र अनुष्ठान (सं.२०५२), १२, लिम्वु भाषा : स्तरीकरण कार्यशाला (सं. २०६८), १३, मुजिङ्ना, खोयङ्ना मुन्धुम अर्थात् मु.खो.को आख्यान (२०७०), १४, खाप्पानुमा मेल्लङ्हाङ्मा मुन्धुम (२०७०), १५, लाहादङ्ना-सुहाम्फेवा मुन्धुमः आख्यान र अनुष्ठान (२०७०), १६, नाम्सामी-केसामी मुन्धुम अर्थात् उत्पत्तिको आख्यान (२०७०) १७, पाजाइवा मुन्धुम अर्थात् अक्कान्माको उत्पत्तिको आख्यान र अनुष्ठान (२०७०) लगायतका मौलिक तथा सम्पादित कृतिहरु छन् ।

त्यसका साथै उनले नेपाल तथा नेपाल बाहिर बेलायतसम्म पनि साँकृतिक विशेषज्ञका रुपमा सम्मेलनहरुमा पुर्‍याएको योगदान अति उच्च छ । लिम्वु भाषा साहित्यमा यति गहन, आधिकारिक र वृहत् योगदान पुर्‍याउने हालसम्मा उनी एक मात्र व्यक्तित्व हुन् । र यो योगदानलाई मदन पुरस्कार गुठीले पहिचान गर्‍यो र त्यसको उच्च कदर गर्‍यो ।

आयामेली त्रिमूर्तिमा बैरागीको ईन्द्रबहादुर राईसँग बढी निकटता थियो । ईन्द्रबहादुर राई बेलाबखत साहित्यिक कार्यक्रममा झापा आउँदा उनैकहाँ बस्ने गर्थे । साहित्यिक कार्यक्रम नभएको बेलामा पनि ईन्द्रबहादुर राई छुट्टी मनाउन पनि झापा बैरागी निवासमा ओर्लन्थे दार्जीलिङ्बाट । काठमाडौं बसाइ सरेपछि पनि काठमाडौंको साहित्यिक कार्यक्रममा भाग लिन आउँदा, पुरस्कार सम्मान थाप्न आउँदा ईन्द्रबहादुर राईको बास बैरागी काइँलाको घरमै हुन्थ्यो ।

मैले उनीसँग यौटा लामो अन्तरवार्ता बैरागी निवासमै लिने अवसर पाएको थिएँ । उनीहरुबीच वौद्धिक छलफल र गहन विचार आदान प्रदान हुन्थ्यो । बैरागी काइँला उतिसारो वक्ता नदेखिए पनि उनीभित्र यौटा विराट विद्वत् व्यक्तित्व छ । आयामेली साहित्यलाई ईन्द्रबहादुर राईभन्दा सरल र वोधगम्य रुपमा बुझ्ने श्रोत व्यक्ति बैरागी काइँलामात्र एक थिए र हुन् ।

जगदम्बाश्रस् पुरस्कारले बैरागी काइँलाको स्वर्ण व्यक्तित्वमा जलप लगाइदिएको छ र अझ चहकिलो बनाइदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment