Comments Add Comment

फिल्म समीक्षाः टिठलाग्दो नम्रताको ‘जाइरा’

शाह वंशका अन्तिम राजा ज्ञानेन्द्रले गद्दी त्याग गरेयता अरु थुप्रै श्रीपेचविहिन राजाको जन्म भएको छ । यी राजाहरु सत्ता र शक्तिलाई आफ्नो पञ्जामा राखेर समाजमा ब्रम्हालुट मच्याइरहेका छन् ।

आफुलाई राजा ठान्ने र राजशी जीवनशैली भोग गर्ने यो अतृप्त चाह कालोधन, लुटपाट, हत्या, अपहरण, बलात्कारको रुपमा प्रकट भइरहेको छ । सुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जाइरा’मा पनि यस्तै एक राजा छन्, जो सत्ता र शक्तिको आडमा बलात्कार, हिंसाको शृंखला जारी राख्छन् । यद्यपि यो चलचित्रका केन्द्रिय कथा ‘राजा’को होइन ‘जायरा’को हो, जो राजाहरुको साम्राज्य ध्वस्त बनाउने कसरतमा छिन् ।

कस्तो छ कथा ?

‘जाइरा’ (नम्रता श्रेष्ठ) किक बक्सिङका खेलाडी हुन् । उनी बक्सिङ रिङमा आफ्नो विपक्षीलाई धुलो चटाएर विजेता बन्ने कठोर मेहनतमा जुटेकी छिन् ।

उनलाई किनपनि यति कठोरतासँग जुध्नुपर्ने छ भने, सानैमा उनले पुरुष अर्थात पिताको साथ गुमाइन् । स्वार्थी पिताले सानैमा छाडेर गएपछिको दुर्दशाले उनलाई निरिह बनाएको छैन, बरु हिम्मत जुटाइदिएको छ, केही गर्नुपर्छ भन्ने । आफुलाई शसक्त, आत्मनिर्भर बनाउनकै खातिर जायरा पसिना चुहाउँदैछिन् ।

अर्कोतिर मार्ने र मर्ने खेल सुरु भइसकेको छ । यस खेलमा सामेल छन्, जायराकै श्रीमान् रोय (अनुपविक्रम शाही) । जायरा र रोय नवविवाहित दम्पती हुन् । रोयले जायराको भावनालाई बुझेका मात्र छैनन्, सम्मान पनि गरेका छन् ।

रोय खासमा प्रहरी निरीक्षक हुन् । एक बलात्कारको मुद्दालाई लिएर उनले शक्तिको उन्मादमा मातिएका राजा (प्रमोद अग्रहरी)सँग सिङ जुधाएका छन् ।

राजा खुलमखुला बलात्कार गर्छन्, हत्या गर्छन् । हरेक प्रहरीलाई उनको कालो-कृत्य थाहा छ, तर सबूत प्रमाणको अभावमा प्रहरीले आँखा चिम्लनुपरेको छ । अर्कोतिर सत्ता र शक्तिलाई आफ्नो औंलामा नचाइरहेका राजासामु प्रहरी प्रशासन बामपुड्का छन् ।

यसैबीच राजा बिरुद्ध कदम उठाएका प्रहरी निरीक्षक रोय मारिन्छन् । अब जायरामा बदलाको भाव जाग्छ, उनी बक्सिङ रिङभित्र होइन, बाहिरका खेलाडी ‘राजा’लाई पत्तासाफ गर्ने खेलमा होमिन्छन् । यसपछिको घम्साघम्सी हेर्नका लागि भने तपाईंले सिनेमा घरमा साढे एक घण्टा गुजार्नुपर्नेछ ।

के छ राम्रो ?

‘जब महिलालाई पुरुषबाट अलग गरिदै लगिन्छ, तब उनमा प्रतिशोधको भावना जाग्छ  । यो नयाँ पुस्ताका महिलाको कुरा हो, श्रीमानबाट अलग भएपछि पुर्पुरोमा हात राखी विलौना गर्दै बस्ने महिला होइनन् ।

जस्तो कि यो कुरालाई एउटा दृश्यबाट निकै कलात्मक ढंगले उजागर गरिएको छ । रोयलाई श्मशान घाटमा जलाइरहँदा आकासबाट पानी दर्किरहेको छ । छातामा ओंत लागेका मलामीहरु एकपछि अर्को गर्दै ओझेल हुन्छन् । अन्ततः दनदनी जल्दै गरेको चिता अगाडि जायरा एक्लै हुन्छिन् । यहिबेला दर्के झरी र हावाको झोंकाले उनको छाता उडाएर लान्छ । ओत लाग्ने छाता हातबाट फुत्किएपछि उनी झरीबाट भाग्दिनन्, बरु त्यसैमा रुझिरहँदा उनमा प्रतिशोधको कठोरता पैदा हुन्छ । यो दृश्या निकै अर्थपूर्ण छ र फिल्मको मूख्य गुदी पनि यसैमा समेटिएको छ ।

एक महिला जसले सानै छँदा पिताको साथ गुमाइन् । पिताको अभावमा खेपेका दुःख सम्झेर उनमा आत्मनिर्भर हुने दृढता पलाएको छ । वैंशालु उमेरमा उनले एक पुरुषको साथ पाउँछिन् । तर, ति पुरुषको पनि हत्या भएपछि ति महिलाले उठाउने हिम्मतिलो र अविचलित कदम नै यसको मूल-मर्म हो ।

चलचित्रमा नम्रता निकै मेहनत गरेकी छिन् । एक मार्शल आर्ट खेलाडी बन्नका लागि उनले अफस्क्रिन गरेको मेहनत प्रष्ट देखिन्छ । एक्सन लेडीको रुपमा जायरा अर्थात नम्रता फिट छिन् । अनुपविक्रम शाही र प्रमोद अग्रहरीको अभिनय पनि कमसल छैन ।

यसकारण टिठलाग्दो

नेपालीमा एउटा भनाई छ, ‘बालुमा पानी ।’ यसको सोझो अर्थ हो, निरर्थक मेहनत । जायराका लागि अभिनेत्री नम्रता श्रेष्ठले जति पसिना चुहाएकी छिन्, ति मूल्यहिन छन् ।

खासमा डेढ घण्टाको फिल्म लामो होइन, तर यत्तिका अवधी गुजार्न पट्यारलाग्छ । फिल्ममा आउने नाटकिय मोड र फितलो प्रस्तुतीले दर्शकलाई हाइ काड्न बाध्य तुल्याउँछ । ‘जाइरा’को जरा अर्थात पटकथा नै मक्किएको छ । यस्तो पटकथामा टेकेर निर्देशक अशुतोष राज श्रेष्ठले खास जादु देखाउन सक्ने पनि होइन, उनी आफै खुस्किएका छन् ।

एक्सन फिल्ममा दुईवटा कुरा महत्वपूर्ण हुन्छ, एक प्रविधिको चमत्कार । अर्को, प्रतिशोधको भयानक खेल । ‘जाइरा’मा न चमत्कार छ, न प्रतिशोधको भयानक खेल नै ।

एक भिलेन छन्, जो भिडियो गेममा झै बन्दुक चलाएर जो-कोहिलाई सजिलै मार्न सक्छ । सिगारको धुँवा र गोलीले मान्छे उडाउनेबाहेक उनले त्यस्तो केही गरेका छैनन्, जसले दर्शकमा उनीप्रति घृणा र भय पैदा गरोस् । भिलेनमा भयानकता नभएपछि हिरोले जतिसुकै फुर्ती देखाएपनि त्यो फिका लाग्छ । जायरा यस्तै फिका दृश्यहरुको फितलो संयोजन हो ।

‘जाइरा’का लागि न रिङभित्र, न रिङबाहिर कडा प्रतिस्पर्धी छैनन् । दुबै ठाउँमा उनको अपराजित यात्रा जारी रहन्छ ।

‘जाइरा’लाई एक्सन लेडीको रुपमा उतार्नका लागि निर्देशकले एकदमै हतार गरेका छन् । जायराले बक्सिङ प्रशिक्षण लिएको, रिङभित्र घम्साघम्सी परेको र क्लाइमेक्समा गुण्डाहरुलाई धुलो चटाएको दृश्य देखाउनकै लागि अरु घटनाक्रमलाई राम्ररी पेश गर्न सकिएको छैन । फिल्ममा एकाध पात्रलाई शसक्त बनाउने चक्करमा अरु पात्रहरु बुख्याँचा बनाइएको छ ।

एक्सन जनराको फिल्म भएपनि फिल्ममा एक्सनको रोमाञ्चकता हेर्न पाइने छैन । फिल्मले रहस्य र धोकाधडीलाई शसक्त रुपमा प्रस्तुत गर्न नसकेकाले  ‘टु बि कन्टिन्युड’सम्म पुग्दा दर्शक रित्तिइसकेका हुन्छन् । नम्रताकै करियरलाई धक्का दिने फिल्म हो यो ।

फिल्म : ‘जाइरा’

निर्देशक: अशुतोष राज श्रेष्ठ

जनरा: एक्सन

कलाकार : नम्रता श्र्ष्ठ, अनुप विक्रम शाही, प्रमोद अग्रहरी आदि ।

अवधी : एक घण्टा ३५ मिनेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment