+

प्रशिक्षक दासको नजरमा कहाँ चुक्यो नेपाल ?

२०७६ भदौ  २५ गते १६:१७ २०७६ भदौ २५ गते १६:१७
प्रशिक्षक दासको नजरमा कहाँ चुक्यो नेपाल ?

२५ भदौ, काठमाडौं । एसिया कप खेलेर नेपाली यू-१९ क्रिकेट टिम नेपाल फर्किएको छ तर, टेष्ट टिमलाई हराउने मौका गुमाएकोमा सबैलाई पछुतो छ ।

समूह ‘बी’ मा परेको नेपालले सुरवाती दुई खेलमा श्रीलंका र बंगलादेशसँग हार व्यहोर्‍यो । अन्तिम खेलमा यूएईलाई हराएपनि त्यो सान्त्वना जित मात्र रहृयो ।

प्रशिक्षक विनोद दास भन्छन्, ‘यो प्रतियोगितामा राम्रो दुई वटा टिमलाई पराजित गर्ने अवसर थियो, तर हामी चुक्यौं ।’ यद्यपि नेपाल आफूले खराक खेलेर भन्दा पनि विपक्षी टिमले अझ राम्रो खेलेका कारण हारेको उनको विश्लेषण छ ।

नेपालले पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गरेको थियो । वर्षाको कारण ४२ ओभरमा छोट्याएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो । नेपालले १५९ रन मात्रै बनाउन सकेको थियो । यो खेलमा रितले ५४ रन बनाएका थिए ।

यो खेलमा नेपालको सुरुवातमा राम्रो भएपनि पछिल्लो ८ विकेट छिट्टै पतन भएको र हारको मुख्य टर्निङ पोइन्ट त्यही भएको प्रशिक्षक दासले सुनाए । ‘हामीले ११९ रन बनाउँदा दुई विकेट मात्रै गुमाएका थियौं र अझै २० ओभर बाँकी थियो’ उनले भने, ‘त्यसपछि ५० रन बनाउँदा बाँकी ८ विकेट गुमायौं । रित लगतै रोहित पनि आउट भएपछि हाम्रो खेल परिवर्तन भयो ।’

४२ ओभरको त्यो खेलमा नेपालले दुई सय रन कटाएको भए परिस्थिति अर्कै हुने उनको बुझाइ छ ।

बंगलादेशविरुद्धको खेलमा पनि एक समय नेपालको जितको सम्भावना बलियो देखिएको थियो । नेपालले २६१ को राम्रो स्कोर बनाएको थियो र बंगलादेशको सुरुवाती विकेट लिन सफल भएको पनि थियो । १९ रन हुँदा उसले २ विकेट गुमाएको थियो ।

तर त्यसपछि बंगलादेशका ब्याट्सम्यान हावी भए । अक्बर अलीले अविजित ९८ रन बनाउँदा तवहिद हृदोयले ६० रन बनाए । नेपाल ६ विकेटले हार्न पुग्यो ।

प्रशिक्षक दास भन्छन्, ‘३७ ओभरसम्म खेल हाम्रै पक्षमा थियो । उनीहरुलाई १३ ओभरमा ९० रन चाहिएको थियो । यो अवस्थामा हामीले एउटा क्याच आउट र एउटा रन आउट खेल फाल्यौं । यो नै खेलको टर्निङ प्वाइन्ट भयो ।’

समूह चरणको अन्तिम खेलमा भने नेपालले यूएईमाथि १६० रनको जित हात पार्‍यो । यो खेलमा आफ्नो करिअरकै उच्च रन बनाएका राशिद खानले टेष्ट नेशनविरुद्ध राम्रो खेल्दाखेल्दै चुक्न पुगेको बताए । भन्छन्, ‘राम्रो खेल्दाखेल्दै हार्न पुग्यौ ।’

मिडिल अर्डर ब्याट्सम्यान भीम सार्कीलाई भने आफूले जिम्मेवारी पुरा गर्न नसकेको महसुस भएको छ ।

हुन पनि उनी तीन वटै खेलमा चलेनन् । श्रीलंकाविरुद्ध एक रनमा आउट भएका उनले बंगलालदेशविरुद्ध २१ रन बनाए । यूएईविरुद्ध एक रनमै आउट भएका थिए ।

‘जुन पोजिसनमा मैले खेल्ने मौका पाएको थिएँ, त्यसलाई न्याय गर्न सकिन’, भन्छन्, ‘श्रीलंकाविरुद्ध राम्रो रन बनाउन सकेको भए खेलको नजिता अर्कै हुन्थ्यो । बंगलादेशविरुद्ध पनि खेल्दाखेल्दै आउट भए । आफ्नो प्रदर्शनबाट सन्तुष्ट छैन ।’

प्रशिक्षक विनोद दास भने खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका छन् ।

सबै खेलाडीले सक्दो प्रयास गरेको र प्रत्येक खेलमा कुनैनकुनै खेलाडी चम्किएको भन्दै प्रशिक्षक दास भन्छन्, ‘हरेक खेलमा एकपछि अर्का खेलाडीले राम्रा गरेका छन् । रोहित, पवन, रित, आसिफ, कमल, सन्दीप, राशिद सबैले राम्रो खेले ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय