Comments Add Comment

विश्वकप छनोट दोस्रो चरण : मिडफिल्डमा आश, डिफेन्समा चिन्ता

१८ भदौ, काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणको अवे खेलमा नेपालले भोलि कुवेतसँग उसैको भूमिमा प्रतिस्पर्धा गर्दैछ । यो खेल यस अर्थमा महत्वपूर्ण छ कि नजिताले नेपाली फुटबलको आगामी बाटो धेरै हदसम्म तय गर्न सक्छ ।

प्रशिक्षक योहान कालिनको प्रशिक्षणमा रहेको नेपाली फुटबल टिमले चैत ७ र ११ गते दुई मैत्रीपूर्ण खेल खेल्यो । बलियो टिम कुवेतसँग १९ वर्षपछि भएको पहिलो खेलमा नेपाली टिमले बहादुरीपूर्ण प्रदर्शन गरेको थियो । पहिलो खेलमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा १-० गोलको हार ब्यहोर्‍यो ।

करिब पाँच महिनापछि त्यही कुवेतलाई पराजित गर्ने लक्ष्यको साथ नेपाली टिम मैदानमा उत्रिँदैछ । कुवेत प्रस्थान गर्नुअघि नेपाली टिमका मुख्य प्रशिक्षकले भनेका थिए, ‘खेल हो जित हार हुन्छ, तर हामी जित्नको लागि खेल्नेछौं ।’

स्वीडिस प्रशिक्षक योहान कालिनका लागि पनि यो खेल महत्वपूर्ण छ । नेपाली टिम सम्हालेपछि उनको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
फिफा वरियताका आधारमा मूल्यांकन गर्ने हो भने कुवेत नेपालभन्दा धेरै बलियो टिम होइन । विश्व बरियतामा कुवेत १५६औं स्थानमा रहँदा नेपाल १६६ औं स्थानमा छ । तर कुवेतको प्रदर्शन सधैं अब्बल रहँदै आएको छ ।

बिहीबार साँझ ५ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा नेपाल कुवेतविरुद्ध अंक खोस्ने रणनीतिमा हुनेछ ।

कमजोर डिफेन्स, बलियो मिडफिल्ड

कुवेतलाई पराजित गर्न नेपाली टिम कतिको सक्षम छ ? यसको उत्तर खोज्न नेपाली टिमको डिफेन्स, मिडफिल्ड र फरवार्डको सन्तुलनलाई हेर्नुपर्छ ।

कुनै बेला नेपालको सबैभन्दा बलियो पक्ष डिफेन्सलाई मानिन्थ्यो । तर योपटक भने डिफेन्समा अनुभवी खेलाडीको अभाव देखिन्छ । नियमित कप्तान विराज महर्जन टिम बाहिर रहँदा युवा खेलाडीले डिफेन्स लाइन सम्हाल्ने छन् ।

किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टिममा सात जना डिफेन्डर छन् । अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल र रजिन धिमाल । सबैभन्दा अनुभवी डिफेन्डर हुन् अनन्त तामाङ । नेपाली टिमका नियमित सदस्य रहेका अनन्तले २२ क्याप जितेका छन् ।

अन्य डिफेन्डर भने निक्कै कम अनुभवी छन् । सेन्टर ब्याक अनन्तसँगै सुमन अर्याल, अजित भण्डारी र देबेन्द्र तामाङले सुरुवाती ११ मा स्थान बनाउने बलियो सम्भावना छ ।

डिफेन्सको तुलनामा अनुभवी खेलाडीहरुको बाहुल्यता रहेको मिडफिल्ड भने बलियो देखिन्छ ।

मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द र रवि पासवान छन् ।

रोहित, विक्रम, विशाल र सुजल अनुभवी खेलाडी हुन् । रााष्ट्रिय टिमबाट ५८ क्याप जितेका रोहित पछिल्लो समयमा उनी बक्स टु बक्सको भूमिकामा देखिने गरेका छन् । अञ्जन, सुनिल, हेमन, रवि र तेज युवा स्टार हुन् ।

मिडफिल्डमा सुनिल, हेमन र अञ्जनको तालमेल मिल्ने गरेको छ । १० जना मिडफिल्डमध्ये सबै एक से एक भएको प्रशिक्षक योहान कालिनको पनि दाबी छ ।

फरवार्ड लाइनमा भने मुख्य प्रशिक्षक कालिनले तीन खेलाडीलाई अघि सारेका छन् । उनीहरु हुन्, विमल घर्तिमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल ।

फरवार्ड लाइनमा सबैभन्दा अनुभवी हुन् विमल । उनले ३० क्याप जितेका छन् । नवयूग एक समय निकै चम्केका स्टार हुन्, तर अहिले उत्कृष्ट लयमा छैनन् । अभिशेकका लागि राष्ट्रिय टिमबाट यो नै डेब्यू प्रतियोगिता हो ।

कालिनको पहिलो रोजाइमा विमल पर्न सक्छन् । यदि ४-४-२ को फर्मेसनमा खेलेको खण्डमा विमल र अभिशेकलाई नेपालले मैदानमा उतार्न सक्छ । तर१२ औं सागमा नेपालले स्वर्ण जित्दा होस् वा बंगबन्धु गोल्डकपको उपाधि उचाल्दा स्टार रहेका नवयुग पनि नेपालका प्रमुख हतियार बन्न सक्छन् ।

विश्वकप छनोटको समूह ‘बी’ मा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेत छन् । नेपालले दोस्रो खेल चाइनिज ताइपेइविरुद्ध उसैको भूमिमा भदौ २४ गते खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment