Comments Add Comment

केपी र माधवको कोपभाजनमा पर्दैछ धरानको उपचुनाव

नेकपाको अन्तरद्वन्द्वबाट फाइदा उठाउने कांग्रेसको दाऊ

६ भदौ, धरान । आगामी मंसिर १४ गते हुने मेयरको चुनावका लागि धरान उपमहानगरपालिकामा उम्मेदवारहरुको दौडधूप सुरु भएको छ । मेयरको दौडमा नेकपाभित्र ओलीपक्ष, माधव नेपाल पक्ष र प्रचण्ड पक्षका उम्मेदवारवीच आन्तरिक प्रतिस्पर्धा देखिएको छ भने प्रतिपक्षी नेपाली कांग्रेसबाट पनि दाबेदारहरु तयार हुन थालेका छन् ।

प्रतिपक्षी कांग्रेसका उम्मेदवार तिलक राईलाई करिब ४ हजार मतान्तरले हराउँदै मेयर बनेका नेकपाका तारा सुब्बाको गत वर्ष निधन भएपछि अहिलेसम्म धरान उपमहानगरपालिकाको मेयर पद खाली छ ।

निर्वाचन आयोगले देशैभरि रिक्त रहेका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका ५० सीटमा आगामी मंसिर १४ गते उपचुनाव गर्ने मिति घोषणा गरिसकेको छ ।
उपचुनावको मिति घोषणा भएसँगै धरानमा मेयर पदका लागि दाबेदारहरु अगाडि सर्न थालेका छन् ।

नेकपामा प्रतिस्पर्धा

नेकपा सुनसरीका नेताहरुले दिएको जानकारीअनुसार नेकपाका तर्फबाट मेयरका प्रमुख दाबेदार सुनसरी जिल्ला कमिटी सदस्य प्रकाश राई छन् । धराने जनतामा भिजेका पुराना नेता भएकाले यसपालि प्रकाश राईले मेयरको टिकट पाउने सम्भावना बढी रहेको एक नेताले बताए ।

प्रकाश राई

स्रोतका अनुसार प्रकाश राई माधव नेपाल समूहका नेता भएकाले केपी ओली पक्षका नेताहरु प्रकाशलाई टिकट दिनुहुन्न भन्ने लाइनमा रहेका छन् । केपी ओली पक्षले विजय राई, रमेश बस्नेत र मुरारी सुवेदी लगायतका नेताहरुको नाम अगाडि सारेको छ ।

तर, स्थानीय जनतामा घुलमिल भएका नेतालाई उम्मेदवार बनाउँदा मात्रै जीत सुनिश्चित हुने भएकाले विजय राई भन्दा प्रकाश राईकै पल्ला भारी रहेको नेकपा नेताहरु बताउँछन् ।

त्यसैगरी उपमेयरमा नेकपामै मञ्जू भण्डारी कार्यरत रहेको र धरानजस्तो ठाउँमा जातीय सन्तुलनसमेत मिलाउनुपर्ने भएकाले रमेश बस्नेत र मुरारी सुवेदीजस्ता क्षेत्री-बाहुन नेताले मेयरको टिकट पाउने सम्भावना न्यून रहेको नेताहरु बताउँछन् । यो अवस्थामा जनजाति उम्मेद्वारले नै प्राथमिकता पाउने र प्रकाश वा विजयमध्ये एकजनाले टिकट पाउने एक जिल्ला नेताले अनलाइनखबरलाई बताए ।

हुन त धरानको मेयर पदका लागि पूर्वमेयर मनोज मेन्याङबोको पनि दाबी रहेको स्रोत बताउँछ ।

धरानले प्रदेशसभामा सभामुखसमेत पाएको छ, जसमा नेकपाका प्रदीप भण्डारी छन् । त्यसैगरी सुनसरी १ को प्रदेश (ख) अन्तरगत पर्ने प्रदेशसभा सदस्यमा पनि खसआर्य समुदायकै भीम आचार्यले जितेको हुनाले जातीय सन्तुलनका लागि मेयर पद आदिवासी-जनजाति समुदायको भागमा पर्ने सुनिश्चित भएको नेकपाका नेता बताउँछन् ।

धरानको मेयरमा प्रकाश राईको उम्मेदवारी लगभग निश्चित रहेको माधव नेपाल पक्षका नेताहरुको दाबी छ । तर, केपी ओली पक्षका नेताचाहिँ भूगोलमा लोकपि्रयताको हिसाबले प्रकाश राईले नै उम्मेदवारी पाउने सम्भावना रहे पनि संस्थापन पक्षलाई सहयोग गर्ने प्रतिवद्धता नआएमा पूर्वमाओवादीका मुक्साहाङ लिम्बुले टिकट पाउन सक्ने बताउँछन् ।

प्रचण्डसँग निकट रहेका मुक्साहाङले केपी ओली पक्षमा दह्रो गरी उभिने प्रतिवद्धता जनाएको खण्डमा संस्थापन पक्षले उनलाई प्रकाश राईको विकल्प खोज्न सक्ने संकेत दिएको छ । स्रोतका अनुसार ओली पक्षले प्रकाश राईलाई आफ्नो गुटप्रति ख गराएर मात्र टिकट दिने रणनीति बनाएको छ । तर, सुनसरी जिल्ला कमिटी र धरान नगरकमिटीमा केपी ओली पक्षको पकड कमजोर छ । यहाँ माधव नेपाल पक्ष बलियो छ ।

धरानको मेयरमा नेकपाका प्रतिस्पर्धीहरु बढी देखिएको स्थानीय राजनीतिक विश्लेषकहरु बताउँछन् । पूर्वएमालेबाट प्रकाश राई, नारायण सुवेदी, विजय राई र मनोज मेन्याङ्बो मेयरका आकांक्षी छन् । त्यसैगरी पूर्वमाओवादीबाट मुक्साहाङ र भर्खरै विप्लव समूहबाट आएका किरण राई मेयरका आकांक्षी हुन् ।

कतिपयले पूर्वमाओवादी किरण राई उठेमा जित्ने, अरुको हकमा अन्तरघात हुन सक्ने बताउँदै आएका छन् । तर, पूर्व एमालेका नेताहरु किरण राईलाई टिकट दिने पक्षमा छैन । उपमहानगरपालिका भएकालेले यहाँ सीधै प्रधानमन्त्रीबाटै हस्तक्षेप हुने सक्ने ठानिएको छ ।

कांग्रेसमा दुई प्रतिस्पर्धी

वामपन्थीको गढ रहँदै आएको धरानमा यसपालिको उपनिर्वाचनमा मेयर पद हत्याउने दाउमा कांग्रेसका नेताहरु लागेका छन् । नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङले आफूलाई मेयरको उम्मेदवार घोषणा गरिसकेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत तामाङले मेयरमा चुनाव लड्ने भन्दै यही साता प्रतिष्टानबाट राजीनामा दिएका छन् ।

सुजेन्द्र तामाङ

तर, मेयरको उम्मेदवार बन्नका लागि कांग्रेस नेता सुजेन्द्रका लागि पार्टीभित्रैका बाधा हुन् तिलक राई । धरान नगर कमिटीको सभापतिसमेत रहेका राई अघिल्लोपटक मेयरमा चुनाव लडेर नेकपाका तारा सुब्बासँग करिब ४ हजार मतान्तरले हारेका थिए । अहिले उपचुनावको मौका आएकाले तिलक स्वतः दाबेदार हुन् ।

यद्यपि नेपाली कांग्रेसले विवादरहित ढंगबाट आफूलाई उम्मदेवार तय गर्ने कांग्रेस नेता तामाङ बताउँछन् । मेयरमा चुनाव लड्नका लागि आफूले वीपी प्रतिष्ठानका राजीनामा दिइसकेको बताउँदै तामाङले कांग्रेस र अन्य साना दलहरुवीच तालमेल हुने दाबीसमेत गरे ।

त्यसो त धरान नगरपालिकामा मंसिर १४ गते मेयरको मात्र नभएर वडा नम्बर ७ का वडाध्यक्षको समेत निर्वाचन हुँदैछ । वडा नम्बर ७ मा समाजवादी पार्टीलाई सघाएर मेयरमा उक्त दलको समर्थन लिने गृहकार्य नेपाली कांग्रेसले गरिरहेको नेताहरु बताउँछन् । धरानमा उपेन्द्र-बाबुराम नेतृत्वको समाजवादी पार्टी नेकपा र कांग्रेसपछिको तेस्रो ठूलो दल हो ।

धरान ७ का वडाध्यक्ष एवं नेकपा नेता भुवन मोक्तानको निधन भएकाले त्यहाँ पनि मेयरको सँगै उपनिर्वाचन हुन लागेको हो ।

कस्तो छ शक्ति सन्तुलन ?

धरानमा गत स्थानीय चुनावमा नेकपाका मेयर तारा सुब्बाले २० हजार भन्दा बढी मत पाएर जितेका थिए । कांग्रेसका तिलक राईले १६ हजारको हाराहारीमा मत ल्याएर दोस्रो स्थान हासिल गरेका थिए ।

मेयरको प्रतिस्पर्धामा तेस्रो स्थानमा संघीय समाजवादीबाट मेयरको उम्मेवार बनेका अइन्द्र बेघाले ११ हजारको हाराहारीमा मत पाएका थिए । त्यो मत तत्कालीन माओवादी केन्द्र र संघीय समाजवादीको साझा मत थियो । त्यसबेला उनीहरुवीच तालमेल भएको थियो । तर, अहिले माओवादी केन्द्र एमालेसँग मिसिएको छ । धरानमा माओवादीको मत ५ हजारको हाराहारीमा र समाजवादीको मत ६ हजारको हाराहारीमा रहेको विश्लेषकहरुको दाबी छ ।

राजनीतिक विश्लेषक एवं पत्रकार भवानी बराल धरानमा हुने मेयरको उपचुनावमा पुरानो गणित काम नलाग्ने बताउँदै भन्छन्, यसपालिको चुनाव नेकपाले सोचेजस्तो सजिलो छैन, कांग्रेस र नेकपावीच कडा प्रतिस्पर्धा हुने सम्भावना छ

पुरानै गणितलाई आधार मान्ने हो भने आगामी उपनिर्वाचनमा एमालेले पाएको २० हजार मतमा पूर्वमाओवादीको ५ हजार थपियो भने नेकपाले २५ हजारसम्म ल्याउन सक्छ । त्यस्तै कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गर्‍यो भने २० हजारको हाराहारीमा मत पाउन सक्छ ।

तर, राजनीति गणितका आधारमा मात्रै चल्दैन । केन्द्र, प्रदेश र स्थानीय तहमा सरकार चलाइरहेको नेकपाको जनमत केही खस्केको स्वयं नेकपाका नेताहरु स्वीकार्छन् ।

उता नेपाली कांग्रेसका नेताहरु चाहिँ धरान नगरपालिकाले जथाभावी लगाएको कर, केन्द्रमा ओली सरकारको बदनामी अनि लोकसेवाको विज्ञापनले आदिवासी जनजातिमा ल्याएको असन्तुष्टि जस्ता कारणहरुले गर्दा नेकपाको भोट ह्वात्तै घट्ने दाबी गर्दछन् । यो स्थितिमा नेपाली कांग्रेसले साना दललाई मिलायो र आपसमा अन्तरघात भएन भने धरान नगरपालिकामा ऐतिहासिक जित हात पार्ने दाबी जिल्ला सचिव सुजेन्द्र तामाङको छ ।

तर, कांग्रेसको दाबीलाई नेकपाका नेताहरु ठाडै अस्वीकार गर्छन् । धरानमा नेकपाको जित सहजै हुने सत्तारुढ नेकपाका एक नेताले दाबी गरे । तर, यसका लागि नेकपाभित्र एकता हुनुपर्ने पहिलेको भन्दा अलि बढी मिहेनत गर्नुपर्ने महसुस चाहिँ नेकपा नेताहरुले गरेको देखिन्छ ।

कांग्रेसले समाजवादी पार्टीको भोट आफूले पाउने आशा गरिरहे पनि संघीय समाजवादीका नेताहरु उपनिर्वाचनमा उम्मेदवारी दिएर आफ्नो पार्टीको जनमत बुझ्ने बेग्लै रणनीतिमा रहेको सो पार्टी निकट नेताहरु बताउँछन् ।

स्रोतका अनुसार धरानमा समाजवादी पार्टीले आफ्नो उपस्थिति विगतको भन्दा बलियो बनाएको छ । उपेन्द्र यादव र अशोक राईको एकता अनि त्यसपछि बाबुराम भट्टराईसमेत एकीकृत भएपछि धरानमा यो पार्टी बलियो तेस्रो शक्ति बनेको स्थानीय बुद्धिजीवी बताउँछन् ।

धरानमा कांग्रेस र नेकपा बाहेक समाजवादी पार्टी तेस्रो शक्ति हो भने त्यसबाहेक संघीय लिम्बुवान पार्टीसँग पनि केही मत छ । राप्रपा भने धरानमा निकै कमजोर बनेको छ । लक्ष्मण बस्नेतबाहेक राप्रपाका अन्य नेताहरु मीनकुमार सुब्बा, श्री सुब्बा, ज्ञानेन्द्र श्रेष्ठ, मुकुल कायस्थ आदि नेकपामा प्रवेश गरिसकेकाले राप्रपासँग पुग-नपुग एक हजार भोट रहेको अनुमान छ ।

धरान निवासी राजनीतिक विश्लेषक एवं पत्रकार भवानी बराल मंसिर १४ गते हुने चुनावमा पुरानो गणित काम नलाग्ने बताउँछन् । नेकपाले पहिले पाएको मत घट्ने र आन्तरिक प्रतिस्पर्धाका कारण अन्तरघातसमेत हुन सक्ने बराल बताउँछन् । उनी भन्छन्- ‘धरानमा यसपालिको चुनाव नेकपाले सोचेजस्तो सजिलो छैन, कांग्रेस र नेकपावीच कडा प्रतिस्पर्धा हुनेवाला छ र समाजवादी पार्टीले पनि आफ्नो स्थिति बलियो बनाउँदै लगेको स्थिति छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment