Comments Add Comment

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमाथि सांसदले उठाए प्रश्न

२१ भदौ, जनकपुरधाम । प्रदेश २ का सांसदहरुले छात्रामाथि एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्न माग गरेका छन् । उनीहरुले प्रदेशका छात्राहरुमाथि पटक-पटक एसिड प्रहार भइरहनुले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सार्थक बन्न सक्छ ? भनी प्रश्न समेत गरेका छन् ।

शनिबार बसेको प्रदेशसभाको बैठकमा सांसदहरुले वीरगञ्ज-१५ छपकैयामा १५ बर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार हुनुले प्रदेशको शान्ति सुरक्षा कमजोर भएको प्रष्ट भएको बताए ।

सत्तासिन समाजवादी पार्टीकी सांसद भीमा यादवले निरन्तर प्रदेशका छोरीहरुमाथि एसिड प्रहार भइरहनु चिन्ताको बिषय भएको बताइन् । यो घट्ना बढ्नुले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सफल हुनेमा आशंका व्यक्त गरिन् । प्रदेशका छोरीहरु असुरक्षित बन्दै गएको बताउँदै उनले प्रदेश सरकारले छोरी लक्षित अभियान ल्याएपनि यो अभियानले काम गर्न नसकेको बताइन् ।

समाजवादी पार्टीका अर्की सांसद करिमा बेगमले एसिड आक्रमण गर्नेमाथि कारबाही गर्न माग गरिन् । उनले भनिन्, ‘यस्ता व्यक्तिलाई कारबाही गर्न कठोर कानून निर्माण गर्नु जरुरी छ ।’

अर्काे सत्तासिन पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद गणेश कुर्मीले यसरी घट्ना भइरहे जनताले सरकारको अनुभूति गर्न नसक्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद किशोरी साहले एसिड आक्रमणको घट्नाका दोषीलाई कारबाही गर्न कठोर कानून आवश्यक रहेको बताए । उनले भने, ‘यस्ता घटना दोहोरिरहेकाले नियन्त्रण गर्न कडा कानून बनाउन जरुरी छ ।’

नेपाली कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले छोरीहरुमाथि लगातार एसिड प्रहार हुनुले प्रदेशको शान्ति सुरक्षा कमजोर रहेको छर्लङ्ग पारेको बताए । उनले शान्ति सुरक्षा राम्रो बनाउनेतर्फ ध्यान दिन प्रदेश सरकारको ध्यानाधकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment