+
+
Shares
विचार :

बीपी विरुद्ध तथ्यहीन दुष्प्रचार गर्नेलाई किन चर्चाका लागि मिडियामा उभ्याउने ?

पञ्चायत विरुद्धको आन्दोलन शान्तिपूर्ण रूपले गर्ने कि हतियार उठाउने भन्नेमा बीपी र सुवर्णजीमा व्यावहारिक मतभेद थियो। तर यी दुई नेतामा कटुता थिएन।

धर्म गौतम धर्म गौतम
२०८३ असोज १ गते १२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुलावशमशेर थापाले बीपी कोइरालाबारे झुटो विवरण दिएको भन्दै लेखमा महेन्द्र, सुवर्णशमशेर र भारतसँग सम्बन्धित दाबीहरू खण्डन गरिएका छन्।
  • लेखकले बीपी जेलमुक्त भएपछि महेन्द्रसँग भेट नभएको, सुवर्णशमशेरलाई भेटेर भारत पुगेको र मेलमिलापसम्बन्धी आरोपहरू गलत भएको बताएका छन्।
  • अन्त्यमा, सार्वजनिक सञ्चारमाध्यममा प्रमाणबिनै मिथ्या विवरण प्रसारण नगर्न र अन्तर्वार्ताकारले तथ्य जाँच गर्नुपर्ने लेखकले आग्रह गरेका छन्।

हरेक दिन बिहान एकपटक सरर्र सामाजिक सञ्जाल चहार्ने दैनिकी बनेको छ। यसो गर्दा सामान्यत: पछिल्ला घटनाक्रमसँग अद्यावधिक हुन सघाउ पुग्छ। त्यसमा पसेपछि कहिले रमाइला ज्ञानवर्धक कुरा भेटिन्छ, कहिले घिनलाग्दा फोहोरी कुरा पनि र कहिले त झ्वाँक चलाउने खालका समेत। सामाजिक सञ्जाल समाजकै प्रतिविम्ब भएकाले यसमा असहज मान्नुपर्ने कुरा पनि छैन। गान्धीजीले तीन बाँदरका चित्र मार्फत दिएको सन्देश जस्तो नराम्रो नहेर्ने, नराम्रो नसुन्ने र नराम्रो नभन्ने कुराको परिपालना सहज नहुने रहेछ।

यस्तै, हालै युट्युबमा एउटा अन्तर्वार्ताको प्रारम्भिक अंश सुनेपछि मैले टिप्पणी गरें “गुलावशमशेर थापा नाम गरेका सज्जनले हालै न्यूज २४ टिभीसँगको एक वार्तामा २०२५ मा जेलबाट छुटेको २/३ दिनपछि महेन्द्रले बीपीलाई भेट दिएर यसो–यसो भने भनेर गलत कुरा बखानेका छन्। बीपी छुटेको भोलिपल्टै महेन्द्र इङ्ग्ल्याण्ड गएका थिए। बीपीले प्रधानमन्त्री मार्फत फोनबाट भेटका लागि भन्दा मेरो प्याकिङहरू गर्नु छ, पछि उताबाट फर्केपछि भेटौंला भन्ने जवाफ दिएका थिए। (आत्मवृत्तान्त) यी भद्रभलाद्मी आज पनि नयाँ पुस्तालाई बीपीका बारेमा किन गलत कुरा सुनाउन कसिन्छन् ? डोकोले छोपेर इतिहास लुकाउन सकिन्न, सज्जन महोदय।”

फेसबुकमा मेरो यो टिप्पणी पढेर एक मित्रले अर्को दिन मलाई फोन गरेर सोधे, ‘तिमीले २०२५ सालमा बीपी जेलबाट छुटेको लगत्तै राजा र बीपीको भेट भएकै थिएन भनेर गुलावशमशेरको भनाइलाई खण्डन गरेछौ, उनले भनेका बाँकी अरू कुरा चाहिं सही हुन् त ?’

मैले भनें, “त्यो मानिसले यसरी झुट कुरा गरिरहेको थियो, मैले वार्ताको शुरुको त्यही प्रसङ्ग मात्रै सुनें। अगाडि अरू के के भन्यो, सुनिनँ। सुनिनँ भनेको सुन्न सकिनँ। नजानेर वा गलत सूचनामा भर परेर गलत कुरा भनिन सक्छ तर उसको नियत नै कुप्रचार गर्ने हो भन्ने लागेर मैले उसको बाँकी वार्ता अंश नहेरेको हो।”

मैले गुलावशमशेर भन्ने मान्छे (?) लाई चिनेजानेको थिएन। मेरो माथिको पोस्ट पढेपछि मेरा मित्र पूर्व मन्त्री जयप्रकाश गुप्ताले कमेन्ट बक्समा लेखेका छन्, “गुलावशमशेर जीवनभर बीपीको विरोधमा कु-प्रचार गरेका पात्र हुन्। अहिलेको समयमा यस्ता कैयौं पात्र छन्, जो गलत कुराहरू गरिरहन्छन्। र, कतिपयका लागि प्रियपात्र बनाइएका छन्।”

जेपीको कथनलाई पुष्टि गर्दै अनार बस्नेतको थप टिप्पणी आयो, “केही वर्षयता बीपीको उचाइ कम गर्न एउटा ठूलै जमात लागिपरेको छ; बुझ्नुभयो होला।”

भारतले बीपीलाई चौध दिनभित्र माफी नमागे हाइज्याकिङको अपराधमा समातेर कारबाही गर्छौं भनेको चाहिं कहाँ सुने थापाले ? भारतको कुन निकायको कुन मानिसले त्यसो भनेछ ? बरु त्यही समयतिर सो अभियोग लागेका सुशील कोइराला, चक्र बाँस्तोलाहरूलाई भारतीय जेलबाट रिहा गरिएको थियो।

यति टिप्पणी देखेपछि गुलावशमशेरजी कतैबाट पोषित तथा परिचालित रहेछन् भन्ने थाहा भयो र त्यतातिर ध्यान दिइएन। अर्को कुरा बीपी विचार मञ्च जस्तो नाम गरेका एक–दुई संस्था रहेको पनि सुनेजानेकाले कम्तीमा तिनले यस बारेमा केही बोल्लान् भन्ने समेत लागेको थियो तर कतैबाट केही प्रतिक्रिया आए जस्तो लागेन।

यसै बीच मेरा अर्का मित्रको माथिको प्रश्न सुनेपछि थापाकाजीको त्यो वार्ता आद्योपान्त सुन्न र उनका गलत कुराको खण्डन गर्नु मैले आफ्नो कर्तव्य ठानें।

एक, थापाकाजीले भने जस्तो महेन्द्रले दया गरेर बीपीहरूलाई रिहा गरेको होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले त्यो वातावरण बनायो होला। दया गर्ने भए आठ-आठ वर्ष कुर्नुपर्छ ? के गल्ती थियो बीपीहरूको र थुनेको ? बीपीहरूले सुशासन दिने भए, तिनको लोकप्रियता बढ्ने भयो र आफू ओझेलमा परिने भइयो भनेर होइन शक्तिका भोका महेन्द्रले चालेको पुस १ को कदम ? बीपीहरूले केही विराएको भए त मुद्दा चलाइहाल्थे नि !

दुई, महेन्द्र यति कायर भइसकेका थिए कि उनको मनोदशा बीपीलाई आमनेसामनेमा फेस गर्न नसक्ने भएको थियो। त्यसैले उपचारका लागि भनेर इङ्ग्ल्याण्ड जाने सबै तयारी गरेर अघिल्लो दिन मात्रै बीपीहरूलाई छाडियो। अन्यथा उनीहरूलाई छाडेको प्रतिक्रिया के आउँछ भनेर हेर्ने, बुझ्ने चाहना हुँदैन ? त्यसैले बीपीले भेटका लागि भन्दा समेत उनले यात्राको तयारीमा छु भनेर टारे।

तीन, बीपीले आत्मवृत्तान्तमा पहिले म उनलाई बिदाइ गर्न एअरपोर्ट जाने सोच्दैथिएँ तर उनले मसँग भेट्न अरुचि देखाएपछि नजानु नै राम्रो होला भनेर गइनँ भन्नुभएको छ। तर पछि थाहा भयो उनले बिदाइ गर्न म पुग्छु भन्ने अपेक्षा गरेका रहेछन् पनि भन्नुभएको छ। हेर्नुस् त महेन्द्रको सामन्ती चिन्तन !

चार, थापाकाजीले बीपीले जेलबाट छुटेपछि सुवर्णजीलाई नभेटी उहाँले लिएको मेलमिलाप नीति विरोधी क्रियाकलाप थालेको दोषारोपण गरेका छन्। वास्तविकता के हो भने, बीपीले जेलबाट छुटेको पर्सिपल्ट सोझै कोलकाता गएर सुवर्णजीलाई भेट्नुभएको हो। त्यस सम्बन्धमा बीपीले भन्नुभएको छ, “कलकत्तामा एक दिन बसें। सुवर्णजीले त्यहाँ सबै इन्तजाम गर्नुभएको थियो। त्यसपछि म बम्बई गएँ। बम्बईमा पनि सुवर्णजीले सबै व्यवस्था गर्नुभएको थियो। बम्बईमा म एक महिना जति एउटा होटलमा बसें, सुवर्णजीले राख्नुभएको थियो। अलिक दिन त अस्पतालमा भर्ती भएँ, त्यसपछि होटलमा बसें। रिज भन्ने राम्रो होटल थियो। मलाई हेरविचार गर्न भनी शशिशमशेरलाई पठाउनुभएको थियो।” (आत्मवृत्तान्त-४३३)

पाँच, थापाको कथन छ महेन्द्रको निर्देशन विपरित बीपी भारत जानुभयो र त्यहाँका समाजवादीहरूको उक्साहटमा लागेर पञ्चायती व्यवस्थाको विरुद्ध क्रियाकलाप गर्न थाल्नुभयो। महेन्द्रले नै पनि उपचार गर्न भारत जानु भनेका थिए। थापाले बीपीलाई कति अण्डरमाइन गर्ने धृष्टता गरेको ? भारतमा समाजवादीहरूमा त्यसबखत जेपी बाहेक अरू प्राय: सबै बीपीभन्दा जुनियर थिए। ती सबैले समाजवादीका रूपमा बीपीलाई अग्रज मान्थे, नेता मान्थे। बीपीलाई कस्तो सम्मान दिन्थे, त्यसको एक प्रत्यक्षदर्शी पंक्तिकार स्वयं छ।

छ, बीपीले विजय गच्छदारहरूलाई लगाएर नेपालमा जनताको पैसा लुट्न लगाए भन्ने दावा गरेका छन् यी थापाले। तिनका कुन बाबुबाजेको वा भाइभतिजाको कहाँ कति पैसा लुटेको थियो, विवरण दिन सक्छन् ?

सात, हाइज्याक गरेको पैसा भारू ३६ लाख थियो भनेर सर्वत्र सार्वजनिक भएको छ, थापा उनका साथीहरूको हवाला दिंदै ३८ लाख थियो भन्छन्। बनावटी कुरा गर्दा कतै न कतै धोती खुस्किनु स्वाभाविकै हो।

आठ, हाइज्याक भएको पैसा लिएर बीपी सुवर्णजीकहाँ जानुभएको थियो र त्यहाँ ३४ लाख मात्रै थियो भन्ने थापाको दाबी छ। यो सरासर झुट हो। त्यसको व्यवस्थापन कसरी कहाँ भएको थियो, त्यसमध्ये एक लाख साठी हजार चक्रजीको कोठाबाट भारतीय पुलिसले कसरी बरामद गरेर घर धनी बीएल शर्मालाई समेत समातेर अररिया जेलमा राखेको थियो भन्ने कथा शर्मासँगै त्यही जेलमा रहेको पंक्तिकार जिउँदैछ।

नौ, यी निकृष्ट प्राणी थापा कतिसम्म भन्छन् भनें, बीपीहरूलाई सुन्दरीजलमा पिउनलाई ह्विस्की मात्रै होइन नेता पत्नीहरूलाई बासै बस्ने गरी पठाइन्थ्यो। धत्, कीरा पर्दैनन् तिनका मुखमा !

दश, यी दुर्मुखा थापा भन्छन् हाइज्याकिङ गरेर/गराएर उनीहरूले जीवनभर स्टिग्मा (कलंक) बोक्नु पर्‍यो। पछि प्रधानमन्त्री बन्दा सुशीला कार्कीलाई हाइज्याकरकी पत्नी भन्दा कति कलंक अनुभव गरिन् होला भन्छन्। सम्माननीय कार्कीले हाइज्याकरकी पत्नी भनिमाग्दा गर्वानुभव पो गरिन् कि, यी थापालाई के थाहा ? अत्यन्त ठूलो साहस र समर्पणका साथ गरिएको हाइज्याकिङ सन्दर्भको एक सानो हिस्साको कर्ता भएबापत मलाई त गर्व छ। बीपी जस्ता असल मानिसलाई भरेब लगाए बापत कलंक त गुलावशमशेर थापालाई लागेको छ। उनका सन्तान–दरसन्तानले पो कलंक खेप्नुपर्ने भएको छ। सार्वजनिकस्थलमा उभिएर मैले बकेका कुरा सही हुन् भनेर सप्रमाण भन्ने हिम्मत गर्छन् थापा ? म त उद्घोष गर्छु, हाइज्याक गर्नेहरूको नाम इतिहासमा स्वर्णाक्षरमा लेखिएको छ।

एघार, सुवर्णजीको निधनपछि बीपीले इन्दिरा गान्धीसँग भेट मिलाइदिन हामीलाई गुहारेका थिए भन्नेसम्मको दुस्साहस गरेका छन् थापाले। नेहरू परिवारसँग बीपीको कस्तो पारिवारिक सम्बन्ध थियो, इन्दिराले बीपीलाई कति सम्मान गर्थिन् भन्ने कुरा राणाहरूको हण्डी खाइहिंड्ने थापालाई के थाहा ?

भारत सरकारले पनि निर्वासित सरकार भनेर बीपीलाई मासिक एक लाख रुपैयाँ दिन्थ्यो भनेर पनि उनले आरोपित गरेका छन्। भारतले पैसा दिने कुरा यी ढँटुवा थापाले कसरी थाहा पाए ? कि इन्दिरा गान्धीले मलाई सुनाउँथिन् भनेर धुरी चढ्ने रहर गरेका हुन्।

बाह्र, भारतले बीपीलाई चौध दिनभित्र माफी नमागे हाइज्याकिङको अपराधमा समातेर कारबाही गर्छौं भनेको चाहिं कहाँ सुने थापाले ? भारतको कुन निकायको कुन मानिसले त्यसो भनेछ ? बरु त्यही समयतिर सो अभियोग लागेका सुशील कोइराला, चक्र बाँस्तोलाहरूलाई भारतीय जेलबाट रिहा गरिएको थियो।

तेह्र, बीपी अमेरिकाबाट उपचार गरी फर्केर भारत आएपछि कलकत्ता गएर रुग्ण अवस्थामा रहेका सुवर्णजीसँग भेट गर्नुभएको थियो। त्यसै भेटमा यो नेपाली जनताको नासो (नेपाली कांग्रेसको कार्यवाहक सभापति पद) तपाईंमा सुम्पन्छु भनेर बीपीलाई जिम्मा लगाएपछि पटनामा आएर बीपीले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति र गिरिजाबाबु र परशुनारायण चौधरीलाई महामन्त्री बनाउनुभएको हो। पञ्चायत विरुद्धको आन्दोलन शान्तिपूर्ण रूपले गर्ने कि हतियार उठाउने भन्नेमा बीपी र सुवर्णजीमा व्यावहारिक मतभेद थियो। तर यी दुई नेतामा कटुता थिएन।

चौध, सुवर्णजीले बीपीलाई मासिक दुई लाख पैसा पठाउनुहुन्थ्यो भन्ने पनि दावी छ थापाको। होला, सुवर्णजीले यी थापा जस्तालाई त हण्डी दिएर पालेको थियो भने बीपीलाई अवश्य सहयोग गर्नुहुन्थ्यो होला तर त्यो कुरा सुवर्णजीको एकाउन्टेन्टभन्दा तेस्रो मानिसलाई पनि थाहा हुन्थ्यो भन्ने कुरा म मान्दिनँ। सुवर्णजीको साथसहयोग नभएको भए बीपीले सात सालको क्रान्ति गर्न समेत अरू धेरै समय कुर्नुपर्थ्यो भनेर सहज भन्न सकिन्छ। साथै भारत सरकारले पनि निर्वासित सरकार भनेर बीपीलाई मासिक एक लाख रुपैयाँ दिन्थ्यो भनेर पनि उनले आरोपित गरेका छन्। भारतले पैसा दिने कुरा यी ढँटुवा थापाले कसरी थाहा पाए ? कि इन्दिरा गान्धीले मलाई सुनाउँथिन् भनेर धुरी चढ्ने रहर गरेका हुन्।

पन्ध्र, यी थापा जस्ताले सुवर्णजीलाई कसरी लुटेका थिए भन्ने कुरा धेरै कांग्रेसजनलाई थाहा छ। सुवर्णजीको नेतृत्वमा त्यता बस्नेलाई खानेबस्ने, नानीहरू पढाउने, उपचार गर्ने आदि खर्च सबै सुवर्णजीले व्यहोर्नुहुन्थ्यो। परिवारजनको मृत्युमा काजकिरिया गर्ने खर्च समेत दिनुहुन्थ्यो। एकपटक कसैले आफ्नो बाबुको मृत्यु (नेपालमा) भएको भनेर किरिया खर्च माग्दा सुवर्णजीले मुस्कुराउँदै साथीहरू बीच भन्नुभएको थियो रे- यिनका बाबु कति वटा रहेछन् ? भएको के रहेछ भने त्यसअघि नै बाबु मरेकाले काजकिरिया गर्न भनेर दुई पटक पैसा लिइसकेका रहेछन्। सुवर्णजीलाई यति सानो कुरा थाहा हुँदैन भनेर त्यसो गर्न पल्केकाको कथा निर्वासनमा रहेका अधिकांश कांग्रेसजनले सुनेको छ।

अन्त्यमा, आफूले पनि पत्रकारिताको कखरा चिनेका कारण यति चाहिं भन्छु, सार्वजनिक सञ्चारमाध्यममा यस्ता मानिससँगको अन्तर्वार्तामा तिनले जे भने त्यसलाई पुष्टि गर्न नलगाई वा प्रतिप्रश्न समेत नगरी तिनको मिथ्या विवरण प्रसारण गर्नाले गलत सूचना प्रसारित हुन्छ र सञ्चार जगत नै विवादित बन्न सक्छ। अन्तर्वार्ताकारले सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गरेर सत्यतथ्य पर्गेल्न आवश्यक हुन्छ।

लेखक
धर्म गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?