Comments Add Comment

‘इन्डोनिसियामा १०० मेयर जेलमा छन्, हामी कहाँ कति जान्छन् हेनुपर्छ’

१९ भदौ, सप्तरी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भ्रष्टाचार र गलत काम गर्नेलाई पक्राउ गरेर थुन्ने कामलाई निरन्तरता दिइने बताएका छन् । यस्ता व्यक्तिलाई थुन्न ठूला-ठूला हल बनाउनु परे पनि संघीय सरकार तयार रहेको उनले बताए ।

कागजमा काम हुने र जनताले नदेख्ने सम्पूर्ण योजना छानबिनको जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिइएको उनले बताए । बिहीबार सप्तरीमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले स्थानीय तहमा उपभोक्ता समितिमार्फत र अन्य निकायबाट भएका विकास निर्माणका योजनाको छानबिनका लागि अख्तियारलाई जिम्मेवारी दिइएको बताए ।

‘अहिले गलत काम गर्नेलाई थुनेर अख्तियारको कोठाहरु भरिभराउ बनेको छ’ मन्त्री पण्डितले भने, ‘तर पनि भ्रष्टाचारी पक्रिन रोकिने छैन । उनीहरुलाई थुन्नका लागि ठूला-ठूला हल बनाउन पनि हामी तयार छौं ।’

गलत गर्ने जनप्रतिनिधि वा राष्ट्रसेवक कसैलाई पनि नछाड्ने उनले बताए । काका, भतिजा, दाजुभाइको नेतृत्वमा उपभोक्ता समिति बनाएर काम गर्ने जनप्रतिनिधिविरुद्ध सरकार कठोर रुपमा भन्दै उनले ठेकदारलाई कामको जिम्मेवारी दिने उपभोक्ता समितिका पदाधिकारीलाई पनि समातिने बताए ।

उनले अघि भने, ‘यस्ता काममा कुनै मन्त्री संलग्न छन् भने त्यस्ता मन्त्रीलाई पनि जेल जानुपर्छ । मेयरको संलग्नता भए उनलाई पनि जेल जानुपर्छ ।’ इन्डोनिसियामा १ सय मेयर जेलमा रहेको दृष्टान्त सुनाउँदै मन्त्री पण्डितले भने, ‘नेपालका कति जना जेलमा जानुहुन्छ, हेर्नुहुन्छ ।’

धर्मको नाममा राज्यमाथि प्रहार गरिँदैछ

संघीय मामिलामन्त्री पण्डितले धर्मको खोल ओढेकाहरुले राज्यमाथि प्रहार गरिरहेको बताए ।

आफूले आफैंलाई गोली हान्नेदेखि गाईको हत्या गरी राज्यमाथि प्रहार गर्न खोजिएको बताए । ‘७/८ महिना पहिला विराटनगरमा आफैंले गोली हानेर धर्ममाथि हमला भयो भनेर दुष्प्रचार गरिएको थियो’ पण्डितले भने, ‘अहिले ठाउँ सार्ने नाममा गाईको हत्या गरिएको छ ।’

‘आफैंले गाईको हत्या गरी दुष्प्रचार गर्न खोजिएको छ । यो राज्यमाथि प्रहार गर्ने सोच हो ।’ संघीय सरकारले घटनाको छानबिन सुरु गरिसकेको बताउँदै पण्डितले गाई मार्ने जोसुकै भएपनि कारबाही हुने बताए ।

तराई मधेसलाई ७ अर्ब ५५ करोड

उनले तराई मधेसको विकासका लागि संघीय सरकार प्रतिबद्ध रहेको बताए । तराई मधेश समृद्वि कार्यक्रम अन्तर्गत गतबर्ष ५ अर्ब २५ करोड निकासा गरेको उनले बताए । चालू आ.ब.मा संघीय मामिला तथा सामान्य प्रशासन, भौतिक योजना तथा पूर्वाधार, सिंचाई र खानेपानी मन्त्रालयमार्फत ७ अर्ब ५५ करोडको बजेट विशेष रुपमा छुट्टयाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment