Comments Add Comment

राजाले जगेडामा राखे, दिनभर कविता लेखेर बसें : पूर्वमुख्यसचिव घिमिरे

'अहिले साहित्यबाहेक अरु कुरा सोच्न छाडेको छु'

७ भदौ, काठमाडौं । एक साताअघि पूर्वमुख्यसचिव भोजराज घिमिरेको  कथा सङ्ग्रह ‘अन्तिम प्रश्न’ बजारमा आयो । सङ्ग्रहमा रहेका १६ कथाहरुलाई समालोचकहरुले ‘नेपाली साहित्यका फरक र गुणवत्ताको हिसावले साहित्यको इतिहासमा उल्लेख गर्नैपर्ने किसिमका’ भन्दै टिप्पणी गरे ।

यसअघि ४ गजल सङ्ग्रह, २ गीती सङ्ग्रह, ४ वटा गीती एल्बम र प्रशस्त फुटकर गीत-गजलहरु लेखेका घिमिरेले यसपटक कथा सङ्ग्रह प्रकाशनमा ल्याएका हुन् । समालोचकहरुले निकै प्रसंसा गरेपछि हामीले पूर्वप्रशासक एवं अर्थशास्त्री डा. घिमिरेसँग साहित्यिक कुराकानी गर्‍यौं ।

बीच-बीचमा हामीले उनको आँखाबाट अर्थशास्त्र र प्रशासनतर्फ पनि चिहायौं । तर, प्रशासनिक इतिहास र अर्थशास्त्रका जटिल तथ्याङ्कमा भन्दा उनी  साहित्यकै लहरीमा बढी लहरिन चाहे । सरकारी अधिकारीहरुले सुझाव माग्ने गरे पनि त्यसतर्फ मन जान छाडेको घिमिरेले सुनाए ।

आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहले जगेडामा हालिदिएपछि आफ्नो साहित्यिक उन्नयन भएको घिमिरेले सुनाए ।

तपाईं लामै समय नेपाल सरकारको मुख्यचचिव बन्नुभयो । गिरिजाप्रसाद कोइराला, प्रचण्ड र माधव नेपालजस्ता तीन प्रधानमन्त्रीसँग काम गर्न पाउनुभयो । त्यसतर्फ फर्केर हेर्दा कस्तो महसुस हुन्छ ?

मुख्यसचिवबाट सेवा निवृत्त भएपछि प्रशासनिक कुरा सम्झन्न चाहन्न । आजभोलि म पूर्णरुपमा साहित्यिक भएको छु । कहिलेकाहीँ विज्ञका रुपमा सरकारका विभिन्न तहबाट सुझाव सल्लाहका लागि बोलावट हुन्छ । तर, उहाँहरुलाई म प्रेमपूर्वक अस्वीकार गर्छु । ती कार्यक्रममा जानु भनेको, यहाँ यो भएन, यो ठीक छैन भन्न नै जाने हो । ६० कटेपछि त्यस्ता कुरामा रुची नै लाग्न छाड्यो । बरु साहित्य साधना गर्‍यो, त्यसमै आनन्द आउँछ ।

तैपनि यति चाहिँ भनिदिनु पर्‍यो, तीन प्रधानमन्त्रीमध्ये काम गर्दा सबैभन्दा बढी आनन्द कोसँग आयो ?

निश्चय नै गिरिजाप्रसाद कोइरालासँग बढी निकट थिएँ । उहाँ मलाई छोरा जत्तिकै स्नेह र विश्वास गर्नुहुन्थ्यो । मैले लगेका कुनै पनि प्रस्ताव उहाँले अस्वीकार गर्नुभएन । मेरा बुवा पनि सानैमा बित्नुभएका कारण उहाँको स्नेहले मलाई पितातुल्य लाग्दथ्यो । त्यसैले हाम्रो सम्बन्ध धेरै गहिरो थियो ।

उसो त सूर्यबहादुर थापा पनि कर्मचारीतन्त्रलाई साह्रै विश्वास गर्नुहुन्थ्यो । तर, मुख्यसचिवका रुपमा उहाँसँग काम गर्न पाइनँ ।

राजाले आफ्नो सक्रिय शासनकालमा मलाई गिरिजाको मान्छे भन्दै जगेडामा राखिदिए । यसले मेरो साहित्यिक उन्नयनमा धेरै ठूलो सहयोग गर्‍यो । काम नभएकाले दिनभरि कविता र गजल लेखेर बस्थेँ

कर्मचारीतन्त्रको स्वतः बढुवासम्बन्धी निर्णय तपाईंका पालामा भयो । जसको ठूलो विरोध पनि भयो । यसमा कुनै टिप्पणी गर्न मन लागेको छ ?

त्योबेला म अर्थसचिव थिएँ । अर्थसचिवका रुमपा कर्मचारीतन्त्रको एउटा निर्णयले देशलाई कति आर्थिक नोक्सानी हुन्छ र कुन तरिकाले निर्णय गर्दा कर्मचारीको हित पनि हुन्छ र आर्थिक भार पनि पर्दैन भनेर हेर्नुपर्छ । म आफैं अर्थशास्त्रको विद्यार्थी र जिम्मेवार पदमा भएका नाताले म कर्मचारी भए पनि देशको हितमा काम गर्नुपर्ने थियो । मैले कर्मचारी साथीहरुले ल्याएको प्रस्ताव नमानेका कारण विरोध भएको हो । अरु कुरा प्राविधिक हुन् । आज साहित्यकै विषयमै कुरा गरौंं ।

तपाईं साहित्यमा धेरै पुरानो लेखक होइन, तर धमाधम पुस्तक लेखिरहनुभएको छ । यसरी साहित्यको चस्का कहिलेदेखि पस्यो ?

पुरानो होइन, तर सौखिन हुँ । अहिले पनि हरेक आमाको मुख हेर्ने दिनमा आमा शीर्षकको गीत सबै सञ्चारमाध्यममा दिनभरि नै बजिरहेको सुन्नुहुन्छ । मजदुर दिवसका दिन मजदुरहरुले ‘गरा गरामा…’ गीत सबैको मुखमा झुण्डिएको देख्छु । निजामती सेवा दिवसका दिन पनि कर्मचारी गीत बजेको सुन्छु । मेरा गीत चाहीँ निकै बढी छन् । तर, पनि म धेरै पुरानो साहित्यकार होइन ।

कति पुरानो हो ?

म योजना आयोगको सचिव हुँदा ०६० सालमा मेरो अफिसमा एस्पी कोइराला, विमल कोइराला, सुरेन्द्र खड्का, शक्ति बल्लभ, चूडामणि देवकोटा र केशव भट्टराई आउनुभएको थियो । उहाँहरु गीत र साहित्यका कुरा गर्दै हुनुहुन्थ्यो । त्योबेला मलाई पनि यो साहित्यिक हुलमा मिसिन मन लाग्यो र तुरुन्तै एउटा गीत तयार पारेर उहाँहरुलाई देखाएँ । छक्क पर्नुभयो । त्यसपछि शक्ति बल्लभले एउटा एल्बम निकाल्ने प्रस्ताव गर्नुभयो । यसरी नै साहित्यमा प्रवेश भयो ।

तपाईले सुरुमा गजल लेख्नुभयो । त्यसपछि मेरा गजल ठीक छैनन् भन्नुभयो । नयाँ-नयाँ गजल सङ्ग्रह ल्याउन छाड्नुभएन । यस किसिमको विरोधाभास किन ?

खासमा मैले गजलहरु त लेखेँ, तर ती गजल बहरमा लेखिएका थिएनन् । दुईवटा गजल सङ्ग्रह निकालेपछि महसुस भयो, मैले जगलको राम्रो अध्ययन नगरी लेखिरहेको छु । मानिसहरु मलाई सम्मान गर्छन् भने मैले स्तर पनि कायम गर्नुपर्छ । त्योबेला मैले मेरा गजल ठीक छैनन् भनेको हुँ ।

तेस्रो गजल सङ्ग्रह भने बहर र छन्दमा लेेखें । यसले पुरानो गल्ती सच्चियो । तर, त्यतिले पनि चित्त बुझेन । केवल बहरमा लेखिएका गजल निकालेपछि बल्ल सन्तुष्ट भएँ ।

तपाईंले कविता पनि निकै लेख्नुभयो । तर, अहिले कविता नै लेख्न छाडेँ, भन्नुहुन्छ । कारण के थियो ?

राजाले आफ्नो सक्रिय शासनकालमा मलाई गिरिजाको मान्छे भन्दै जगेडामा राखिदिए । यसले मेरो साहित्यिक उन्नयनमा धेरै ठूलो सहयोग गर्‍यो । काम नभएकाले दिनभरि कविता र गजल लेखेर बस्थेँ ।

ती सबै कथाहरु मध्ये छानेर ०६५ सालमा ‘भोजराजका कविताहरु’ प्रकाशन भएपछि एक प्रकारले कविताबाट अघाएँ । त्यसपछि घोषणा गरेरै अब कविता लेख्दिन भनेको हुँ ।

कथा लेखनको सुरुवातचाहिँ कसरी भयो ?

निजामती सेवाको लोकतान्त्रीकरणमा पनि मैले आफैंबाट काम सुरु गरेँ । मैले पीएनसँग हात मिलाउन थालेँ

आख्यानमा मलाई सुरुदेखि नै रुचि थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि गिरिजा बाबुले मलाई शान्तिप्रक्रियाको महत्वपूर्ण जिम्मेवारी दिनुभयो । म दैनिक १८ घन्टासम्म ब्यस्त रहन्थेँ । तिर्सना लागेका बेला टुक्रा गजल र कविता लेखेर मन शान्त पार्दथेँ । तर, कथाको तिर्सना कसरी मेटिने ? सेवा निवृत्त भएपछि साहित्यमा पूर्णरुपमा लाग्ने योजना बनिरहेका बेला मलाई क्यानेडाको राजदूत बन्ने अफर आयो ।

तर, संंयोग कस्तो पर्‍यो भने क्यानडामा प्रवासी नेपालीहरुले ‘अटवा चौतारी’ नामक पत्रिका निकाल्नु हुँदोरहेछ । उहाँहरुले त्यसका लागि मसँग केही रचना माग्नुभएको थियो । मैले  छानी-छानी राम्रा गजल दिएँ । तर, उहाँहरुले गजल राख्न उति रहर गर्नुभएन । त्यसपछि यही मौका हो भन्दै धमाधम कथा लेख्न थालेँ । क्यानडा बसुन्जेल मैले प्रशस्त कथाहरु लेखेँ ।  तिनै कथाहरुमध्ये छानिएका कथाहरुको सङ्कलन नै ‘अन्तिम प्रश्न’ पुस्तक हो ।

कथाका पात्रहरुको सुरुको अक्षर ब र व मात्र छन् । किन यस्तो गर्नुभएको हो ? केही कारण छ ?

छैन । एउटा प्रयोग हो । कथाकारले आफ्ना कथाहरुलाई अरुभन्दा कसरी फरक बनाउने चिन्ता गर्छ नै । त्यही फरकपन होस् भन्ने हिसावले ती पात्रका नाम आएका हुन् ।

नयाँ-नयाँ विधामा हात हाल्ने तपाईंको बानी नै हो । अब कुन विधातिर जाँदै हुनुहुन्छ ?

मैले तीनवटा उपन्यास लेखिसकेको छु । यसमध्ये एउटा उपन्यास चाँडै प्रकाशन गर्छु । मलाई मनपर्ने विधा आख्यान नै भएको छ, अहिले । त्यतातिर जान्छु होला ।

फर्किएर हेर्दा प्रशासन सुधार अन्तरगत आफूले गरेको कुन काममा तपाईंलाई सन्तुष्ट हुन्छ ?

म योजना आयोगका सचिव हुँदा प्रशासनमा सुधार गर्ने लक्ष्यमा थिएँ । म जता गए पनि पुरुषहरु मात्रै ठूला पदमा हुँदा चिमोटिरहन्थ्यो । त्यहीबेला स्वास्थ्य मन्त्रालयबाट प्राविधिक तर्फकी सुधा शर्मालाई सचिव बनायौं । योग्यताका हिसावले उहाँभन्दा पुरुषसाथीहरु माथि हुनुहुन्थ्यो । पुरुष साथीहरुको विरोध खपेर पनि उहाँलाई ल्याइयो ।

त्यसैगरी वृन्दा हाडालाई पनि हामीले रिस्क लिएरै सचिवमा सिफारिस गर्‍यौं । यसो गर्दा निजामती सेवा बिगारेको आरोप लाग्यो । तर, परिवर्तनका लागि गाली खान तयार हुनुपर्छ भनेर त्यो काम गरियो । आज फर्किएर हेर्दा त्यो सन्तोषको  विषय हो ।

त्यसैगरी निजामती सेवाको लोकतान्त्रीकरणमा पनि मैले आफैंबाट काम सुरु गरेँ । अफिसमा पीएन र हाकिमबीच कामको प्रकृति फरक होला, तर मानवीयरुमपा दुवै एक हुन् भन्ने हिसावले मैले पीएनसँग हात मिलाउन थालेँ । यसो गर्दा मेरो निकै आलोचना भयो । हात मिलाएर कसरी लोकतान्त्रिक हुन्छ भन्ने प्रश्न पनि आयो । तर, उनीहरुले बुझेनन्, लोकतन्त्र भनेको शासन होइन, व्यवहार हो ।

म आफूचाहिँ यस्ता साना-साना कुरा गरेकोमा खुसी छु । त्यसबाहेक बाहिरका व्यक्तिले सचिव वा कुनै कर्मचारीलाई भेट्ने हो भने २ बजेपछि मात्र भेट्नुपर्छ भन्ने नियम थियो । जनताको सेवा गर्ने मान्छेले बजे तोकेर जनतालाई भेट्नु भनेको फेरि पनि अलोकतान्त्रिक अभ्यास गर्नु हो । त्यस्ता बोर्डहरु मैले सबै मिल्काएँ । म रिटायर्ड भएपछि सुन्दैछु, त्यस्ता बोर्डहरु पुनः लागेका छन् ।

तपाईंको साहित्य लेखनमा यस्ता कुरा आउँछन् कि आउँदैनन् ?

अहिलेसम्म आएका छैनन् । विस्तारै आउलान् । मेरालागि लेख्न गाउँका कथाहरु प्रशस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment