१८ असार, काठमाडौं । जापानमा अर्को वर्ष आयोजना हुने २०औं एसियन गेम्सका लागि युवा तथा खेलकुद मन्त्रालयले दर्ता गरेको भनिएको खेल सूची दर्ता नभएको पाइएको छ ।
नेपाल ओलम्पिक कमिटी र मन्त्रालयबीच विवाद जारी रहँदा एसियन गेम्सका लागि तोकिएको समयसीमाभित्र नेपालबाट दुई छुट्टाछुट्टै सूची दर्ता भएको थियो । जसमा मन्त्रालयबाट ३१ र रओलम्पिक कमिटीबाट ३० खेलाको सूची दर्ता भएको भनिएको थियो ।
मन्त्रालयले इमेलमार्फत दर्ता गरेको सूची दर्ता नभएको हो । २०औं एसियन गेम्स खेल आयोजक कमिटी एआईएनएजिओसीका सहायक महानिर्देशक तोरु कोबायाशीले पत्र पठाउँदै मन्त्रालयले दर्ता गरेको सूची दर्ता नभएको जानकारी दिएका हुन्।
पत्रमा ओलम्पिक कमिटीबाहेक अन्य स्थानबाट गरिएको खेल दर्ता मान्य नहुने जानकारी गराइएको छ । साथै खेलको नाम दर्ता ओलम्पिक कमिटीबाटै गर्नुपर्ने र नेपाल ओलम्पिक कमिटीबाटै खेल दर्ताको समयसीमासम्म खेलको सूची प्राप्त भइसकेको समेत आयोजकले जनाएको छ ।
ओलम्पिक कमिटीबाट दर्ता भएको खेल सूचीमा तेक्वान्दो र फुटबलजस्ता खेलहरु समावेश थिएनन् । नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा महत्वपूर्ण उपलब्धि हासिल गरेको तेक्वान्दो र चर्चित खेल फुटबल समावेश नहुने भएको छ ।
ओलम्पिक कमिटीबाट दर्ता भएको खेलसूची : एथलेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिन एण्ड डान्स स्पोर्ट्स, बेसबल तथा साफ्टबल, र्याफ्टिङ तथा क्यानोइ, कुराश, क्रिकेट, साइकलिङ, ई–स्पोर्ट्स, गल्फ, हक्की, जुडो, कबड्डी, कराँते, मोडर्न पेन्टाथलन, रग्बी, स्केटबोर्ड तथा स्केटिङ, स्पोर्ट क्लाइम्बिङ, स्क्वाश, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, वेटलिफ्टिङ, रेस्लिङ र उसु
युवा तथा खेलकुद मन्त्रालयबाट दर्ता भएको खेल सूची : एथ्लेटिक्स, बक्सिङ, क्रिकेट, तेक्वान्दो, कबड्डी, कराते, इस्पोर्ट्स, उसु, जिम्न्यास्टिक, पौडी, जुडो, टेबलटेनिस, भलिबल, साइक्लिङ, इक्वेस्ट्रिन, फुटबल, फेन्सिङ, गल्फ, सुटिङ, टेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, बास्केटबल, ब्याडमिन्टन, हक्की, सफ्ट टेनिस, ह्याण्डबल, स्क्वास, रग्वी र रोविङ छन् ।
प्रतिक्रिया 4