+
+
Shares

कृषि र उद्योगमन्त्रीबीच कृषि उपज आयात निरुत्साहनदेखि चिया प्रवर्द्धनसम्म छलफल

कृषि मन्त्रालयमा भएको भेटवार्तामा दुई मन्त्रीबीच कृषि उत्पादनलाई उद्योग र बजारसँग जोड्ने विविध रणनीतिक विषयमा छलफल भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीबीच अन्तरमन्त्रालय समन्वय र कृषि उत्पादनलाई उद्योग तथा बजारसँग जोड्ने विषयमा छलफल भएको छ।
  • दुवै मन्त्रीले कृषि उपजको न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन र स्वदेशी केरा, गोलभेँडा तथा आलुको आयात निरुत्साहित गर्न समन्वयात्मक रूपमा अघि बढ्ने सहमति गरेका छन्।
  • नेपाली चियाको भण्डारण र बजारीकरणका लागि झापाका गोदाम उपयोग गर्ने तथा अन्तर्राष्ट्रिय स्तरमा चिया प्रवर्द्धन गर्ने लगायतका रणनीतिक विषयमा मन्त्रीहरूबीच छलफल भएको मन्त्रालयले जनाएको छ।

६ साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीबीच अन्तरमन्त्रालय समन्वय प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

कृषि मन्त्रालयमा भएको भेटवार्तामा दुई मन्त्रीबीच कृषि उत्पादनलाई उद्योग र बजारसँग जोड्ने विविध रणनीतिक विषयमा छलफल भएको हो ।

भेटका क्रममा अन्नबालीको न्यूनतम समर्थन मूल्य तोकिसकेपछि त्यसको प्रभावकारी कार्यान्वयन र बजार अनुगमन गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

कृषिमन्त्री चौधरीले कृषि उत्पादनलाई उद्योगसँग प्रत्यक्ष रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याइन् । साथै, नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) बीच भएको पारस्परिक मान्यता सम्झौतालाई नेपाली चियामा पनि लागु गर्न नेपाल–भारत व्यापार तथा पारवहन अन्तरसरकारी समिति मार्फत पहल गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

नेपाली चिया भण्डारण, प्रवर्द्धन र बजारीकरणलाई भेटमा विशेष प्राथमिकता दिइएको थियो । जसअन्तर्गत झापा र आसपास क्षेत्रमा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका गोदामलाई चिया भण्डारणका लागि प्रयोगमा ल्याउने, महावाणिज्य दूतावास मार्फत अन्तर्राष्ट्रिय स्तरमा चिया प्रवर्द्धन गर्ने र चिया ‘अक्सन’ (लिलामी बजार) मा उत्पादक तथा विदेशी खरिदकर्ता आकर्षित गर्न आवश्यक नीतिगत र वित्तीय सुविधा उपलब्ध गराउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री चौधरीले कृषि बजारमा देखिएको कालोबजारी नियन्त्रण गर्न र किसानले उचित मूल्य नपाएको गुनासो सम्बोधन गर्न थोक तथा अन्य बजारमा तत्काल अनुगमन बढाउनुपर्ने प्रस्ताव राखिन् ।

स्वदेशी उत्पादनलाई बढावा दिन केरा, गोलभेँडा, आलुजस्ता कृषि उपज आयात निरुत्साहित गर्न दुवै मन्त्रालयले समन्वय गरेर अघि बढ्ने भएका छन् ।

यस अतिरिक्त विश्व व्यापार संगठन अन्तर्गतका कृषि सम्झौता, व्यापार सहजीकरण, प्राविधिक क्षमता अभिवृद्धि र नीतिगत सुधारका विषयमा पनि दुई मन्त्रीबीच छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?