Comments Add Comment

रुघाखोकीले दुःख दिनसक्छ, कसरी अपनाउने सतर्कता ?

झरीको याम छ । मौसम ओसिलो छ । यतिबेला संक्रमित रोगहरुको भय हुने नै भयो । त्यससँगै मौसम परिवर्तन हुने बेला पनि हो । यस्तो अवस्थामा विभिन्न किसिमका शारीरिक समस्या आउन सक्छ । बालबालिका, रोगी, बुढाबुढी वा कमजोर प्रतिरक्षा प्रणाली भएकाहरुलाई सानोतिनो समस्याले दुःख दिन सक्छ । त्यसैले यतिबेला अलि सजग हुनुपर्छ ।

केही समयपछि चाडबाड सुरु हुन्छ । चाडबाडलाई हर्षोल्लासका साथ मनाउने मुडमा हुन्छौं हामी । यद्यपि चाडबाडकै मुखमा दुःख-बिराम भइयो भने आफुलाई मात्र होइन, परिवारलाई पनि गाह्रो हुन्छ । त्यसैले यतिबेला स्वास्थ्यप्रति सचेत र सर्तक हुन आवश्यक छ ।

के हुन्छ यो मौसममा ?

हुन त अहिले सबैतिर डेंगु आतंक छ । पानीझरीको मौसममा फैलने रोग हो यो पनि । खासगरी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो डेंगु । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेमार्फत डेंगु सर्दछ ।

अहिले डेंगुबारे धेरै बताइरहनु पर्दैन, सबै सचेत भइसकेका छन् । यसको रोगथामका लागि आवश्यक पहल पनि भइरहेको छ ।

यो मौसममा सताउने अर्को समस्या भनेको रुघा अर्थात कमन कोल्ड । यो त्यती गंभिर समस्या त होइन, तर यसले निकै दुःख भने दिन्छ । त्यसैले रुघा कसरी लाग्छ, रुघा लागेमा के हुन्छ, यसबाट कसरी बच्ने भन्ने कुरामा केही ध्यान दिनु उत्तम हुन्छ ।

सिर्जना जिसी

रुघाखोकीको समस्या

तपाईं, हामीलाई थाहा नै छ, रुघा लागेपछि नाकबाट पातलो सिंगान जस्तो पानी बगिरहन्छ । सामान्य ज्वरो पनि आउँछ । साना बालबालिका वा बुढाबुढीलाई यसले निकै सताउँछ । सामान्य व्यक्तिलाई भने दैनिक कामकाजमै असर पुर्‍याउँछ । रुघा र ज्वरोले सताउन थालेपछि हिँडडुल गर्न, काम गर्न सहज हुँदैन ।

सामान्यत रुघाखोकी राइनो भाइरसको संक्रमणले हुने गर्छ । प्रायजसो यस रोगको संक्रमण एक हप्तामा आफै निको हुन्छ । सामान्य भाइरसको संक्रमणले हुने समस्या भएकाले एन्टिबायोटिक खाइहाल्नुपर्ने अवस्था हुँदैन । यद्यपि कहिले काहीँ के हुन्छ भने, मान्छेको उमेर, शारीरिक अवस्था, रोगसँग लड्ने क्षमता आदिको कारणले उक्त भाइरसको संक्रमण पछि सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन हुने संभावना रहन्छ । यस्तो अवस्थामा भने एन्टिबायोटिक दिनुपर्ने हुन्छ ।

रुघाखोकीको लक्षण

रुघाखोकीबारे हामी त्यती अनभिज्ञ छैनौं । यो समस्या हुँदा खोकी लाग्छ, नाकबाट पानी बग्छ । बेलाबखत छाती, टाउको, शरीर पनि दुख्छ । बच्चाहरुमा चाहि यसको असर अरु बढी देखिन्छ । उनीहरुलाई पेट पनि दुख्न सक्छ । वान्ता हुने, पखला लाग्ने समस्या हुन्छ ।

रुघाखोकीकै कारण ज्वरो पनि आउँछ ।

अब के गर्ने त ?

रुघाखोकी एकबाट अर्कोमा सर्ने हुँदा कहिले काहीँ पुरा परिवार नै बिरामी पर्छन् । त्यसैले रुघा लागेपछि एकअर्काको सोझो सम्पर्कमा रहनु हुँदैन । सरसफाई र आरममा बढी ध्यान दिनुपर्छ ।

रुघाखोकीकै कारण धेरै ज्वरो आएमा प्यारासिटामोल दिनु उपयुक्त हुन्छ ।

सामान्यत बच्चाहरुमा दिनमा २, ३ पटक भन्दा बढी पातलो दिसा लागेमा उनीहरुलाई झोलिलो तथा पोषिलो खानेकुरा दिनुपर्छ । पर्याप्त मात्रामा पुनरजलिया झोल दिनुपर्छ ।

रुघाखोकीले गर्दा बच्चाहरुलाई श्वसप्रश्वासमा समस्या आउन सक्छ । उनीहरुलाई सास फेर्न गाह्रो हुन्छ । यदि त्यसो भएमा नुन पानीको थोपा नाकभित्र राख्नुपर्छ, केही सहज हुन्छ । नरम सुतीको कपडाले नाक पुछिदिनुपर्छ ।

यसैगरी तातो पानीमा नुन, बेसार, ज्वानो, तुलसीको पात, जिरा र अदुवा राम्रोसँग उमालेर मनतातो भएपछि पउक्त पानीमा केही मात्रा कागतिको रस राख्नुपर्छ । उक्त रस दिनमा तीन, चार पटकसम्म सेवन गर्दा रोगबाट छिटो छुटकारा पाउन सकिन्छ ।

रुघा लागिसकेपछि

–     पिउने पानीमा ध्यान दिने । शुद्धिकरण गरेको पानी मात्र पिउने । पर्याप्त पानी पिउने ।

–     भिडभाडमा जानु परेमा माक्सको प्रयोग गर्ने ।

–     सरसफाईमा ध्यान दिने । फोहोर बस्तु छोएपछि, दिसापिसाब गरेपछि, बालबच्चालाई दिसापिसाब गराएपछि साबुन पानीले राम्ररी हात पखाल्नुपर्छ ।

रुघाखोकीमा घरेलु उपचार

 बेसार

रुघाखोकीबाट राहत पाउनको लागि १ गिलास तातो दुधमा १ चम्चा बेसार मिसाएर पिउनुहोस् । यसको साथै सुकेको हलेदोलाई पोलेर त्यसको धुँवा सुँघेमा पनि रुखाखोकी ठिक हुन्छ ।

तुलसी

तुलसी रुघाखोकीको लागि कुनै औषधिभन्दा कम छैन् । तुलसीको चार पाँच पत्ता तुलसी चपाउनाले घाँटीको खसखर र खोकीबाट राहत मिल्छ । तपाई यसलाई चिया वा तातोपानीमा उमालेर पनि पिउन सक्नुहुन्छ ।

अदुवा

अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी टाढा भाग्छ । तपाईलाई रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दूध वा चियामा अदुवा उमालेर पिउनुहोस् । तर्पाको स्वास्थ्यमा छिटै सुधार हुन्छ ।

अलैंची

अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक गर्छ । यदि फेरि पनि रुघा लागेमा अलैंचीको दानालाई रुमालमा बेरेर सुँघ्नाले रुघाबाट छुटकारा पाइन्छ ।

हर्बल चिया

टाउको दुख्ने, खोकी, ज्वरो, रुघा जस्ता समस्या देखिएमा हर्बल चिया पिउनुहोस् । यसले शरीरलाई गरम राख्छ र रोगबाट बचाँउछ ।

त्यस्तै रुघाखोकी लागेमा तातोपानीको बाफ लिने, तातो पानी पिउने, रसभएको तातो खानेकुरा खाने गर्नुभएमा यसले पनि आराम गर्छ ।

लेखक शहरी स्वास्थ्य क्लिनिक, शान्तिनगरमा कार्यरत छिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment