Comments Add Comment

मुख्यमन्त्रीले कर्मचारीलाई भने : ऋणको भारी बोकेर तलब खाएको नबिर्सनू

१८ भदौ, पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश मातहतका सबै कार्यालयका प्रमुखलाई पोखरा बोलाएर जनतालाई खुसी बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

११ वटै जिल्लाबाट मातहतका कार्यालय प्रमुखलाई पोखरामा बोलाएका मुख्यमन्त्री गुरुङले प्रदेशको लक्ष्य प्राप्ति र संघीयता बलियो बनाउने गरी काम गर्न निर्देशन दिएका हुन् । देशमा ठूला ठूला परिवर्तन भए पनि कर्मचारीको काम गर्ने शैली भने पुरानै भएको भन्दै उनले भने, ‘हिजो जस्तो ढिलासुस्ती थियो, आज पनि उस्तै छ । प्रक्रिया र विधि भनेर पछाडि परेको देश हो नेपाल ।’

विगतको पश्चिमाञ्चल विकास क्षेत्रमा जस्तो शैलीले काम गरेर प्रदेशको विकास नहुने मुख्यमन्त्रीको भनाइ थियो ।

देशमा संघीयता आइसकेपछि मानसिकतामा पनि संघीयता कर्मचारीलाई मुख्यमन्त्रीले निर्देशन दिए । सरकारको नीति तथा कार्यक्रम र ३४ अर्बको बजेट कार्यान्वयन कर्मचारीको काम गराईमा भर पर्ने मुख्यमन्त्री गुरुङले बताए ।

उनले जनतालाई ऋणको भारी बोकाएर तलब लिएको नबिर्सन कर्मचारीलाई आग्रह गरे । ‘प्रधानमन्त्री, मुख्यमन्त्री, कर्मचारी सबैको टाउकोमा ऋणको भारी छ । ऋणको भारी बोकेर ठीक ढंगले काम नगरे के हुन्छ ?’ उनले भने, ‘ हाम्रो भगवान भनेको जनता हो । जनतालाई खुसी पार्नुस् ।’

जनतालाई रुवाए कर्मचारीलाई पाप लाग्ने उनले भनाइ छ । जनतालाई सुख दिनका लागि एउटा सरकारको ठाउँमा ७६१ वटा बनाएर पनि जनताले दुख पाउन थाले भने संघीयतामाथि नै प्रश्न उठ्ने उनको भनाइ छ ।

सरकार–सरकारबीच समन्वय गर्ने र सरकारका योजनालाई प्रभावकारी ढंगले अगाडि बढाउने जिम्मेवारी पनि कर्मचारीकै भएको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।
कर्मचारीको क्षमता तथा वृत्तिविकासमा प्रदेश सरकारले हेर्ने भन्दै उनले भने, ‘हाम्रा प्रदेश मातहतका सबै कार्यालयका प्रमुखलाई एक–एक वटा गाडी हुनैपर्छ । अन्य कर्मचारीलाई पनि सवारी हुनुपर्र्छ । कार्यक्षेत्रमा पनि हामी एक नम्बर हुनुपर्छ ।’

प्रदेशका कर्मचारी भ्रस्टाचारका मुद्दामा समातिएपछि आफूलाई जिऊमा हिँउको डल्लो खसेजस्तो भएको बताए । अख्तियारले समाउनुभन्दा पहिले प्रदेशले जानकारी पाए त्यस्ता कर्मचारीलाई आफैंले कारबाही गर्ने मुख्यमन्त्री गुरुङको चेतावनी थियो ।

अघिल्लो वर्ष काम नहुनुमा केन्द्र दोषी ! 

गण्डकी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमै ७० प्रतिशतभन्दा माथि बजेट खर्च गर्ने लक्ष्य राखेको थियो । तर, त्यो लक्ष्य पूरा हुन सकेन । लक्ष्य पूरा हुन नसक्नु संघीय सरकारकै कारण भएको मुख्यमन्त्री गुरुङले बताए ।

संघीय सरकारको मानसिकता, कर्मचारी, संरचना, साधन र स्रोतको अभावले प्रदेशले जनताले देख्ने गरी काम गर्न नसकेको मुख्यमन्त्री गुरुङको निश्कर्ष छ ।

कर्मचारीको पुरातन मानसिकता र काम गर्ने शैलीसँगै प्रदेशले काम गर्न नसक्नुको सबै दोष संघीय सरकारको भएको उनको भनाइ थियो । हरेक कुराको बिघ्नबाधामा पनि अघिल्लो वर्ष धन्न त्यति बजेट खर्च हुन सकेको उनले बताए । ‘हामीले मन्त्रालय बनाउने भन्यौं, मन्त्री र कर्मचारीलाई आवास बनाउँछौं, प्रदेशसभा बनाउने भन्यौं तर अहिलेसम्म जग्गा प्राप्ति हुन सकेन,’ मुख्यमन्त्री गुरुङले भने, ‘यस्तो बिघ्नबाधा बीच पनि ६६ प्रतिशत खर्च गर्न सकेकै हौं ।’

यसपटक ९५ प्रतिशत बजेट कार्यन्वयनको लक्ष्य राखेको स्मरण गराउँदै मुख्यमन्त्री गुरुङले कार्ययोजनाको आधारमा काममा लाग्न कर्मचारीलाई निर्देशन दिए ।

आर्थिक ममिला तथा योजनामन्त्री किरण गुरुङले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मात्र विकास निर्माण गरिने भएकाले सोहीअनुसार काम गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment