News Summary
Generated by OK AI. Editorially reviewed.- प्रलोपाका अनुसार लोकतान्त्रिक समाजवाद र वाम–समाजवादी दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर व्यवहारमा रूपान्तरण गर्नु आजको पुस्ताको मुख्य दायित्व हो ।
- पार्टीले लोकतन्त्रका चुनौतीहरू सामना गर्दै राष्ट्र निर्माणको संकल्प गर्न सबै राजनीतिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ ।
- बीपी र पुष्पलालका स्मृति दिवसलाई केवल औपचारिक श्रद्धाञ्जली दिने अवसरका रूपमा नभई आत्मसमीक्षा, इतिहासबाट शिक्षा लिने र राष्ट्र निर्माणप्रतिको नयाँ संकल्प गर्ने अवसरका रूपमा लिनुपर्ने पार्टीको धारणा छ ।
६ साउन, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको वैचारिक विरासतलाई समकालीन आवश्यकतासँग जोडेर नयाँ राजनीतिक बहस अघि बढाउनुपर्ने जनाएको छ ।
बीपी र पुष्पलाल फरक राजनीतिक धाराका प्रतिनिधि भए पनि नेपालको लोकतान्त्रिक रूपान्तरण, जनअधिकारको विस्तार र राष्ट्रिय हितको संरक्षणमा दुवैको योगदान समान रूपमा प्रेरणादायी रहेको भन्दै प्रलोपाले उनीहरुको वैचारिक संश्लेषण आवश्यक रहेकोमा जोड दिएको हो ।
प्रलोपाका केन्द्रीय प्रचार विभाग प्रमुख रजमान तामाङले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘बीपीको लोकतान्त्रिक समाजवाद र पुष्पलालको वाम/समाजवादी दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस अघि बढाउनु समयको आवश्यकता भएको छ । विचारलाई केवल स्मरण गर्ने होइन, व्यवहारमा रूपान्तरण गर्ने दायित्व आजको पुस्तामाथि छ ।’
बीपीले राजनीतिक स्वतन्त्रता, नागरिक अधिकार र प्रजातान्त्रिक समाजवादको दृष्टि अघि सारेको तथा पुष्पलालले वर्गीय शोषणविरुद्ध संघर्ष, राष्ट्रिय स्वाधीनता र वाम–समाजवादी रूपान्तरणको वैचारिक आधार निर्माण गरेको विज्ञप्तिमा उल्लेख छ ।
लोकतन्त्र र समाजवादलाई परस्पर विरोधी नभई परस्पर पूरक मूल्यका रूपमा हेर्ने प्रलोपाले राजनीतिक स्वतन्त्रतासँगै आर्थिक न्याय, सामाजिक समानता, सहभागितामूलक लोकतन्त्र, विधिको शासन, पारदर्शिता र उत्पादनमा आधारित अर्थतन्त्र नेपालको समृद्धिको आधार हुने विश्वास व्यक्त गरेको छ ।
प्रलोपाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि लोकतन्त्रको गुणस्तर, सुशासन, उत्पादनमुखी अर्थतन्त्र, युवाको भविष्य, सामाजिक न्याय र राष्ट्रिय आत्मनिर्भरताका क्षेत्रमा अझै गम्भीर चुनौती रहेको जनाएको छ । यस्तो अवस्थामा बीपीको लोकतान्त्रिक समाजवाद र पुष्पलालको वाम–समाजवादी दृष्टिकोणलाई वर्तमान यथार्थसँग जोडेर नयाँ वैचारिक संश्लेषण आवश्यक रहेको पार्टीको भनाइ छ ।
स्मृति दिवसलाई केवल औपचारिक श्रद्धाञ्जली दिने अवसरका रूपमा नभई आत्मसमीक्षा, इतिहासबाट शिक्षा लिने र राष्ट्र निर्माणप्रतिको नयाँ संकल्प गर्ने अवसरका रूपमा लिनुपर्ने पार्टीको धारणा छ । साथै, राजनीतिक दलहरूबीच विचारको स्वस्थ प्रतिस्पर्धा, राष्ट्रिय हितमा सहकार्य र जनताप्रति उत्तरदायी राजनीतिक संस्कृतिको विकास आजको आवश्यकता रहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।
प्रलोपाले लोकतन्त्रवादी, वामपन्थी, समाजवादी, प्रगतिशील तथा देशभक्त नेपालीलाई बीपी कोइराला र पुष्पलालका आदर्श, त्याग, नैतिकता र दूरदर्शी चिन्तनबाट प्रेरणा लिएर समृद्ध, न्यायपूर्ण, आत्मनिर्भर र लोकतान्त्रिक नेपालको निर्माणमा एकजुट हुन आह्वान गरेको छ ।

प्रतिक्रिया 4