Comments Add Comment

सरकार छाड्न र राजपासँग एकता गर्न उपेन्द्र यादवमाथि दबाव

८ भदौ, जनकपुरधाम । सरकारसँग दुई बुँदे सहमति गरेर डेढ बर्षअघि सरकारमा पुगेको तत्कालीन संघीय समाजवादी फोरम नेपाल (अहिलेको समाजवादी) पार्टी यतिबेला सरकार छाड्नुपर्ने आन्तरिक दबावमा छ । साथै राजपासँग चाँडो एकता टुंग्याउनुपर्ने दबाव दोस्रो दबाव पार्टी नेतृत्वमाथि परिरहेको छ ।

संविधान संशोधनकै लागि सरकारमा गएको बताएका अध्यक्ष यादवले ३ असोज ०७५ मा संविधान दिवसका दिन पार्टीको प्रदेश २ समितिलाई संविधानविरुद्व कार्यक्रम गर्न दिएका थिएनन् । यद्यपि अहिले सरकारले संविधान संशोधन गर्न नचाहेको बताउँदै उप्रधानमन्त्री यादव स्वयंले असन्तुष्टि पोख्न थालेका छन् । यहीबेला संविधान दिवस फेरि आउन लागेको छ ।

पछिल्लो समय आफ्ना मन्तव्यमा उपप्रधानमन्त्री यादवले चाँडै सरकारबाट बाहिरिने बताइरहेका छन् । यादवको पार्टीमा रहेका मधेसका नेताले पनि केन्द्र सरकारबाट चाँडो हट्न दबाव दिन थालेका छन् ।

‘समय घकिँदै गएको छ, अब अध्यक्षजीले सोच्ने बेला आइसकेको छ’ समाजवादी पार्टीका जनकपुर उपमहानगर कमिटीका अध्यक्ष बिसुनदेव साह भन्छन्, ‘धेरै समय लम्ब्याइयो भने जनताले सोच्न बाध्य भइहाल्छन्, किनभने सरकारमाथि जनताको विश्वास घट्न शुरु भइसकेको छ ।’

कम्युनिष्ट नेतृत्वको सरकार संविधान संशोधन गर्ने पक्षमा नदेखिएको कार्यकर्ताले बुझ्न थालेको बताउँदै साह भन्छन्, ‘संघीय सरकार छाड्न पार्टीको आन्तरिक दबाव छ । हाम्रो पार्टी जति चाँडो सरकारबाट बाहिर आउँछ, त्यत्ति राम्रो हुन्छ । केन्द्रदेखि तलसम्मका कार्यकर्ताको ईच्छा नै यही हो ।’

उप्रधानमन्त्री यादव ०७५ साल जेठ १४ मा संविधान संशोधन गर्ने सम्झौता गरेर सरकारमा गएका हुन् । पार्टीले उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएको छ । सरकारमा उपेन्द्र यादव र इस्तियाक राई सहभागी छन् ।

बिसुनदेव साह

समाजवादी पार्टीका जनकपुर अध्यक्ष साह त्यसबेला संविधान संशोधनका निम्ति सरकारमा जानु बाध्यता भएको स्वीकार गर्छन् । उनी भन्छन्, कांग्रेस र नेकपाका नेताहरुले यो संविधान ९२ प्रतिशत प्रतिनिधिद्वारा बनाइएको संसारकै उत्कृष्ट हो भनेका थिए । तर संविधान संशोधन गर्ने सहमति गरेर सरकारले संविधान अधुरो रहेको संसारलाई देखाइदियो ।’

आफ्नो पार्टी संविधान संशोधनका लागि दुई तिहाई पुर्‍याइदिन सरकारमा गएको साहको तर्क छ । उनी भन्छन्, ‘यदि सरकारमा नगएको भए दुईतिहाई पुग्दैनथ्यो । संविधान संशोधनका लागि दुई तिहाई पुर्‍याउन पार्टी सरकारमा गएको हो ।’

‘वैकल्पिक शक्ति बनाउन राजपासँग एकता’

समाजवादी पार्टीका नेता साह मुलुकमा वैकल्पिक शक्तिको खाँचो रहेको बताउँछन् । मुलुकमा दुई ठूला पार्टी कम्युनिस्ट र कांग्रेस भए पनि सोच दुबैको एउटै रहेको उनको तर्क छ ।

राजपासँग एकता हुनुपर्ने बताउँदै साह भन्छन्, ‘अब मधेसी, आदिवासी, जनजाति, मुस्लिमसहित सबैको सहभागितामा तेस्रो शक्ति बनाउनु अपरिहार्य छ । सम्भवतः दशैं अगाडि नै राजपासँग एकीकरण हुन्छ ।’

जनकपुरका मेयरमाथि आक्रोश

स्थानीय तहको निर्वाचनमा साह समाजवादी फोरम नेपालका तर्फबाट जनकपुरधाम उप-महानगरपालिकाको मेयरका प्रत्यासी थिए । तर, उनी ३६१२ मत ल्याएर राजपाका उम्मेदवार लालकिशोर साहसँग पराजीत भए ।

आफूले रकम खर्च गर्न नसक्दा पराजित हुनुपरेको दाबी गर्दै साहले देशैभरि पैसाको चलखेल गर्नेहरु चुनाव जितेर आएको र अहिले उनीहरु पैसा कमाउनेतिर लागेको आरोप लगाए ।

जनकपुरमा एडीबी प्रोजेक्टको सडक बन्नुबाहेक केही काम हुन नसकेको भन्दै साहले मेयर लालकिशोरको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाए । उनले भने, ‘यहाँ नालाको समस्या जस्ताको त्यस्तै छ, बाढी आएको समयमा जनकपुर डुबान भएको सम्झँदा पुग्छ ।’

मेयरले आफ्ना नातागोतालाई टेण्डर, ठेक्का दिइरहेको साहको आरोप छ । उनी भन्छन्, ‘विभिन्न नातागोताले चुनाव खर्च दिएका थिए’ त्यही भएर टेण्डर र ठेक्का उनीहरुलाई नै दिइरहेका छन्, यसरी विकास हुँदैन ।’

कमिसनका कारण जनकपुरधाम बदनाम भइसकेको बताउँदै साह यसमा सुधार गर्नुपर्ने बताउँछन् । विगतमा सँगै आन्दोलन गरेको र निकट भविश्यमै एउटै पार्टी बन्न लाग्दा पनि मेयरले आफूसँग कुनै सरसल्लाह नगरेको साहको गुनासो छ ।

उनी भन्छन्, ‘अहिलेसम्म कुनै बैठकमा मलाई बोलाइएको छैन । मनोमानी तरिकाले काम गरेर मेयरले तानाशाही प्रवृत्ति देखाइरहेका छन्, यस्तो प्रवृत्ति हटाउन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment