+
+
Shares

१९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी कारागार चलान

धनुषाको धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई १७ असार २०८२ मा घरबाटै अपहरण गरी होटलमा लगेर १९ दिनसम्म बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोग छ । जसमा दुई जना प्रहरीसमेत संलग्न छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १५:५६
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरको दुई होटेलमा १९ दिन बन्धक बनाएर बालिका बलात्कार गरेको प्रकरणका मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
  • २० लाखमा मिलाउन दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
  • धनुषामा दर्ता दुई मुद्दामा दुई प्रहरीसहित करिब एक दर्जन अभियुक्त छन्, र अधिकांश अझै फरार रहेका प्रहरीले जनाएको छ ।

३१ भदौ, जनकपुरधाम । डेढ वर्षअघि जनकपुरको दुई होटेलमा १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरणका मुख्य अभियुक्त ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

घटना २० लाखमा मिलाउन दबाब दिएको आरोप लागेका धनौजी गाउँपालिका–५ का वडाध्यक्ष याकुब कवारी भने एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

२३ वर्षीय राइनलाई २६ भदौमा धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

वडाध्यक्ष कवारीलाई सोमबार धनुषा जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । उनी धरौटी बुझाएर छुटेको प्रहरीले जनाएको छ ।

मुख्य अभियुक्त ताहिर घटना भएपछि भागेर कतार पुगेका थिए । उनलाई इन्टरपोलमार्फत पक्राउ गरी गत २५ साउनमा नेपाल ल्याइएको थियो ।

पीडितको बयानको आधारमा वडाध्यक्ष कवारीलाई पनि गत शुक्रबार धनुषा प्रहरीले पक्राउ गरेको थियो ।

धनुषाको धनौजी गाउँपालिकाकी १६ वर्षीया बालिकालाई १७ असार २०८२ मा घरबाटै अपहरण गरी होटलमा लगेर १९ दिनसम्म बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोग छ । जसमा दुई जना प्रहरीसमेत संलग्न छन् ।

यस घटनामा जिल्ला अदालत धनुषामा दुई वटा मुद्दा दर्ता छ, जसमा दुई प्रहरीसहित करिब एक दर्जन अभियुक्तहरू छन् । अधिकांश अभियुक्तहरू अझै फरार छन् ।

मानव बेचबिखन अपहरण शरीर बन्धक २९ चैत २०८१ मा र जबरजस्ती करणीको मुद्दा १७ असार २०८२ को घटनासँग सम्बन्धित छ ।

२९ चैत २०८१ मा आमा खेतमा गएको बेला घर नजिकै पसल चलाउने स्थानीय ताहिर राइनले बालिकालाई विवाहको प्रलोभन देखाएर अपहरण गरी जनकपुर ल्याएर आफूसहित अरू व्यक्तिसमेतले जबर्जस्ती करणी गरेको होटलहरूमा बेचबिखन गरेको अभियोग छ । बालिकाले पछि भागेर ज्यान जोगाएकी थिइन् ।

पीडित बालिकाले ३ जेठ २०८२ मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन् । तर सो जाहेरी उपर प्रहरीले समयमा सुनुवाइ नै गरेन । अभियुक्त ताहिर राइन विदेश भागे ।

यस घटनापछि पीडित बालिका १७ असारमा बिहान अन्दाजी ४ बजे पुन: अपहरणमा परिन् । आफू बाख्रा बाँध्न घरबाट दैलोमा निस्किेको बेला गाडीमा पुगेका अञ्जली महरासहित तीन जनाले कपडाले आँखा बाँधेर अपहरण गरेको जाहेरीमा उल्लेख छ ।

जनकपुरको पिडारीचोकस्थित होटेल सीएफसीमा दुई दिन र त्यसपछि मुरलीचोकस्थित मधेश प्रदेश गेस्ट हाउसमा १७ दिन बन्धक बनाएर होटेल सञ्चालकसहित प्रतिवादीहरूले जबरजस्ती करणी गरेको र ग्राहकबाट समेत पैसा लिएर जबरजस्ती करणी गर्न लगाएको मुद्दाको मिसिलमा छ ।

चौतर्फी दबाब र असुरक्षाका कारण बालिका घटनायता अझैसम्म सेफ हाउसमै छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?