Comments Add Comment

सुरु भयो इन्द्रजात्रा, हनुमानढोकामा लिङ्गो ठड्याइयो

२४ भदौ, काठामडौं ।  यँया पुन्हीका अवसरमा काठमाडौँको हनुमानढोकाको कालभैरव अगाडि परम्परानुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ ।

मंगलबार भाद्रशुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थानसँगै विधिवत्रुपमा इन्द्रजात्रा (यँया) शुरु भएको हो । यँलाथ्व अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ (लिङ्गो) तानेर तलेजु मन्दिर अगाडि सिंध्वाकामा ल्याइएको लिङ्गो आज बिहान ९ : १५ बजेको साइतमा ठड्याइएको सो कार्यमा संलग्न मानन्धर समुदायले जनाएको छ ।

आजैदेखि योसिँको मुनि सानो फलामको खोरमा ऐरावत हात्तीमा विराजमान स्वर्गका राजा देवराज इन्द्रलाई पनि प्रदर्शन गरिएको छ ।

इन्द्रजात्राको प्रारम्भसँगै नेपालमण्डलका केही चोक र गल्लीका साथै लिङ्गो ठ्ड्याइएको स्थान तथा काष्ठमण्डपको दायाँ, वंघःमा उच्चस्थानमा सबैले देख्ने गरी इन्द्रलाई पञ्चसूत्रले बाँधेर खोरभित्र कैद गरी प्रदर्शन गरिराख्ने प्रचलन छ ।

काठमाडौँमा इन्द्रजात्रा शुरु भएसँगै कुमारी, गणेश तथा भैरवको रथयात्रा, मजिपातका रञ्जित समुदायबाट लाखे तथा झ्यालिन्चा नाच, सव भक्कु नाच, पुलुकिसी नाच पनि प्रदर्शन गरिन्छ । देशका विभिन्न पर्व तथा जात्रामध्ये इन्द्रजात्रा बूढाबूढीदेखि केटाकेटीसम्मले रमाउने निकै रमाइलो जात्राका रुपमा लिइन्छ ।

लिङ्गो ठड्याउने जात्रा अर्थात् इन्द्रध्वजोत्थान हेर्न हनुमानढोका वरपर ठूलो सङ्ख्यामा मानिसको भीड लागेको थियो । त्यस अवसरमा गुरुजुको पल्टनले तोप पड्काउनाका साथै विशेष धून बजाएको थियो ।

तस्वीरहरु : चन्‍द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment